आग्रह, पूर्वाग्रहभन्दा माथि उठेरै सहि र सत्यको जगमा नै विश्लेषण गरेर निष्कर्ष निकाल्ने हो भने इतिहासको लामो कालखण्ड पछाडि नै नेपालमा सबै खालका भ्रष्टहरूको सातो उडेको छ।
खासमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुँदै जाँदा सत्तापक्षदेखि प्रतिपक्ष दलका समेत ठुला भनिएका नेताहरू धमाधम पक्राउ पर्न थालेका छन्। दोषी ठहर भएर जेल पनि बसिरहेका छन्।
यो अवस्थाले ठुला भनिएकाहरू पनि जेल जाने दिन आउने रहेछ भन्ने विश्वास जनतामा पैदा हुन गएको तथ्यलाई नजर अन्दाज गर्ने कुरै आउँदैन। यद्यपि नेपाली नागरिकलाई भुटानी बनाएर अमेरिका पठाएर ठुलो मात्रामा पैसा कमाउने काममा ठुलै भनिएकाहरू लागेको त्यस प्रकरणको छानबिन, अनुसन्धान र अभियोजन हुनुको पछाडि नेपालको अग्रसरताभन्दा पनि अमेरिकालगायत पश्चिमा देशहरूको दबाबले भूमिका खेलेको थियो भन्नेहरू पनि धेरै भेटिन्छन्।
यस्तो आशंका पूर्णत: सहि होला-नहोला तर त्यो आशंका मिश्रित ठहर गर्नेहरूको ठम्याईमा दम भने छ।
यति हुँदाहुँदै र पुग्नुपर्ने तहसम्म पुग्न बाँकी नै रहेको भए पनि कुनैबेला रोकिएको त्यसै मुद्दाको अनुसन्धान जुन तहसम्म पुग्न सक्यो, त्यसको लागि नेपाल प्रहरीको विभिन्न तह अनि त्यसको नेतृत्वकर्ता गृहमन्त्री नारायणकाजी श्रेष्ठहरूलाई जस नदिँदा पनि पाप लाग्नेछ।
कोही-कसैले माने पनि नमाने पनि आजको मितिसम्मको गतिविधिलाई हेर्दा नारायणकाजी श्रेष्ठ नेपालको इतिहासमै भए-रहेका निडर गृहमन्त्रीको छवि बनाउन सफलहरूको सूचीमा पर्नेछन्। यो निष्कर्ष यत्तिकै र यसै केवल त्यही नक्कली शरणार्थी भुटानी प्रकरणकै अनुसन्धानलाई मात्रै आधार बनाएर गरेको भने हैन।
गृहमन्त्रीको रुपमा पद वहाली गरेर आजको मितिसम्म आइपुग्दा नारायणकाजी श्रेष्ठको निर्णयअनुसार भए/गरेका कामहरूको मूल्यांकन गरेर नै यस्तो प्रारम्भिक निष्कर्ष निकालिएको हो। बिहानीले दिनको संकेत गर्छ भन्ने भनाइलाई नै गलत सावित गर्ने व्यवहार स्वंय नारायणकाजी श्रेष्ठबाट भएन भने अहिलेसम्मको सत्य यही नै हो।
यद्यपि, यस्तो निष्कर्ष पढ्दै गर्दा रेडियो, टिभीलगायत अन्य सञ्चार माध्यमहरूमा केपी ओली अनि उहाँलाई पिता भन्ने नवकांग्रेसी नेता बनेका सुनिल शर्मासम्मले नारायणकाजी श्रेष्ठको विरुद्ध विष वमन गरिरहेका छन्। अनि उनको राजीनामा मागेको सुन्न, हेर्न र पढ्न बाध्य आम नागरिकलाई कुनचाहिँ कुरो ठिक त भन्ने भ्रम पर्नसक्छ।
हुन त कोही-कसैको दाबीलाई पनि तथ्यको कसीमा राखेर जाँचेर आफ्नो मौलिक निष्कर्ष निकाल्ने हो भने सहि हुनुपर्ने सहि र गलत हुनुपर्ने गलत ठहर भैहाल्छ। तर हालसम्म त्यस्तो परीक्षण गरेर मात्रै धारणा बनाउने संस्कार बसिसकेको छैन। त्यसैले कमसेकम आफूले प्रस्तुत गरेको निष्कर्ष पुष्टि गर्ने तथ्य प्रमाणमा आधारित तर्कहरू राख्नु आवश्यक हुन्छ।
तसर्थ, प्रतिपक्ष नेता अर्थात् एमाले बिगारेर ‘बा-माले’ भएको पार्टीको नेतृत्व गरिरहनुभएका केपी शर्मा ओली, अनि उहाँको आदेश पालकमा सीमित ‘बा-माले’ भनेर चिनिने एमालेको संस्थापन (जुन सतहमा एक मात्रै पक्ष देखिन्छ)। अनि उहाँको लयमा नाच्दा आफ्नो स्वार्थ रक्षा हुन्छ भन्ने ठान्ने सुनिल शर्माजस्ता नवकाँग्रेसीहरूको व्यापक विरोधको निशानामा रहेका नारायणकाजी श्रेष्ठ आजकाे मितिसम्म विरोध हैन, सम्मान गर्न लायक हुन् भन्ने निष्कर्ष निम्न कुराहरूको आधारमा भनिएको स्पष्ट पार्नु वाञ्छनीय छ:
१. सर्वप्रथम नारायणकाजी श्रेष्ठले आफू पदमा बहाल हुनेबित्तिकै दैनिक लाखौँ रुपैयाँ राज्यकोषबाट झिकेर सुराकी खर्च भन्दै गृहमन्त्री र सचिवले मनलाग्दी खर्च गर्ने निरन्तरको लुटलाई बन्द गर्ने निर्णय गरे।
वास्तवमा त्यो निर्णय हुँदाका दिनसम्म यसअघिका गृहमन्त्री र सचिवले सुराकी खर्च गरेको गरेकै थिए तर तिनीमध्ये कसैलाई आएको सुराकले कुनै एक अपराध हुनबाट रोकिएको पनि थिएन।
अर्थात् सुराकीको नाममा खर्च निरन्तर गरेको भए पनि त्यसले परिणाम भने कहिल्यै निकाल्ने गरेको थिएन। त्यसैले त्यस निर्णयले देशको भलो भयो, नारायणकाजीले सम्मान आर्जनको थालनी गरे।
२. नारायणकाजी श्रेष्ठ नै त्यस्तो गृहमन्त्री बन्न पुगे, जसले लोकरिझ्याइँबाट सरकारमा पुगेको केही दिनमा नै ‘पूर्वगृहमन्त्री’ भएका रवि लामिछानेले जनताको व्यक्तिगत विवरण राख्ने व्यवस्थाको निम्ति विदेशी कम्पनीलाई ठेक्का दिने भनेर गरेको निर्णय खारेज गरिदिए।
यति गर्दैगर्दा रवि लामिछाने र अरु सम्बद्ध त नारायणकाजी श्रेष्ठसँग रिसाए पनि होलान् तर नारायणकाजीको त्यो निर्णयले देश र जनताको हित गर्यो। देशको ठुलो धनराशी सँगसँगै सम्पूर्ण नेपालीको निजी जीवनसँग जोडिएका सूचनाहरू विदेशीको हातमा पुग्ने काम हुन पाएन। अनि फेरि नारायणकाजी हाईहाई भन्ने अर्को कारण थपियो।
३. तिनै नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएकै समयमा नेपालको आन्तरिक सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको नेपाल प्रहरीदेखि सीमा र औद्योगिक क्षेत्र सुरक्षाको जिम्मा बोकेको सशस्त्र प्रहरी समेतका सरुवा बढुवामा कमसेकम आर्थिक चलखेल शून्यमा झरेको छ। त्यसो गर्दैगर्दा सदैव सरुवा बढुवामा कथित आफ्ना र आफूलाई रकम बुझाउने रचित राम्राका खेती गर्दै आएका पार्टीभित्र र बाहिरका शक्तिवालाहरूको निशानामा परे पनि नारायणकाजी श्रेष्ठले समग्र सुरक्षा संगठनभित्रको विश्वास र सम्मान आर्जन गरेका छन्।
त्यसो गर्नको लागि आवश्यक पर्ने सहि व्यक्तित्व छनोट गर्ने कला पनि रहेछ भन्ने स्पष्ट बुझिन्छ। किनकि प्रहरीको एक-एक अधिकृतको सबलता अनि दुर्बलता बुझेको अधिकृत मानवस्राेतमा भएकैले त सरुवा-बढुवालाई विवादित बनाउने खेलहरू समेत असफल भए। यसो हुँदै गर्दा नारायणकाजीले गाली हैन, ताली पाउनुपर्ने थियो र त्यही भइरहेको छ।
४. जब सुराकी खर्च खारेजी, चलखेलयुक्त ठेक्का खारेजी, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानदेखि अभियोजनसम्ममा आशलाग्दा उपलब्धि हुँदै सरुवा-बढुवामा बेथिति न्यूनीकरण हुँदै निराकरणतर्फ अगाडि बढ्यो, तबसम्ममा त केही समय यता प्रहरीप्रति क्षीण हुँदै गएको विश्वास पनि बढ्दै जाने वातावरण बन्यो। यति हुँदै गर्दा ललिता निवास जग्गा प्रकरणको अनुसन्धानले पनि एउटा लय समात्ने अवस्था बन्यो। सिधा शब्दमा भन्नुपर्दा प्रहरी आफ्नो असली हर्कतमा आएको देखियो।
अनि निर्दोषहरू आफूमाथि लागेको मिथ्या आरोप खारेज हुने आशा गर्ने र दोषीहरूले अब आफ्नो समय सकिएको निर्क्योल निकाल्ने काम एकै पटक हुन पुग्यो। हो, यति हुनुमा नक्कली भुटानी शरणार्थी प्रकरणको उचित अनुसन्धान गर्ने नेपाल प्रहरीको सम्पूर्ण जिम्मेवार तह र तिनका काविल पदाधिकारीहरूको अब्बल र त्यसको सहि सदुपयोगसमेतको भूमिका नकार्न मिल्दैन।
तर फेरि पनि यसै मुद्दामा कुनैबेला अनुसन्धान गर्ने काम रोक्न बाध्य प्रहरीलाई सक्रिय र परिणाममुखी बनाउने नारायणकाजीको कर्मलाई नजरअन्दाज गर्न मिल्दैन नै। जब उनले गरेको काम राम्रो छ, जनताको पक्षमा छन् भने उनको पक्षमा जनता र जनपक्षीय शक्तिको वाहीवाही र जनविरोधीहरूको विरोध त हुने नै भयो।
५. हो, यसै क्रममा सुन तस्करीलगायतका कतिपय अरू घटना र प्रकरणहरू पनि सतहमा आएका छन्। अनि तिनीहरूको छानबिनको विषयलाई लिएर कतिपय आशंकाहरू उठेका छन्।
जस्तै सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै पार्टी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा समेतको संलग्नताको कुरा स-प्रमाण आइरहँदा तिनीहरू पक्राउ नपर्नुलाई स्वाभाविक रुपमा लिन सकिन्न। हो, यसले गर्दा नारायणकाजी श्रेष्ठको निष्पक्षतामा सवाल जरुर उठेकै छ भने यसको निष्पक्ष अनुसन्धान हुँदैन कि भन्ने चिन्ता पनि बढेको छ। तर यत्तिकैमा नारायणकाजी श्रेष्ठलाई अविश्वास नै गरिहाल्नुपर्ने अवस्था भने बनिसकेको छैन।
अनुसन्धान सकिएर अभियोजनमा गैसकेको छैन। जसको मतलब आजसम्म आजाद घुमेका कृष्ण महरा र उनका छोराले बाहिर आएजस्तै तस्करी गरेको वा त्यस्तो गर्नेलाई सहयोग गरको पुष्टि हुँदा उनीहरू जेल पुग्ने अवस्था अझै विद्यमान नै छ।
त्यसमाथि महरा मुछिएको सुनकाण्डको अनुसन्धानको अलावा राजश्व अनुसन्धानले समातेको क्विन्टल सुनकाण्डको अनुसन्धान पनि सिआईबीले गर्न पाउनुपर्छ भनेर प्रधानमन्त्री प्रचण्डसँग नै आमने-सामने गर्ने नारायणकाजीको निष्ठामा, निष्पक्षतालाई अस्थायी सम्मानको भ्रममा टिकेको तर मनमा चाहिँ जेल जाने भय लिएर बसेका महरा वा अन्य कसैको दुरासयले काम गर्नसक्छ त? हुन्छ त? किमार्थ सक्दैन र हुँदैन।
अनि जब निष्पक्ष अनुसन्धानको सम्भावना बाँकी नै छ भने त्यस्तो गर्नसक्ने तिनै नारायणकाजीलाई जनताले किन गाली गर्थे? समर्थन नै गर्छन् नि! भलै खबरदारी गर्न नछोडी राम्रो गरुन्जेल मात्रै समर्थन हुने हो भन्ने जनाऊ दिन छोड्दैनन्।
यीबाहेक अरु पनि थुप्रै कारणहरू छन्, जसले आजको दिनसम्म नारायणकाजी श्रेष्ठप्रति आमरुपमा विरोध हैन, समर्थन अनि अविश्वास हैन, विश्वासकै वातावरण बनाइरहेका छन्।
तर पनि एमालेका अध्यक्ष केपी ओलीदेखि उनको सिङ्गो ‘भजन मण्डली’ निरन्तर नारायणकाजी श्रेष्ठमाथि निशाना साँधिरहेका छन्।
आजको मितिसम्म आइपुग्दा नारायणकाजीका विरुद्ध केपी ओली र उनको ‘भजन मण्डली’ कै शैलीमा उत्रिएका छन्, नवकाँग्रेसी नेता सुनिल शर्मा, जो नक्कली सर्टिफिकेट काण्डको आरोपीको रुपमा केहीदिन अगाडि प्रहरी हिरासतमा थिए।
देशको प्रमुख प्रतिपक्ष दलका नेताले नै तथ्यलाई अनदेखा गरेर मात्रै नभई त्यसलाई गलत ढंगले प्रस्तुतसमेत गरेर आज गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि निशाना साँधेर क्विन्टल सुन तस्करीमा उनलाई दोषी देखाउन खोजियो। तर विमानस्थल भन्सारदेखि कार्गोसम्ममा गृह मन्त्रालय मातहतको प्रहरीको अत्यन्त न्यून भूमिकाको सत्यलाई तथ्यले इन्कार गर्न सक्दैन।
अनि जहाँ आफ्नो नियन्त्रणमा रहेको निकायको उपस्थिति समेत नगन्य हुने माध्यम वा मार्ग प्रयोग गरेर भएको तस्करीमा नारायणकाजीलाई मुछ्न खोज्ने केपी ओली र उनको भजन मण्डलीको खेललाई सिसाको घरमा बसेर अर्कालाई ढुंगा हान्ने मूर्ख खेलभन्दा अरू केही हुनै सक्दैन।
क्विन्टल सुनकाण्ड सतहमा आएपछि भन्सारदेखि कार्गोसम्म प्रहरी उपस्थिति सशक्त पार्ने मात्रै नभएर सुन तस्करीजस्तो संगठित अपराधलाई राजश्व अनुसन्धानले हैन, प्रहरीले नै अनुसन्धान गर्न पाउनुपर्छ भनेर गृहमन्त्रीले नै भूमिका खेले।
त्यसपछि सुन तस्करीमा मुछिएका जो कोही माओवादी पनि जेल बस्न तयार हुनु भन्ने प्रचण्डको अभिव्यक्तिलाई जोडेर हेर्नेबित्तिकै पनि नारायणकाजी श्रेष्ठले आलोचना हैन, प्रशंसाको हक राख्छन् भन्ने तथ्य स्थापित गर्छ।
तर फेरि पनि किन केपी ओली अनि त्यो मण्डली नक्कली सर्टिफिकेट प्रकरणमा छानबिनको दायरामा रहेका काँग्रेसी सुनिल शर्माकै शैलीमा ‘नारायणकाजी श्रेष्ठलाई पदमुक्त गर्न कम्मर कसेर लागेका होलान्’ भन्ने सवालको उत्तर के होला?
आजको मितिसम्म प्राप्त तथ्य-प्रमाणले स्थापित गरेको नारायणकाजीप्रति ओली हमलालाई हेर्दै निष्कर्ष निकाल्ने हो भने यो केपी ओलीहरूको डर नै हो। यसमा ओली र उनका भजनमण्डलीहरू मुछिएका अरू पनि थुप्रै फाइल खुल्न बाँकी छन्। जसको डर सबैलाई छ। काजीमाथिको हमला पनि डरको यही पृष्ठभूमिका लुकेको तथ्य हो।
यति सामान्य कुरा नबुझ्ने त को नै होला र!
र पनि पार्टीभित्रका मण्डलीले ‘बा’ भनेर पुकार्ने केपी ओली दुनियाँलाई केही नजान्ने सम्झेर एकपछि अर्को कुतर्क गर्दै नारायणकाजी केन्द्रित निशाना प्रहारमा व्यस्त छन्।
तर उनीहरूले बुझे पनि नबुझे पनि सत्य के हो भने जति-जति यिनीहरूले नारायणकाजीलाई गाली गर्नेछन्, त्यति नै नारायणकाजी श्रेष्ठ जनतामा वाहीवाही हुँदै जानेछन्।
बोलेरमात्रै केही नगर्ने अनि केपी ओलीहरूभन्दा सकी-नसकी केही राम्रो गर्न खोजिरहेको सुशासन उन्मुख कामकै पक्षमा छन्।
यद्यपि नारायणकाजी श्रेष्ठहरूले पनि बुझ्नुपर्छ कि जनताको समर्थन निरपेक्ष र निशर्त हुँदैन, छैन र हुनेछैन पनि।
जनताले त्यतिबेलासम्म मात्रै समर्थन गर्नेछन्,जबसम्म भनाई र गराईको लय एउटै हुन्छ। अझ सिधा भन्नुपर्दा आज नारायणकाजीले राम्रो गरेको जस्तो देखिँदा उनको समर्थनमा चट्टान भएर खडा भएको त्यही पंक्ति नराम्रो गर्दा ज्वालामुखी भएर विरोधमा उत्रनेछ।
जनताको चट्टानी ओतमुनि रहेर राम्रो काम गर्ने कि आन्तरिक प्रभाव र नियोजित रुपमा सिर्जना गर्न खोजिएको बाह्य दबाबबाट अत्तालिएर गलत विद्रोहको अग्नीमा राख हुने, छनोटचाहिँ नारायणकाजीकै हो।
अहिलेलाई यति मात्रै भनौँ- गफका महारथी केपी ओलीको गाली मात्रैचाहिँ नारायणकाजीलाई श्राप हैन, वरदान हुनेछ। यसै पनि केपी ओलीको खेल निरन्तर प्रतित्युत्पादक हुँदै आएका छन्। भविष्य कस्तो लेख्ने, लेखोट नारायणकाजीकै हातमा छ।