त्यहाँ त मैले केवल पसिना र रगत सोस्ने तातो बालुवाबाहेक केही पनि देखिनँ।
मन खाली छ, एकदम शून्य छ। शून्य मन बोकेर म विमानस्थल नियालिरहेको थिएँ। ती बडेमानका जहाजहरु उड्दै छन्, अवतरण हुँदैछन् तर मलाई यसको कुनै मतलब थिएन। म त भावशून्य थिएँ, खोक्रो थिएँ अनि रित्तो थिएँ। किनकि, केही घन्टापछि म नेपाल छोडेर वैदेशिक रोजगारका लागि अर्काको देशमा जाँदैछु। झोलामा यसो छामें, एग्रिमेन्ट पेपर र पासपोर्ट ठिकै ठाउँमा थियो। आमाले तीन दिनअघि पोलेर हालिदिएको रोटी कक्रिसकेछ। घर सम्झें, मेरी श्रीमती अनि सानो छोरो, विरक्त लागेर आयो, खाना खाए कि खाएनन् तिनीहरुले। यसो पछाडि हेरें, निकै पर गेटमा साथीहरुलाई उनीहरुका आफन्तहरुले बिदाइको टीका लगाइदिँदै थिए। भन्दै थिए, ‘त्यहाँ पुगेर फोन गरिहाल्नू है, आफ्नाे ख्याल गर्नू।’ साथीहरु मतिरै आए, पर...उनीहरुका बूढा बाहरु हामीतिरै एकोहोरो हेरिरहेका थिए, अरु दुई/तीन जना आइमाई मान्छेहरु उतापट्टि फर्केर पछ्यौरीले आँस पुछ्दै सुक्सुकाइरहेका थिए। तर, मेरो मन भने कति शून्य, साह्रै शून्य, साह्रै निर्जीव !
साँझ अबेर मात्र हामीलाई बोकेको जहाज उड्यो। माथि-माथि उड्यो त्यो, शून्य आकाशमा अकासिँदै अकासिँदै उडिरह्यो। मन पनि उडिरह्यो तर त्यतै कतै मेरो आफ्नाे घरको साँघुरो छानो वरपर अनि त्यही गोठगल्लीतिर। यसो हेरें, डेढ/दुई सय मान्छे अटेको त्यो विमानमा हामी सबैभन्दा पछाडि थियौं। सँगैका साथीहरुको अनुहार पढें, कति निरीहपन, कति शून्यपन त्यहाँ। उनीहरुको मतिरको निरीह पुलुक्क हेराइ कति टिठलाग्दो क्या !
साँझको ९ बजे हाम्रो जहाज अवतरण भयो। बाहिर निस्केर अर्को जहाज परिवर्तन गर्नुपर्ने रहेछ। सबै निस्किए, हामी पनि निस्कियौं। थाहा भयो, त्यो त मुम्बई रहेछ। विमानस्थलका परपर उभिएका घरहरु हेरें, तिनीहरु आफ्नै स्वाभिमान र अस्तित्वको गौरव झल्काउँदै उभिएका थिए। मलाई हेरें, म त साह्रै सूक्ष्म, मेरो लाजलाग्दो प्रस्तुति त्यहाँ, लुखुर लुखुर हिँडें, किनकि साउदी अरेबियाको तातो बालुवामा मेरो स्वाभिमान र अस्तित्वलाई पुर्नु थियो मैले।
कालो आकाशको करिब चार घन्टाको सुनसान यात्रापछि हामी फेरि अवतरित गरियौं। मेरो घडीमा नेपाली समयको रातको साढे चार बजेको थियो। तर, थाहा भयो, यहाँ अहिले रातिको दुई मात्र बज्दैछ। हामी सबै ओर्लियौं। सबै आ–आफ्नै इच्छामुताबिक आ–आफ्नै सुरमा एयरपोर्टबाहिर जाँदै थिए तर हामी हाम्रो १५ जनाको समूह भने एयरपोर्टभित्रैको प्रतीक्षालयमा जम्मा गरियौं। एयरपोर्टभित्रको त्यो चार घन्टाको लामो बसाइमा हामी हामीबीच त्यस्तो कुनै लामो कुरा नै भएन, केवल हामीमध्ये पहिले पनि यहाँ आइसकेका अमित दाइले भन्नभयाे कि यो साउदी अरेबियाको दमाम सहरको दमाम एयरपोर्ट हो। झिसमिसे उज्यालो हुँदै थियो, हामी गुरुम्म एकै ठाउँमा पोको परेर बसिरहेका थियौं। परबाट एउटा प्लेकार्ड बोकेको एउटा मान्छे हामीतिरै आयो। उसको प्लेकार्डमा हामीलाई बोलाउने कम्पनीको नाम लेखिएको रहेछ। हामीलाई लिन कम्पनीबाट मान्छे आइसकेछ। त्यो मान्छेले अंग्रेजी भाषामा हाम्रो पासपोर्ट र एग्रिमेन्ट पेपरहरु माग्यो। हामी सबैले आ–आफ्नाे कागजातहरु हतारहतार उसलाई दियौं अनि उसले ल्याएको गाडीमा कोच्चिएर बस्यौं।
हामी चढेको भेन बडो रफ्तारमा अगाडि बढ्न थाल्यो। ठूलाठूला फराकिला सुनसान सडकहरु, प्रायः साना खाले चिल्ला कारहरु अनि बन्द सहरजस्तै त्यो दमाम सहरका अग्लाअग्ला गगनचुम्बी घरहरुको फेदफेद हुँदै हामी हुइँकिरह्यौं। कति सुनसान ती सडक, कति सुनसान त्या सहर, मानाै भरखरै कुनै प्रलय आएर छाएको सन्नाटाजस्तो। सडकका छेउमा कतैकतै मुखै नदेखिने बाक्लो कपडा लगाएका मान्छेहरु सडक बढार्दै गरेका र अरु थोरैजना खै के-के गर्दै गरेको बाहेक मान्छेको कुनै चहलपहल देख्न नपाइने। मलाई त साह्रै उराठ लाग्यो पहिलो हेराइमै त्यो सहर।
हामी चढेको भेन सहरको बिट मार्ने छेउको ठूलो भवनभित्र पस्यो। उसले हामीलाई ओर्लने संकेत गर्यो। त्यहाँ उत्रेपछि मात्र अलि ढुक्कको सास फेरियो, किनकि त्यहाँ अरु दुई चार जना नेपाली अनुहारका दाजुभाइ वरपर गर्दै थिए। अलि पर ट्रेलरमा त्रिपाल टाँग्दै गरेको दाइ पनि नेपाली नै थिए। तर, उहाँको अनुहारमा हामी आउनुको खुसीको चमक आएन, बरु हाम्रो उहाँप्रतिको मुसुक्क हाँसोलाई कर्के नजरले फर्काइदिनुभयो, उहाँको भाग खोस्न आएजस्तो। त्यो प्लेकार्डवालाले हामीलाई त्यहाँ अर्कैलाई जिम्मा लगाइदियो। जिम्मा लिने व्यक्ति बोस रहेछ। उसले भनेअनुसार कम्पनीको मुख्य अफिस चाहिँ यहीँ रहेछ, यसका शाखाहरु साउदीकै जेद्दा, रियाद र अरु खै के-के ठाउँमा रहेछन्। हामीले चाहिँ जेद्दामा बसेर गाडी चलाउनुपर्ने भयो। गाडी पनि नेपालका जस्ता मात्र कहाँ हुन् र, बडो लामालामा गाडी, त्यही पो हाँक्नुपर्नेरहेछ हामीले। चामल, लत्ताकपडा, फलाम, केमिकलहरु साउदीभर ओसारपसार गर्नुपर्ने रहेछ।
हामी त्यहाँको बिहानको १० बजेतिर हाम्रो बस्नुपर्ने स्थान जेद्दा जान तयार भयौं तर हामी मध्येको म अनि अरु चार जना मात्र। बोसले हामीलाई गाडीमा चढायो। हामी चढेको त्यो ट्रेलर ड्राइभर नेपाली दाइ नै रहेछ, त्यहीँ अघिकै दाइ। ऊ कस्तो मान्छे होला, नेपाली नेपालीको त्यो बिरानो देशको भेटलाई पनि कुनै खुसीको प्रतिक्रिया जनाएन उसले। मलाई नरमाइलो, नमीठो लाग्यो। हाम्रो गाडीले दमाम छोड्यो। अब सुरु भयो मरुभूमिको यात्रा। क्षितिजसम्मको बालुवै बालुवाको धरातल। न त कतै कुनै घर छ, न त कतै कुनै बोटबिरुवा नै छ। केवल बालुवा अनि कहीँकतै एकान्त एकान्तमा एक्लो क्याक्टस मात्र। परपर बालुवाको धुलैधुलोले क्षितिज नै धमिलो देखिन्थ्यो। साह्रै उराठलाग्दो त्यो बगर। साँच्चै मलाई त लाग्यो, त्यो साउदी त बगरैबगरको देश पो रहेछ अनि हामीले यिनै तातो बालुवामा हाम्रो रगतपसिना बगाउनुपर्ने रहेछ। हामी फेरि अर्को सहरमा प्रवेश गर्यौं। मरुभूमिबीचको त्यो सहर साउदीकै राजधानी रियाद रहेछ। अब हामीलाई गर्मीको महसुस हुन थाल्यो। आगोको रापजस्तो त्यो तातो घाम अनि उस्तै तातो हावा। उफ् ! अब मलाई हरेस लाग्न थाल्यो, यस्तो तातो घाम, तातो बालुवा अनि यो तातो हावामा कसरी दुई वर्ष बिताउने होला। मलाई कताकता सास फेर्न असजिलो महसुस हुन थाल्यो।
हामी साँझमा मात्र हाम्रो सहर जेद्दा पुग्यौं। जेद्दा सहरको ती भीडभाड भवनहरुको च्यापमा हामी पस्यौं। अब हामी हाम्रो कम्पनीमा आइपुगेछौं। हाम्रो गाडी त्यो कम्पनी कम्पाउन्डभित्र पस्यो। हामी केहीबेर गाडीछेउमै निरीह भएर उभिइरह्यौं। त्यहाँ पनि अरु थुप्रै कामदारहरु रहेछन्, केही नेपाली दाजुभाइहरु पनि। हामीलाई बोसले त्यहीँको एक कामदारलाई जिम्मा दियो। ऊ नेपाली नै रहेछ। गजबको पक्डाइको हात मिलाउँदै उसले हामीलाई हाम्रो सुत्ने, बस्ने कोठातिर लग्यो। अब भने मेरो अलि सास आयो, अलि ढुक्क लाग्यो, किनकि ती दाइ त सहयोगी रहेछन् नि त। हामी हाम्रो कोठाभित्र पस्यौं। त्यो अँध्यारो कोठाभित्र अरु थुप्रै कामदार पनि बस्दारहेछन्। त्यो एउटा ठूलो हलजस्तै थियो। भित्तामा थुप्रै झोला झुन्ड्याइएको, अग्लो सिलिङ, हलको पल्लो कुनाको टेबलमा एउटा ठूलो टिभी, क्यासेट प्लेयर अनि भीसीआर राखेको, तल्लो भित्तामा दुई तीन वटा एसीहरु अनि भुइँमा लहरै बेडहरु ओछ्याइएको, अब हामी पनि त्यहीं सुत्नुपर्ने, बस्नुपर्ने। हाम्रा लागि ठूलाठूला स्पन्जहरु आए, अरु त्यत्रैत्यत्रै तन्ना पनि अनि ब्लाङ्केटहरु। त्यो नेपाली दाइले हाम्रा लागि थप चारवटा तकिया पनि मगाइदिनुभयो।
केही छिनपछि हाम्रा लागि खबुस आयो, हामीले चुपचाप त्यो खायौं र सुत्ने तर्जुमा गर्यौं। हाम्रो आफ्नाे झोला झुन्ड्याउने किला पनि थिएन भित्तामा, सिरानीमै राख्यौं। पुराना साथीहरु नेपालको खबर सोध्दै थिए, नयाँ साथीहरु खबर भन्दै थिए तर मलाई भने बोल्न मन लागेको थिएन। न त निद्रा नै लागेको थियो। मेरो सानो छोराको याद आयो, कताकता छाती भक्कानिएर आयो, डाँको छोडेर रोऊँ झैँ लाग्यो, खै किन हो किन, मोरो पनि अघि नै निदाइसक्यो होला, भर्खर दुई वर्षको त छ। झोलामा त उसको फोटो थियो नि तर फोटो निकालेर हेर्न पनि सङ्कोच लाग्यो। राति अबेरसम्म सुतिएन त्यो रात।
भोलिपल्टदेखि हाम्रो ड्युटी सुरु भयो तर कहाँ हो र ट्रेलर कुदाउनु, ती मरुभूमिको बालुवाले धुलै पारेका दसौं ट्रेलरहरु सफा गर्नुपर्ने, धुनुपर्ने। एक महिनापछि मात्रै हाम्रो ड्राइभिङ ट्रायल गर्ने अनि मात्र गाडी कुदाउनुपर्ने रहेछ। एक महिना त्यत्तिकै बित्यो, हाम्रो ट्रायल गरियो, अब भोलिदेखि हामीले पनि ट्रेलर कुदाउनुपर्ने भयो। बोसले हामीलाई साउदी अधिराज्यको ठूलो स्पष्ट नक्सा दियो अनि थुप्रैथुप्रै कम्पनी, अफिसहरुको लोकेसन, फोन नम्बरहरु लेखिएको एउटा-एउटा चार्टबोर्ड पनि दियो र भन्यो भोलि हामी रियादमा जानेछौं, त्यहाँ सामान लोड गरी दमाम पुर्याएर फेरि जेद्दा नै फर्कनेछौं, साथमा पुराना ड्राइभरहरु पनि जानेछन्।
हामी बिहानै आ–आफ्नाे ट्रेलरमा पस्यौं, ती दमामवाला नेपाली दाइ अगाडि लागे, हामी उसलाई पछ्याउदै आ–आफ्नाे ट्रेलर हुइँक्यायौं तर ती दाइले कुनै संकेत, कुनै प्रतीक्षाको समय नदिईकन आफ्नाे गाडी आफ्नै सुरमा लानुभयो, हाम्रो वास्ता नगरी। मलाई बाटो भुलेर हराइने डर भयो तर हामी जसोतसो रियाद पुग्यौं। सामान लोड गर्यौं अनि लाग्यौं दमामतिर। दमाममा सामान अनलोड गरी फर्केर हाम्रो कोठा पुग्दा २४ घन्टा लागेछ। यसरी हाम्रो ड्राइभर काम सुरु भयो त्यो साउदीमा। सुनसान देशको त्यो सुनसान काम हामी गर्दै गयौं, गर्दै गयौं। कति दिन र कति रात त्यो मरुभूमिमा एक्लाएक्लै गाडी कुदाउनुपथ्र्यो। गाडी कुदाउँदाका ती दिनहरुमा ती मरुभूमि, ती सहरहरुमा मैले मेरा थुप्रै नेपाली दाजुभाइको दयनीय स्थिति देखें। मनै नमान्ने गरी अस्तित्व अनि स्वाभिमान हत्याका घटनाहरु सुनें। यो हृदय, यो मस्तिष्क साह्रै विक्षिप्त भयो त्यहाँ रहँदा।
एक दिनको कुरा हो, म एक्लै सफर गर्दै थिएँ, सुनसान मरुभूमिको बीचमा। अचानक बाटोमा एक जना झ्यापुल्ले मान्छे हाम फालेर आयो। गाडी रोकें। ऊ मनजिकै आयो। लामालामा जुँगादाह्री, लामा लट्टा परेको केशमा बर्की ओडकाे अनि भद्दा लुगाहरु लगाएको त्यो मान्छेले मलाई एकछिन नियालेर हेर्यो र भन्यो, ‘दाइ तपाईं नेपाली हो ?’ ऊ त नेपाली पो रहेछ। उसले भन्दा थाहा भयो ऊ यहाँ ऊँट चराउँदो रहेछ। ऊँट चराउन साहूको घरदेखि बाहिर महिनौँसम्म मरुभूमिमै बस्नुपर्दो रहेछ। ती ऊँटहरुलाई महिनौंसम्म चराउँदै हिँड्नुपर्ने अनि बेलाबेलामा साहूका मान्छेहरुले गाडीमा खबुस र पानी ल्याइदिने। न त नुहाइधुहाइ गर्न पाइने, न त राम्रो खान नै। न त घरमा चिठी लेखीपठाउन पाइने, न त फोन गर्न पाइने। न त नेपालदेखि चिठी नै आउने, साह्रै बिजोग रहेछ त्यो दाइको। उसले मलाई नेपाल पठाइदिनू भनी एउटा पत्र दियो, जुन पत्र पढेर म त्यो रातभर रोएको थिएँ। बाटोमा नेपाली दाजुभाइ कहीँ बाटो खन्दै गरेका भेटिन्थे, कहीँ बाटो सफा गर्दै गरेका भेटिन्थे। सुन्थें, त्यहाँ नेपाली चेलीबेटीको साह्रै बिजोग हुन्छ अरे।
सामान अनलोड गर्न एक रात कुर्नुपरेकाले म एक दिन ताइफमा बस्नुपर्यो। त्यहाँ बस्ने एक जना साथीलाई फोन गरी उसको कोठामा गएँ। ऊसँग अरु थुप्रै साथीहरु पनि बस्दारहेछन्। तर सबै निराश थिए, पुरै कोठा सुनसान थियो, सबैजना भुइँंतिर हेरेर शिर निहुराइरहेका थिए। साँझमा सुत्ने बेलामा थाहा भयो त्यो छेउमा हामीसँग सुत्ने दाइ अर्कै कम्पनीदेखि भागेर आउनुभएको रहेछ। उहाँ पनि ड्राइभर भिसामा यहाँ आएको तर ट्रयाक्टर चलाउनुपर्ने। खै के गर्दा हो ट्रयाक्टरमा एक दिन त आगलागी भएछ। अनि ऊ त्यहींँबाट ज्यान जोगाउन भागेर यहाँ आइपुगेको पनि १५ दिन बितिसकेछ। त्यो देशको कानुनअनुसार ऊ काटिने थियो। उसले आफ्नी श्रीमतीसँग आज मात्रै कुरा गरेछ फोनमा, श्रीमती धेरै रोइन् अरे। साथीहरुसँग चन्दा उठाएर उसले बाआमालाई केही कपडा, सानी छोरीलाई एउटा खेलैना पुतली अनि श्रीमतीले पहिलेदेखि नै भन्दै गरेकी उसले मन पराउने अरबी सारी किनिदिएछ अनि घरमा बिदाइको पत्र पनि लेखेर साथीहरुलाई घर पठाइदिनू भनी ती सबै जिम्मा दिएछ। ऊ राति धेरै बेरसम्म उसकी सोझी श्रीमती, बूढा बाआमा र सानी छोरीलाई सम्झेर रोइरह्यो, उसकी श्रीमती पनि मर्ने रे, बिचरी ती सानी छोरीको के हालत हुन्छ होला। ऊ भोलि बिहानै उसको साहूकोमा जाने रे, कति दिन भाग्नु, एक दिन त मारिनैपर्ने, त्यसैले भोलि बिहानै ऊ जाने रे। म बिहान उठ्दा त ऊ अघि नै गइसकेको थियो।
त्यसो त मेरो कमाइ पनि राम्रै थियो। घरमा फोन, पत्र पनि चलिरहन्थ्यो। एक दिन अचानक आमाले फोन गर्नुभयो कि मेरी श्रीमती त अर्कैसँग पोइल पो गइछिन्। एकिछन त मजाले हाँसे, पत्याउनै सकिन। तर, साँच्चै नै रहेछ। सारा संसार नै अँध्यारो भयो, मस्तिष्क तिलीबिली भयो। होइन, के भएको यस्तो ! बेलुका साथीहरुसँग यो कुरा गरें अनि उनीहरुसँग मिलेर रोएँ अनि मातें अनि हाँसें अनि नाचें अनि फेरि रोएँ धेरै धेरै। फोनमा मेरो छोरो पनि बोलेको थियो, ‘बाबा ! तपाईं चाँडै घर आउनू न ल।’
त्यसपछिका दिनहरु मेरा बडो नरमाइला भए। बडो सुनसान लाग्न थाल्यो जिन्दगी, मन खङ्ग्रङ्ग भयो। खै केके सोचिरहन्थें, मन कताकता पुग्थ्यो गाडी कुदाउँदाको त्यस्तो वेगमा पनि। अनि त मेरो एक्सिडेन्ट भएको। मेरो गाडी अगाडि अर्को ट्रेलरसँग ठाक्किदा ब्रेक दबाएको मात्र थाहा छ, पछि होसमा आउँदा म हस्पिटलको बेडमा थिएँ। मेरो दुवै खुट्टा किच्चिएछन्, नराम्ररी भाँच्चिएछन्। म त्यहाँ दुईमहिना बेडमा बस्नुपर्यो। बेलाबेलामा हाम्रो बोस आउँथ्यो अनि डाक्टरसँग कुराकानी गरेर जान्थ्यो। मेरो खुट्टाको चोट पनि केही बिसेक हुन थाल्यो। डाक्टरले अब मेरो डिस्चार्ज गरिदियो। म मुस्किलले हिँड्न सक्ने भएँ तर अझै पनि मेरो दाहिने खुट्टामा कताकता चसकचसक दुख्ने गथ्र्यो।
मैले भोलिदेखि नै गाडी कुदाउनुपर्ने भयो तर खुट्टा अझै पनि राम्ररी निको भएकै थिएन। अब, त्यो उनीहरुको देश, त्यो उनीहरुको कानुन, हामी त केवल कामदार न हौं, मेसिन जस्तो, काम लागुन्जेल चलाउने अनि थोत्रो भएपछि मिल्काइदिने, फ्याँकिदने। केही दिनपछि मेरो दाहिने खुट्टा फेरि सुन्निन थाल्या, अचाक्ली देख्न थाल्यो। फेरि पनि म हस्पिटल भर्ना भएँ। पछि म होसमा आउँदा त मेरो दाहिने खुट्टा काटिएको पो पाएँ। छेउमा बोस र डाक्टर उभिरहेका थिए। थाहा भयो, मेरो दाहिने खुट्टामा कामै नलाग्ने गरी चोट पुगेकाले काट्नु परेको थियो।
म फेरि दुई महिना बेडमा बसेर डिस्चार्ज भएँ, म अब अपाङ्ग बनिसकेको थिएँ, मैले मेरो एउटा खुट्टा गुमाइसकेको थिएँ। म मेरो कोठामा आएपछि मात्र थाहा भयो, भोलि बिहानै नेपालका लागि मेरो फ्लाइट रहेछ। म फेरि खोक्रो मन, खोक्रो जीवन बोकेर नेपालका लागि उड्ने विमानमा बसें। विमान उड्यो, झ्यालदेखि त्यो साउदी अरेबियाको मरुभूममा चिहाएँ, कतै त्यहाँ नेपालीहरुको रगत र पसिनाले लालीगुराँस र सुनाखरी फुलेको छ कि भनेर। तर, त्यहाँ त मैले केवल पसिना र रगत सोस्ने तातो बालुवाबाहेक केही पनि देखिनँ।
१७ वैशाख २०६२
उर्लाबारी