विकासका नाममा राजनीति नगरौँ: मन्त्री गुरुङ

 कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताएका छन्। निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सके मात्रै विकासले गति लिने उनले बताए।

स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले शनिवार वालिङमा आयोजना गरेको ‘पालिकाको वर्तमान अवस्था र भावी गन्तव्य’ विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरुङले भने– ‘विकासमा सबैको अपनत्व भयो भने त्यो दिगो र प्रभावकारी हुन्छ।’

कहिलेकाहीँ विकासका नाममा राजनीति गर्ने र राजनीतिकै कारण विकास ठप्प हुने गरेका उदाहरण प्रशस्तै देखिने गरेको उनको भनाइ थियो।

सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुरूप काम गर्न प्रतिबद्ध रहेको मन्त्री गुरुङले बताए।

कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले समाज रूपान्तरण गर्ने दायित्वका साथ निरन्तर लागिरहेको बताए। गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले दलगत स्वार्थभन्दा माथि उठेर विकास निर्माणमा सहभागी हुनुपर्ने बताए।

नगरप्रमुख कृष्ण खाणले वालिङको विकासका लागि नगरपालिकाले मात्रै नभई यहाँका नागरिकसँग भएका अमूल्य अनुभव, सल्लाह सुझावलाई ग्रहण गरी आगामी दिनमा योजना बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

प्रकाशित मिति: : 2023-09-10 07:12:00

प्रतिकृया दिनुहोस्