टमाटरसँग साटेर भारतबाट धान-चामल ल्याउँदैछ नेपाल

नेपालले भारतबाट धान चामल किन्नका लागि भारतलाई टमाटर पठाउन थालेको छ।

यसअघि भारत सरकारले गुणस्तर नभएको भन्दै नेपाली टमाटर आयातमा प्रतिबन्ध लगाएको थियो। तर अब उसको बजारमा अभाव भएपछि नेपाली टमाटर पनि किन्ने निर्णय गरेको हो।

गत साउन ४ गते भारतले गैरबासमती चामलको निर्यातमा रोक लगाएपछि नेपाललगायत विश्वबजारमै चामलको मूल्य आकाशियो।

चामल नबेच्ने घोषणा गरेको भारतले भने टमाटरको अभाव र त्यसको चर्को मूल्यवृद्धि झेलिरहेको छ।

करिब १४०० प्रतिशत वृद्धि भएको मूल्य तिर्दै टमाटर उपभोग गरिरहेका भारतीय उपभोक्ताहरूलाई अहिले सरकारले सहकारीमार्फत टमाटर वितरण गरिरहेको छ।

भारतीय बजारहरूमा प्रतिकिलो ३० रुपैयाँसम्म पुगेको टमाटरले उपभोक्तामात्रै होइन, सरकारले नै संसदमा जवाफ दिनुपरेको छ।

बिहीबार भारतीय संसद(लोकसभा)मा सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिँदै त्यहाँकी केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले टमाटरको अभाव पूर्ति गर्नका लागि नेपालबाट समेत आयत गर्न लागिएको जानकारी दिइन्।

उनले नेपालबाट पहिलो खेप टमाटरले सीमा कटिसकेको र शुक्रबार लखनउ, वाराणसी तथा कानपुरलगायतका स्थानहरूमा पुग्ने बताइन्। त्यहाँबाट त्यो टमाटर दिल्ली पुग्नेछ।

तर लखनउ पुग्ने महेन्द्रनगर, नेपालगन्ज, भैरहवा, कृष्णनगरलगायतका भन्सार नाकाबाट अहिलेसम्म टमाटर भारत गएको छैन।

वीरगञ्ज भन्सारबाट भने यसअघिदेखि नै टमाटर भारत गइरहेको छ। त्यहाँको भन्सार कार्यालयका अनुसार अहिले दैनिक दश टनसम्म टमाटर भारतीय व्यापारीहरूले लगिरहेका छन्।

‘हाम्रोबाट हरेक दिनजसो दश टनजति टमाटर भारततिर जान्छ। यसअघि पनि गइरहेको थियो। अब त बढ्छ होला’ वीरगन्ज भन्सार कार्यालयका भन्सार प्रशासक डिल्लीराम पन्थीले भने ‘व्यापारीहरू आफैँले भन्सार तिरेर लगिरहेका छन्।’

भारतले नेपाली सीमानाकाका सबै भन्सार कार्यालयहरूलाई अब आयात खुलाइएको भनेर पत्र पठाइसकेको छ। कृष्णनगर भन्सारको बाटो हुँदै त्यहाँका स्थानीय व्यापारीले पनि अब भारततिर टमाटर पठाउने तयारी गरिरहेका छन्।

वित्तमन्त्री सीतारमणले टमाटरको मूल्य केहीदिनमै १०० रुपैयाँभन्दा मुनि झर्ने दाबी पनि गरेकी छिन्। त्यसका लागि नेपालबाट आयात सुरु गरिएको उनले सांसदहरूलाई जानकारी गराएकी छिन्।

भारतले नेपालबाट टमाटर लैजान लागेपछि नेपालले पनि त्यहाँबाट धान चामल माग्दै पत्र लेखेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आगामी दिनमा अभाव हुन नदिन र खाद्यान्नको मूल्यवृद्धि रोक्नका लागि नेपालले भारतसँग धान, चामल र चिनी किन्न लागेको छ।

मन्त्रालयका अनुसार करिब १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनीका लागि नेपालले भारत सरकारलाई अनुरोध पत्र पठाइसकेको छ।

नेपालमा भर्खरमात्रै धान रोपेर सकिँदैछ। यो तयार हुन अझै केही महिना लाग्छ। अब ठूला पर्वहरूको सुरुवात पनि हुँदैछ। पर्वहरूमा खाद्यान्नको अभाव टार्न सरकारले भारतसँग धानचामल किनेर संग्रह गर्न लागेको हो।

टमाटरसँग साटफेर

भारतमा टमाटरको भाउ आकाशिएपछि खुला सीमाना हुँदै नेपालबाट भारतीय बजारमा टमाटरको तस्करी भइरहेको थियो। ठूलो परिणामका टमाटरहरू भारतीय भन्सारले समाए पनि सामान्य परिमाणलाई बेवास्ता गर्दै आएको थियो।

तर कतिपय सीमाना गाँसिएका ठाउँमा भारतीयहरू नेपाली बजारमै आएर टमाटर किनेर लैजान्थे। त्यसलाई रोक्नका लागि भारतीय सरकारले वैधानिकरुपमै नेपालबाट टमाटर भित्र्याउने निर्णय गरेको हो।

फल लाग्नेबेला र तयार भइसकेका टमाटर भारतमा भएको वर्षाले नष्ट गरिदिएको थियो। त्यसपछि त्यहाँको बजारमा टमाटरको अभाव चुलियो।

भारतीय प्रतिबन्ध हुँदाहुँदै पनि व्यापारीहरूले नेपाली सिमनाबाट टमाटर भित्र्याइरहेका थिए। तर अब सरकारले आफ्नै पहलमा टमाटर लैजान थालेको हो।

नेपालकै उत्पादनले नेपाली उपभोक्ताको माग थेग्दैन। त्यसमाथि भारतमा पनि टमाटरको अभाव र मूल्यवृद्धि भएपछि नेपालको टमाटर भारततिर तस्करी हुन थाल्यो। त्यसले नेपाली बजारमा पनि टमाटरको मूल्य ह्वात्तै बढेको छ।

केही महिनाअघि ५ रुपैयाँमा नबिकेको भनेर किसानहरूले सडकभरि छरेको टमाटरको मूल्य एकाएक आकाशिएको छ। नेपाली बजारमा एक किलो टमाटरकै अहिले २०० रुपैयाँभन्दा धेरै पर्ने भइसकेको छ।

प्रतिकिलो पाँच रुपैँयामा समेत बिक्री नभएपछि डेढ महिनाअघि मात्र कृषकहरुले करिब ६ हजार हेक्टर क्षेत्रफलमा लगाएका टमाटर सडकमा फालेर विरोध जनाएका थिए।

प्रतिकिलो ५० रुपैयाँमा पाइने कालिमाटी तरकारी बजारमा नै १ सय ५० देखि १ सय ७० रुपैँयासम्म बिक्री भइरहेको छ। बाहिर बजारमा २०० भन्दा धेरै।

कालिमाटी बजार विकास समितिको मूल्यसूचीअनुसार गत वर्ष साउनको तुलतनामा यस वर्षको साउनमा कतिपय तरकारीको मूल्य २९६ प्रतिशतले वृद्धि भएको छ। कालीमाटी तरकारी बजारको मूल्यसूची अनुसार हाल सबैभन्दा मूल्यवृद्धि टमाटरमा भएको छ। 

प्रकाशित मिति: : 2023-08-11 16:36:00

प्रतिकृया दिनुहोस्