पर्यटन श्रमिकलाई मौसम पूर्वानुमान, जिपिएस र नक्सा अध्ययनसम्बन्धी तालिम दिँदै माेगान

पर्वतीय पथ प्रदर्शक नेपाल (मोगान)द्वारा आयोजित तीन दिने मौसम पूर्वानुमान, जिपिएस र नक्सा अध्ययन (Weather Forecast, GPS & Navigation) तालिम सुरु भएकाे छ।

पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरूको क्षमता वृद्धि गर्ने उद्देश्यसहित मंगलबारदेखि नेपाल पर्यटन बोर्डको हलमा तालिम सुरु भएकाे हाे। तालिममा १२५ जना पर्यटन श्रमिकहरुको सहभागिता रहेको छ।

ट्रेकिङ र आरोहणकाे क्रममा माैसम र नक्साकाे उपयाेग गरी यात्रा सहज र सुरक्षित बनाउन सकियाे भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएकाे अध्यक्ष सञ्जीव गुरुङले बताए। ‘तालिमले पर्यटन मजदुरहरुलाई मौसम पूर्वानुमान तथा भूगोलको नक्सा र जिपिएस पत्ता लगाउन सहयोग पुग्नेछ,’ अध्यक्ष गुरुङले जानकारी दिए।

सस्टेनेबल टुरिजम फर लाइभलिहुड रिकभरी प्रोजेक्ट (एसटीएलआरपी)का निर्देशक धर्मराज दवाडीले परियोजनाले छोटो अवधिको रोजगारी प्रदान गरी सबैभन्दा प्रभावित कामदारहरुको जीविकोपार्जनमा सहयोग गर्दै पर्यटन क्षेत्रको पुन:उत्थानमा योगदान पुर्‍याउने लक्ष्यसहित पर्यटन श्रमिकलाई विभिन्न तालिम दिँदै आएको छ बताए। यो तालिम पनि त्यसैको निरन्तरता रहेको उनकाे भनाइ छ।

यसैअनुरुप एसटिएलआरपीले पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरुलाई विभिन्न पर्यटन बोर्डको सहकार्यमा सीप अभिवृद्धि तालिमहरूमा सहयोग गर्दै आएको छ। अगामी दिनमा पनि यस्ता सीपमुलुक तालिमहरुको दिने उनले बताए।

मोगानको आयोजनामा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी)को सहयोग तथा नेपाल पर्यटन बोर्ड (एनटिबी)सँगको सहकार्यमा तालिम सञ्चालन गरिएको हो।

यसअघि मोगानले ६० जना पर्यटन क्षेत्रमा आबद्ध श्रमिकलाई तीन दिने मोबाइल फोटोग्राफी तालिम प्रदान गरेको थियाे।

प्रकाशित मिति: : 2023-08-22 17:29:00

प्रतिकृया दिनुहोस्