१९औँ एसियाली खेलकुद आगामी सप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको होङझाउमा हुँदैछ। यसमा नेपालले २९ विधाका खेलहरू खेल्नेछ।
एसियाली खेलकुदमा नेपालको इतिहास सन्तोजनक छैन।
तेक्वान्दो, बक्सिङ र प्यारागाइङबाट मात्र नेपालले केही पदक जित्न सफल भएको छ। त्यसमा पनि तेक्वान्दोबाट सर्वाधिक पदक प्राप्त गरेको छ।
र, यसपालि पनि आश त यसैमा मात्रै हो। अरू विधामा नेपालको औपचारिक सहभागितामात्रै हुनेछ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पनि तेक्वान्दो खेललाई प्राथमिकतामा राखेको छ। तेक्वान्दोले पुरानै इतिहासलाई दोहोर्याउने र यसपटक अझ राम्रो पदक ल्याउने बताउँछन्, राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा।
यसअघि एसियाली खेलकुदमा तेक्वान्दोबाट नेपालले १३ कास्य पदक र १ रजत पदक प्राप्त गरेको थियो। सन् १९९८ मा तेक्वन्दोबाट साविता राजभण्डारीले रजत पदक जितेकी थिइन्। तेक्वन्दोबाटै दीपक विष्टले दुई पटक पदक जितेका थिए।
दुई खेलाडीले जितेका यी पदकलाई राखेपले एउटा गर्विलो इतिहास मान्छ।
प्रशिक्षकदेखि तेक्वान्दोका खेलाडीसम्म निराश
नेपालबाट एसियाली खेलकुदमा तेक्वान्दोबाट ११ जना खेलाडीले प्रतिनिधित्व गर्दैछन्।
तर, गर्विलो इतिहास बोकेको र पदक आश राखिएको खेल भएपनि तेक्वान्दोले यस पटक सोचेको जस्तो नतिजा ल्याउन सकिन्न कि भनेर प्रशिक्षक र खेलाडी नै चिन्तित छन्।
तेक्वान्दोका मुख्य प्रशिक्षक टार्जन सुब्बा भन्छन्, ‘एसियाली खेलकुदको लागि नेपालमा राम्रै प्रशिक्षण भएको भएपनि खेलाडीहरुले एक्सपोजर पाउनुभएको छैन। त्यसैले सोचेको जस्तो प्रशिक्षण हुन सकेकै छैन।’
नेपालबाट तेक्वान्दोका लागि ६ जना पुरुष र ५ जना महिला खेलाडीहरूले प्रतिनिधित्व गर्दैछन्। यी ११ जना खेलाडी अहिले एसियाली खेलकुदको लागि बन्द प्रशिक्षणमा छन्।
तर, नेपालभित्रको सीमित स्रोत र साधनले मात्र पदक ल्याउन कठिन हुने मुख्य प्रशिक्षक सुब्बा बताउँछन्।
यही कारण तेक्वान्दो संघले खेलाडीलाई बाहिर लगेर प्रशिक्षण गराउने भन्दै राखेपसँग छलफल गरेको थियो। तर बजेट अभाव देखाउँदै राखेपले प्रशिक्षण नेपालमै गराउन आदेश दियो।
‘खेलाडीहरुको एक्सपोजरको लागि र अझै बढी राम्रो प्रशिक्षणको लागि हामीले ११ जना खेलाडीलाई अरू देशमै लैजाने योजना बनाएका थियौँ,’ प्रशिक्षक सुब्बाले भने, ‘तर बजेट अभावका कारण सकिएन।’
अन्य देशलाई हेर्न हो भने एसियाली खेलकुदको लागि भनेर वर्षौँदेखि नै तयारी थाल्ने गर्छन्। नेपालमा तयारीको लागि बाहिर प्रशिक्षण गर्छु भन्दा पनि पाइँदैन। त्यसमा पनि बन्द प्रशिक्षण झन ढिला सुरु हुन्छ।
राखेपले तेक्वन्दोको लागि जम्मा १२ लाख रुपैयाँ छुट्याएको छ। यो रकम भनेको ११ जना खेलाडी र ३ प्रशिक्षकका लागि पर्याप्त होइन।
तेक्वान्दो संघले खेलाडीलाई विदेश प्रशिक्षणमा लैजानको लागि ९० लाख रुपैयाँको माग गरेको थियो।
राखेपले त्यति धेरै रकम दिन नसक्ने भन्यो। पछि संघ र राखेपबीच ३० लाखमा सहमति पनि भयो। तर त्यति रकम पनि राखेपले दिन नसक्ने बतायो।
पछि फेरि २७ लाख दिने निर्णय भयो। तर अन्तिममा उसले १२ लाखमात्रै दियो।
१२ लाखले सबैको प्रशिक्षण नहुने भएपछि पुम्सेका दुई खेलाडीले मात्र मलेसियामा गएर १५ दिनको प्रशिक्षण गरेर गत शनिबार स्वेदश फर्किएका छन्।
नेपालले पदकका लागि आश राखेको एउटामात्रै खेल तेक्वान्दोमा यसपटक नयाँ खेलाडीहरू छन्।
एसियाली खेलकुद खेलेका दुई खेलाडीबाहेक अन्य खेलाडीसँग अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छैन।
टिमका सबैभन्दा अनुभवी खेलाडी र दोस्रो पटक एसियन खेलकुदमा सहभागिता जनाउँदै गरेका वीरबहादुर महराले चाहिनेजति प्रशिक्षण नभएको बताउँछन्। उनी यसपालि दोस्रो पटक एसियाली खेलकुदमा सहभागी जनाउँदैछन्।
१५ वर्ष लामो खेलकुद यात्रामा यस पटकको जस्तो अस्तव्यस्त र भद्रोगल प्रशिक्षण उनले कहिल्यै देखेका थिएनन्।
एसियन गेम्समा पटकपटक पदक जितेको तेक्वान्दो खेलले एसियाली खेलकुदमा आफ्नो एउटा छुट्टै पहिचान छाडेको छ। तर केही वर्षदेखि तेक्वान्दोले पदक जित्न सकेको छैन।
पुरानो रेकर्डलाई तोड्ने गरी आफूहरूले शत प्रतिशत शक्ति लगाइरहेको बीरबहादुर बताउँछन्। ‘तेक्वान्दोमा मेडल नआएको धेरै वर्ष भइसक्यो, पहिलादेखि नै एउटा इतिहास बोकेको खेल हो, त्यसैले गर्दा हामीलाई यसपटक अझै धेरै प्रेसर छ,’ उनले भने, यसअघि दुई खेलमा मेडल आएन। अब पहिलेको रेकर्ड ब्रेक गर्ने सोचमा छौँ।’
जम्मा ११ जना खेलाडी रहेको तेक्वान्दो खेलमा एक जना घाइते हुँदा अर्का एक जनालाई टिम नै पुग्दैन। ६ जना पुरुष र ५ जना महिलामा अझै महिलाको लागि एक जना साझेदार खेलाडीको कमी छ।
अरू देशमा हेर्न हो भने एसियाली खेलकुदको लागि भनेर चार वर्षअघिदेखि नै तयारी थालिन्छ तर नेपालमा आफ्नै लगानीमा विदेश गएर प्रशिक्षण गर्छु भन्दा पनि जान रोक लगाएको वीरबहादुरको गुनासो छ।
राखेप मात्र नभई सिङ्गो खेल क्षेत्रले यसपटक पनि तेक्वान्दोबाट नै मेडलको आश गरेको छ। तर, एसियाली खेलकुद सुरु हुने समय नजिकिइरहँदा प्रशिक्षक र खेलाडीहरु दुबै चिन्तित छन्।
पहिलो पटक यसमा प्रतिस्पर्धा गर्न लागेकी इन्दिरा बस्नेत एसियाडको लागि निकै उत्साहित भएको बताउँछिन्। उनले एसियाडमा -६८ केजीबाट प्रतिस्पर्धा गर्दछिन्।
पाँच जना महिला खेलाडी भएको कारण एक जनासँग फाइट पाटनर नहुँदा आलोपालो गरी फाइट गर्नुपर्ने उनको भनाइ छ।
फितलो प्रशिक्षण र कडा चुनौतीको भुमरीमा परेको छ, यसपटकको सबैभन्दा आश लाग्दो खेल तेक्वान्दो।
मुख्य प्रशिक्षक सुब्बा भन्छन्, ‘पुरानो रेकर्ड यसपटक तोडिएला भन्ने कुरा भन्न गाह्रो छ, अरु देश दिन प्रतिदिन माथि जाँदैछ, हाम्रो यहाँ एसियाली खेलकुद आउन ३ महिनाअघि मात्र सेलेक्सन हुन्छ।’
तेक्वान्दोसँगै प्राथमिकतामा राखिएको खेल बक्सिङका खेलाडी प्रशिक्षणका लागि भारत गएका छन्।
यसपटक एसियाली खेलकुदमा बक्सिङको लागि ७ जना पुरुष र ६ जना महिलाले गरी १३ जनाले प्रतिस्पर्धा गर्दछन्। उनीहरूले भारतको पन्जावमा प्रशिक्षण गरिरहेका छन्।