आँखा जुधाउँदा सर्दैन ‘आँखा पाक्ने’ रोग

मिनु गोले

काठमाडौं

डेंगीले सताइरहेको यो बखत देशभरि फेरि आँखा पाक्ने संक्रमण फैलिएको छ। काठमाडौंमात्रै होइन देशभरि नै आँखा पाक्ने समस्याबाट पीडित हुनेहरूको अस्पतालमा भीड लागिरहेको छ। 

चिकित्सकहरूका अनुसार यो अहिले निकै संक्रामक भएर फैलिइरहेको छ। वर्षे सिजनको यो मौसममा आँखा चिलाउने, रातो हुनेलगायतका समस्याहरू हरेक साल हुन्छन्। तर, यसपालि भने यो संक्रामक नै भएर निस्कियो। 

विभिन्न जिल्लाका विद्यालयमा आँखा पाक्ने रोग फैलिन थालेपछि स्कुलहरूसमेत बन्द गरिएका छन्। 

खासमा यो एडिनो भाइरसले आँखामा फैलाउने समस्या हो। आँखाको सेता भागलाई पिरोल्ने यो भाइरसले केही दिनसम्म आँखा हेर्नै नमिल्ने पनि बनाइदिनसक्छ। 

डाक्टरी भाषामा कन्जङ्क्टिभाइटिस यसलाई सामान्य नेपाली भाषामा आँखा पाक्ने रोग भनेर चिनिन्छ। चिकित्सकहरूका अनुसार यो त्यत्ति घातक नै त हुँदैन। तर हेलचेक्र्याइँका कारण आँखाको ज्योति गुम्नसक्ने डर पनि हुन्छ।

के आँखा जुधाउँदा यो सर्छ?

यो एउटा भ्रममात्रै हो। 

आम मान्छेलाई के लाग्छ भने रातो भएका आँखाहरूमा सिधै हेर्दा यो रोग सर्छ। त्यसैले कि कालो चस्मा लगाएका हुन्छन् र सिधै अरुको आँखामा हेर्दैनन्।

‘यो एउटा भ्रम हो। कसैको आँखामा आँखा जुधाउँदैमा यो सर्दैन’ तिलगंगा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डा.कौशल पोखरेल भन्छन् ‘यो एउटा भाइरल हो। वर्षायाममा बढी देखिन्छ तर अघिपछिका समयमा पनि यो भइरहेको हुन्छ।’ 

चस्माको प्रयोग

चस्मा लगाउनु भनेको यसको उपचार होइन। यसमा फोहोर कसिङ्गर नपसोस् भनेर यो सुरक्षाकवच मात्रै हो। बाहिर हिँड्दा वा घामबाट जोगिन र धुलोधुवाँबाट बच्नका लागिमात्रै चस्माको प्रयोग हुन्छ। 

अहिले तिलगंगा आँखा प्रतिष्ठानमा दैनिकमा १०० भन्दा बढी मानिस यस्तो समस्या लिएर आउने गरेका छन्। सँगै जनघनत्व र जनसंख्या धेरै भएका ठाउँहरूमा यसको संक्रमण अझ धेरै छ।

आँखाका बिरामी बढेपछि चितवनका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन्।

धनकुटा– ६ स्थित बालसंसार बोर्डिङ स्कुल,  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका विद्यालय, धानुषका विद्यालय, त्यसैगरी क्षीरेश्वरनाथ नगरपालिका र मिथिला नगरपालिकामा पनि संक्रमण फैलिएपछि विद्यालयहरू बन्द भएका छन्। 

यसैगरी अरू नगर तथा गाउँपालिकाले पनि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। पछिल्लो समयमा आँखा पाक्ने र विगतको वर्षहरु भन्दा धेरै संक्रमित योपालि देखिएका छन्। 

विमानस्थलमा समेत आँखा पाक्ने समस्याका कारण यात्रुहरूमा कडाइ गरिएको छ। कतिपय संक्रमितलाई त फर्काइएको पनि छ। 

देशभरिका अस्पतालमा आँखा पाक्ने समस्या लिएर आउने बिरामीहरूको भीडभाड छ। 

काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल भक्तपुर अस्पताल, त्रिपुरेश्वरलगायत अस्पतालहरूमा यस्ता बिरामीको चाप छ। 

यसैगरी त्रिवि शिक्षण अस्पताल (टिचिङ) का डा.निराज देव जोशीका अनुसार आँखा पाक्ने समस्या दैनिक ५० भन्दा बढी आउने गरेका छन्।

‘आँखा पाक्ने रोगको सबैभन्दा मुख्य कारण भाइरसको सङ्क्रमण भएपछि लगत्तै हुने ब्याक्टेरियाको सङ्क्रमण हुने पनि गर्छ। आस्पतालमा आँखा पाक्ने समस्या लिएर त आउने गर्छ तर भाइरसको सङ्क्रमण, ब्याक्टेरियाको सङ्क्रमण वा एलर्जीका कारणले हो त्यो बुझनु जरुरी हुन्छ’ उनी भन्छन् ‘अहिलेसम्म अस्पतालमा भर्न गर्नुपर्ने स्थति भएको छैन, बिरामीहरु आउँछन् रोगअनुसारको औषधी दिएर सावधानी अपानाउन भनेर पठाइरहेका छौं।’ 

हरेक वर्षमा आँखा पाक्ने समस्या हुने गर्छ। तर, यसपालि यो धेरै नै देखिएको उनको भनाइ छ। 

यो रोग लागेका मध्ये धेरैजसो वयस्कहरूमा भाइरसको सङ्क्रमणका कारणले यो रोग लागेको पाइन्छ। भने बालबालिकाहरूमा ब्याक्टेरियाको कारणले आँखा पाक्ने रोग लाग्नेगर्छ। र यो रोग एक वा दुई हप्तामा निको हुँदै जान्छ। 

प्राय: सरुवा रोग भएकाले बालबलिका, भिडभडमा बस्नेहरू, वृद्ध, जेष्ठ नागरिकलाई बढी सर्ने हुनसक्छ। एलर्जीका कारणले हो भने यो रोग सर्दैन तर भाइरसले भने एउटाबाट अर्कोमा सर्नसक्छ। 

कस्ता समस्या लिएर आएका छन बिरामीहरु

काठमाडौं उपत्यकामा आँखा पाक्ने रोगको पहिलो सातामै धेरै अस्पताल आउने गर्छन्। दोस्रो हप्तासम्म कसेको आँखा बढी रातो हुन्छ। रगतै जमेको जस्तो देखिएपछि पनि बिरामीहरू अस्पताल पुग्ने गरेका छन्। यो अवस्थालाई केरटाइटिस भनेर चिनिन्छ। 

आँखा पाक्ने समस्या र त्यसका समाधान अनि हेरचाहबाट तिलगंगा आँखा प्रतिष्ठान नेत्र रोग विशेषज्ञ टिप्सहरू यस्ता छन्: 

यो प्राय: सरुवा हो। यो आँसुबाट मात्रै सर्ने गर्छ। आँखा पाक्यो भने हामीले आँखालाई छुनुहुँदैन। छोहिहालियो भने साबुन-पानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्नुपर्छ। रुमालभन्दा टिस्यू पेपरको प्रयोग उपयुक्त हुन्छ। 

लक्षणहरू

-घामलाई हेर्ने नसक्नी

-आँखा पोल्ने, बिजाउने

-आँसु धेरै आउने 

-आँखा रातो हुने सुन्ने 

-बिहान उठदा आँखाका परेलाहरू टाँसिने 

-कचेरा वा चिप्रा आउने

-कचेरा र चिप्रा कसै–कसैको पानी जस्तो हुन्छ भने कुनै पिप जस्तो पहँलो हुन्छ। 

यो रोगको उपचार कसरी गर्न सकिन्छ?

यो रोगको उपचार भनेको पहिला हामीले के करणले लागेको हो कारण पत्ता लगाउनुपर्छ र आफ्नाे सबैको नजिकै रहेको चिकित्सको सल्लाह बमोजिम औषधीहरू प्रयोग गर्ने।

-आइसले वा चिसो सफा कपडाले आँखा सेक्ने 

- एउटा आइस एउटा आँखामा मात्रै प्रयोग गर्ने 

- बाहिर घाममा जादाँ चस्माको प्रयोग गर्ने 

-आँखा नमिच्ने, पानी नछ्याप्ने

के यो धेरै घातक छ?

सावधानी अपनाउने हो भने यो घातक छैन। त्यसैले आँखा रातो हुँदैमा, चिलाउँदैमा वा पाकिहालेमा पनि आत्तिनु पर्दैन। 

स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने र राम्रोसँग घरमै स्याहार गर्दा पनि यो १ देखि २ हप्ताभित्र आफै निको भइसक्छ।

प्रकाशित मिति: : 2023-08-16 21:30:00

प्रतिकृया दिनुहोस्