बहुजातीय, बहुभाषिक देश नेपालमा सबै जातजाति, धर्मावलम्बीका आ–आफ्नै रीतिरिवाज छन्। संस्कार, संस्कृति छन्।
विभिन्न धर्मावलम्बीहरुको आफ्नै चाडपर्वहरू छन्। मान्यताहरु छन्। ती परापूर्वकालदेखिकै हुन्।
अब जनैपूर्णिमा पनि नजिकिएको छ। यहाँ विशेष गरेर जनैपूर्णिमा र तामाङ समुदायको सम्बन्धका बारेमा देखाउन खोजिएको छ।
तामाङ समुदायमा जनैपूर्णिमालाई ‘गोनेङह्या’ पर्वका रुपमा मनाइन्छ। यो पर्व तामाङ समुदायको मृत्यु संस्कारसँग जोडिएको छ।
गोनेङह्याको दिन झाँक्री (बोम्बो)हरू जाग्छन्। ढ्याङ्ग्रो बजाउँदै गोनेङह्याको दिन झाँक्रीहरु मान्छेको चिहानमा पुग्छन्। कोही कुण्ड, पोखरीतिर नाच्दै हिँड्छन्।
झाँक्रीहरु किन चिहानमा पुग्छन्?
खासगरी भर्खर झाँक्री बन्दै गरेकाहरु ज्ञान आर्जनका लागि चिहानमा पुग्छन्। अर्थात् यसलाई गुफा बस्ने पनि भनिन्छ।
हिन्दु परम्पराअनुसार गोनेङह्या अर्थात जनैपूर्णिमाका दिन जनै फेर्ने तथा रक्षा बन्धनका रुपमा मनाइन्छ। तर, तामाङ समुदायमा यसरी मनाइँदैन।
गोनेङह्याका दिन झाँक्रीहरु जाग्ने मात्र गर्छन्। गुरुले आफ्ना चेलाहरूलाई आध्यात्मिक ज्ञान दिन गुफा बसाउन लैजान्छन्। चिहानमा बोम्बो एक वा तीन दिनसम्म गुफा बस्छन्।
गोनेङह्या पर्वलाई वर्षभरिको पवित्र दिन ठानेर तामाङ समुदाय यस दिन रमाउँछन्। निम्न वर्गका परिवार पनि ऋण काढेरै भएपनि यो पर्व मनाउँछन्।
यस पर्वका दिन महिला, पुरुष, युवायुवती बोम्बो (झाँक्री) भएको ठाउँमा सगुन लिएर पुग्छन्। बोम्बोहरूकै भाषाबाट गीत गाउँछन्। तान्त्रिक विधि अपनाएर पूजा गर्दै चिहानमा नाच्ने गर्छन्।
बोम्बोसँग गाउने गीत अलि बेग्लै खालको हुन्छ। जुन अरू शुभ साइतमा गाएजस्तो हुँदैन। हरेक गीतसँग सेसेबोम्बो वा सोसो बोम्बो जोडेर गाउनुपर्छ।
गोसाइँकुण्ड र तामाङ समुदाय
गोसाइँकुण्ड रसुवा जिल्लामा पर्छ। गोसाइँकुण्ड र तामाङ संस्कृतिको सम्बन्ध प्राचीनकालदेखि रहेको जानकार बताउँछन्।
बौद्ध र बोन संस्कृति मान्ने तामाङ समुदायले गोसाइँकुण्डलाई पवित्र तीर्थको रूपमा लिने गर्छन्। हरेक वर्षको गोनेङह्या (जनैपूर्णिमा)का दिन गोसाइँकुण्डमा बोम्बोसहित गीत गाउँदै नाचेर पूजा गर्छन्।
गोनेङह्या पर्वको आकर्षण भनेकै झाँक्री यात्रा हो। सोसियो कल्चरल रिसर्च सेन्टरका अध्यक्ष खोजराज गोलेका अनुसार अहिले गोसाइँकुण्डमा पहिलेको जस्तो गोनेङह्या पर्व मनाएको पाइँदैन।
‘गोसाइँकुण्डको छेउमा पहिले घण्टौँसम्म बोम्बो नाच्ने ठाउँहरूमा अहिले तामाङ संस्कृतिलाई मिचेर हेलिप्याड तथा अनेकौँ बजारहरु राखेको छ। बोम्बोहरू बस्ने ठाउँमा बाबाहरू बस्दै आउने पुरानो रीतिरिवाजलाई भुलेर पछिल्लो समयमा दुरुपयोग गर्दै तामाङ संस्कृतिलाई भुल्दै गएको छ,’ उनले भने।
...अनि डराए गोसाइँकुण्डमा जना ‘गोले’
‘गोले’ तामाङ जातिभित्रको एक समुदाय हो। गोसाइँकुण्डसँग जोडिएको एउटा त्यस्तै किंवदन्ती छ यो समुदायसँग।
परापूर्वकालमा गोले तामाङ झाँक्री पत्नीसहित ढ्याङ्ग्रो बजाउँदै गोसाइँकुण्ड यात्रामा निस्किन्थे।
बाटैमा पर्ने भैरव कुण्डमा नागहरूको राज थियो, जसले अति दुःख दिन्थे। गोले झाँक्रीले नागहरूसित तान्त्रिक युद्ध लड्ने निधो गरे। कुण्डकै छेउमा पत्नीलाई ढ्याङ्ग्रो बजाउन लागाएर उनी गुफाभित्र पसे।
उनी नागसँग लडे र युद्ध पनि जितेर बाहिर आए। तर बाहिर आएका उनको शरीरमा अक्षता छर्किनुपर्थ्यो। उनले पत्नीलाई म फर्किएपछि अक्षता छर्किनु भनेका थिए।
तर, नागहरूलाई काँधमा राखेर बाहिर निस्कँदा पत्नी डराएर भागिछन्। शरीरमा अक्षता नपरेपछि गोले झाँक्रीको शक्ति कमजोर भयो र उनलाई नागले खायो।
एकै छिनमा पोखरी रक्ताम्य भयो। त्यहीँबाट गोले झाँक्रीहरू गोसाइँकुण्ड नगएको बताउँछन्, सोसियो कलचरल रिसर्च सेन्टरका अध्यक्ष खोजराज गोले।
कैयौँ वर्षसम्म गोलेहरू गोसाइँकुण्ड दर्शनसम्म गर्न नगएको अहिले पनि मान्यताहरू छन्। यस कुण्डमा जनैपूणिर्माका दिन बृहत मेला लाग्ने गर्छ।
यस वर्ष यही भदाै १४ गतेका दिन जनैपूर्णिमाको अवसरमा मेला लाग्दैछ।
पहिले गोले समुदायका कोही पनि गोसाइँकुण्ड जाँदैनथे। तर अहिले बोम्बो (झाँक्री)हरू मात्र गोसाइँकुण्डमा नजाने गरको खोजराज बताउँछन्।
उनका अनुसार गोलेकै स्वाँगेभाइ (सहगोत्री) बल, तितुङ, दोङ, बज्यु, गाङदान, स्योङदान, गोङबा, डिम्दुङलगायतका थर भएका तामाङ झाँक्रीहरूको पहिरनमा जुन शीरमा मयूर कल्की, छातीमा घण्टमाला लगाएर मात्रै गोसाइँकुण्डमा जान नमिल्ने हो।
अरू गोलेहरू गोसाइँकुण्डमा जान मिल्ने खोजराज बताउँछन्। ‘गोले भन्ने बित्तिकै गोसाइँकुण्डामा जान नमिल्ने भन्ने कुरा हामी धेरैको मुखबाट सुन्छौँ तर यो अन्धविश्वास हो,’ उनले भने, ‘झाँक्रीहरु मात्र जान नमिल्ने हो, अरु त जान मिल्छ। पूजा गर्न मिल्छ।’