कर्णाली प्रतिष्ठानले सुरु गर्‍यो डायलासिस सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डायलासिस सेवा सुरू गरेकाे छ। मृगौला रोगीहरुलाई केन्द्रित गर्दै सोमबारदेखि डायलासिस सेवा सुरु गरेकाे प्रतिष्ठानका निर्देशक डा.पुजन रोकायाले बताएका छन्।

‘अब मिर्गौलाका बिरामीहरुले टाढा जानुपर्ने छैन। हामीले सेवा सुरु गरिसकेका छाैं,’ उनले भने, ‘यो सेवाले कर्णालीबासीको लाखौं रुपैयाँ जोगाउने विश्वास छ।’

रोगीहरुको मिर्गौलाले काम नगरी शरीरका फोहोर चिजहरु छान्न नसकेकाे बेला मिर्गौलाले गर्ने काम मेसिनले गर्ने व्यवस्था मिलाउनु नै डायलासिस सेवा भनिने निर्देशक डा.रोकायाले बताए। उनले भने, ‘त्यही सेवा दिने हेतुले डायलासिस सेवा सुरु भएकाे हाे। याे सेवा सुचारु हुँदा कर्णालीका मिर्गौला रोगीहरुले राहत पाउने अपेक्षा गरेका छाैं।’

डायलासिस सेवा प्रदान गर्न विशिष्टकृत सेवा पढेको जनशक्ति नभए पनि कर्णाली प्रतिष्ठानको जनशक्तिको भरपुर प्रयोग गरेर सेवा दिइने उनकाे भनाइ छ। हाललाई एक नर्सिङ अफिसर र दुई जना स्टाफ नर्सलाई तालिम दिइएर खटाइएको छ। उनीहरुले चिकित्सकहरुको निगरानीमा सेवा दिनेछन्।

जुम्लामा हालसम्म मिर्गौला पीडितहरुको तथ्यांक नरहेकाे प्रतिष्ठानले जनाएकाे छ। डायलासिस सेवा सुरु भएसँगै मिर्गौला पीडितहरुको तथ्यांक राख्न सहज हुने निर्देशक राेकायाकाे भनाइ छ।

डायलासिस सेवा देशभर नि:शुल्क रुपमा प्रदान गरिने भए पनि आउजाउ गर्न र डेरा लिएर बस्नुपर्दा मिर्गौलाका रोगीहरु निकै महंगोमा सेवा लिइरहन बाध्य थिए। ‘यसअघि सुर्खेत, नेपालगञ्ज र काठमाडौंका सुविधा सम्पन्न अस्पतालसम्म पुगेर मिर्गौला रोगीहरुले डायलासिस सेवा लिइरहेका थिए। उनीहरुले अब घरपायक सेवा पाउने भएका छन्,’ निर्देशक रोकायाले भने।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले डायलासिस सेवा मिर्गौलाका बिरामीहरुका लागि सुखद सन्देश भएको प्रतिक्रिया दिएका छन्। उनले मिर्गौलाका रोगी डाइलाइसिस गर्न काठमाडौँ, सुर्खेत नेपालगञ्ज जान पर्ने बाध्यता अन्त्य हुने बताए।

उनले डायलासिस सेवाको भरपुर प्रयोग गर्न मिर्गौला रोगीहरुलाई अपिल गर्दै अब मिर्गौला रोगीहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउन निम्तो दिएका छन्। उनले भने, ‘कुनै बेला सिटामोलको टाटो नपाएर छटपटिरहेको कर्णालीमा अहिले मिर्गौला रोगीहरुको उपचार गर्नेसम्म पुग्नु चानचुने कुरो होइन।’ जतिसक्दो छिटो सेवा लिन आग्रह गरिएको छ।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलासिस मेसिन दिइएको छ। जसमध्ये दुई मेसिन मात्र प्रयोगमा ल्याइएको छ। बिरामीको चापअनुसार मेसिनहरु जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ।

हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सिटी स्क्यान, एक्सरे, डायलासिस, हाडजोर्नी, नसारोग, बालरोग, स्त्रीरोग, नाक, कान, घाँटी र छाला रोग सम्बन्धीको सेवा दिइरहेको छ।

प्रकाशित मिति: : 2023-08-17 16:20:00

प्रतिकृया दिनुहोस्