समाचार प्रभाव: सिंजासहित जुम्लाका तीन गाउँपालिकामा फेरिए प्रमुख प्रशासकीय अधिकृत

बिएल नेपाली सेवामा साउन २३ गते प्रकाशित ‘सिंजामा दाइ अध्यक्ष, भाइ प्रमुख प्रशासकीय अधिकृत: वरिष्ठ भएर कि नियतले ?’ शीर्षकमा छापिएको समाचारकाे प्रभाव स्वरुप जुम्लाकाे सिंजा गाउँपालिकासहित तीन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका साइला भाइ मित्रलाल धिताल प्रमुख प्रशासकीय अधिकृत थिए। गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्था भएपनि अध्यक्ष धितालले नियम मिचेर पशु शाखाका छैटौं अधिकृत आफ्ना भाइलाई जिम्मेवारी दिएका थिए।

स्थानीय तहमा निमित्त कार्यकारी अधिकृत ताेक्ने सवालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८० असार २४ गते सचिवस्तरीय निर्णय गरेर सबै स्थानीय तहलाई सर्कुलर गरेकाे थियाे।

सर्कुलरकाे बुँदा नम्बर ‘क’ मा, ‘स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्ने विषयमा एकरुपता कायम गर्न आवश्यक र जरुरी देखिन्छ। तसर्थ यस विषयको व्यवस्थापनका लागि मार्गदर्शक कानुनको रूपमा रहेको निजामती सेवा ऐन, २०४९ तथा ऐ. नियमावली, २०५० को नियम ४६ मा रहेको व्यवस्था बमोजिम स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीमध्येबाट वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिने व्यवस्था अनिवार्य रुपमा मिलाउनू’ भनिएकाे थियाे।

साथै सर्कुलरकाे अन्तिममा ‘माथि उल्लिखित बुँदा नं. ‘क’ विपरीत कहीँकतै भएको भए आजको मितिबाट सो निर्णय स्वतः निष्कृय हुने व्यहोरा अनुरोध छ’ समेत भनिएकाे थियाे। तर, सिंजामा भने प्रशासन तर्फकाे छैटौं अधिकृत हुँदा हुँदै पनि कार्यपालिकाकाे विश्वासका आधारमा भन्दै अध्यक्ष धितालले पशु शाखाका छैटौं अधिकृत आफ्ना भाइलाई जिम्मेवारी दिएकाे बिएल नेपाली सेवासँगकाे प्रतिक्रियामा भनेका थिए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नाे पुरानाे सर्कुलर बमोजिम मंगलबार जुम्लामा प्रमुख प्रशासकीय अधिकृत हुन याेग्यता नपुगेका तीनवटा गाउँपालिकाकाे सहित ८० जना शाखा अधिकृतलाई एकैपटक गाउँपालिकामा खटाएको छ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ। गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्थाअनुसार नै नयाँ शाखा अधिकृतहरुलाई खटाइएको स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत खटाउन सचिवस्तरीय निर्णय हुनुपर्ने भएता पनि मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सहसचिव हेमराज तामाङलाई शाखा अधिकृतसम्मको सरुवाको जिम्मेवारी प्रत्यायोजन गरेका छन्।

प्रकाशित मिति: : 2023-08-23 08:04:00

प्रतिकृया दिनुहोस्