दुई ठूला डिजिटल वालेट एक हुँदै, आईएमई पे र खल्तीलाई ‘मर्जर’ स्वीकृती

चलनचल्तीका दुई प्रख्यात डिजिटल वालेटहरू अब ‘मर्ज’ हुने भएका छन्। नेपालकै पहिलो इलेक्ट्रिक भुक्तानी सेवा प्रदायक आईएमई पे र खल्ती वालेटबीच हुने मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृती दिएको छ। 

डिजिटल भुक्तानी सेवाको इतिहासमा नेपालमा पहिलोपटक दुई ठूला प्लेटफर्महरू एउटै हुन लागेका हुन्। दुई वालेटका लागि मातृ कम्पनीको नाम आईएमई खल्ती लिमिटेड हुनेछ। रजिस्टर्ड कार्यालय काठमाडौं पानीपोखरीमा राख्ने सहमति पनि भएको छ। संयुक्त कारोबारका लागि भने डिजिटल वालेट एपको नाम भने खल्ती नै चलनचल्तीमा रहनेछ। खल्तीका अहिले पनि ५० लाखभन्दा धेरै आधिकारिक र सक्रिय प्रयोगकर्ताहरू छ। यो नेपालकै ठूलो चुक्ता पूँजी भएको वालेट पनि हो। 

आगामी तीन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन सक्नेगरी काम सुरु भइसकेको छ। यो तीन महिनाभरि भने दुबै वालेटहरू सञ्चालनमा रहनेछन्। प्रयोगकर्ताका सबै अकाउन्ट र विवरणहरू एकीकृत भएपछि एउटै एपबाट सबै कारोबार हुनेछ। 

नयाँ एपमा दुबैमा भएका फिचरहरू समावेश हुनेछन्। तीन महिनापछि नयाँ ग्राहकले सिधै खल्तीमात्रै डाउनलोड गरेर विवरण भरी त्यसलाई प्रयोग गर्नसक्नेछन्। 

एकीकृत भएपछि यो डिजिटल भुक्तानी प्रणाली आगामी दिनमा व्यापक रूपमा प्रयोग हुने मात्र नभई सबैभन्दा विश्वासिलो भुक्तानी प्रणालीका रूपमा स्थापित हुने कम्पनीको विश्वास छ।

डिजिटल भुक्तानी बिस्तारै दैनिक जीवनको एक हिस्सा बन्दै गरेको वर्तमान समयमा आईएमई पे र खल्तीबीचको संयुक्त कारोबार नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा सावित हुने विश्वास पनि कम्पनीले गरेको छ। 

खल्ती वालेटले आगामी दिनमा प्रयोगकर्तालाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्ने छ। एपमार्फत प्रयोगकर्ताले विश्वको कुनै पनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एपमार्फत नै बैंक खाता खोल्न, भिसा कार्ड प्राप्त गर्न सक्नेछन्।

साथै, भविष्यमा ऋण तथा अन्य सुविधाको पहुँच विस्तार पनि खल्ती एपमै हुनेछ । यसरी खल्ती एपले फिनटेक प्रणालीलाई नयाँ र बलियो निर्देशन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
 

प्रकाशित मिति: : 2025-06-19 10:31:00

प्रतिकृया दिनुहोस्