'विदेशी पाहुना'लाई भारतीय राष्ट्रपतिको शाकाहारी रात्रिभोज: कोदोकाे हलुवा​​, दार्जीलिङकाे चिया

बिएल संवाददाता

नयाँदिल्ली

भारतको नयाँदिल्लीमा जारी ऐतिहासिक जी–२० शिखर सम्मेलन आइतबार समाप्त हुँदैछ। उत्साहपूर्वक चलिरहेकाे सम्मेलनको पहिलो दिनमै संयुक्त घोषणापत्रमा सहमति भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे सचिवालयले जनाएकाे छ।

राष्ट्रपति द्रौपदी मुर्मूले शनिबार जी–२० शिखर सम्मेलनकाे सन्दर्भ पारेर विदेशी पाहुनाहरूको सम्मानमा रात्रिभोजको आयोजना गरेकी छन्। आयाेजित रात्रिभाेजकाे मेनुमा सबै शाकाहारी व्यञ्जनहरू समावेश गरिएकाे थियाे।

शाकाहारी रात्रिभोज भारतको परम्परा, रीतिरिवाज र विविधतालाई ध्यानमा राखेर आयाेजन गरिएकाे अधिकारीहरूले जनाएका छन्।

रात्रिभोजकाे मेनुमा 'वसुधैव कुटुम्बकम्' एक पृथ्वी, एक परिवार, एक भविष्यको भावनालाई समर्पित गरिएकाे छ।

मेनुमा कश्मीरी कहवा, दार्जीलिङकाे चिया, भारतीय रोटी– मुम्बई पाव, अलैंची सुगन्धित कोदोबाट बनेको हलुवा, अन्जीर–पीच मुरब्बा र चकलेट पानगायत प्रसिद्ध भारतीय परिकारहरू विदेशी पाहुनाहरूले खाएका छन्।

रात्रिभोजका लागि भरत मण्डप पुगेका विदेशी पाहुनाहरूलाई नालन्दा विश्वविद्यालयको अघिपट्टी स्वागत गरिएको थियो। भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षतालाई नालन्दा विश्वविद्यालयको इतिहासबारे जानकारी गराएका थिए।

रात्रिभोजमा भारतका विभिन्न राज्यका राज्य–प्रमुख, प्रतिनिधि, मुख्यमन्त्री, केन्द्रीय र राज्यमन्त्रीलगायत करिब तीन सय व्यक्ति सहभागी थिए। शाकाहारी रात्रिभोजमा उपराष्ट्रपति जगदीप धनखर र उनकी पत्नी सुदेश धनखर पनि सहभागी थिइन्।

पूर्वराष्ट्रपति रामनाथ कोविन्द र पूर्वउपराष्ट्रपति एम वेंकैया नायडू बाहेक मोदी क्याबिनेटका सबै मन्त्रीहरूलाई पनि आमन्त्रित गरिएको थियो। जसमा राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, निर्मला सीतारमण, नरेन्द्र सिंह तोमर, एस जयशंकर, अर्जुन मुन्डा, स्मृति इरानी, ​​पियुष गोयल, धर्मेन्द्र प्रधान र प्रल्हाद जोशी थिए।

प्रकाशित मिति: : 2023-09-10 06:37:00

प्रतिकृया दिनुहोस्