२०७७ असाेज १५ देखि बेपत्ता ट्याक्टर ड्राइभरले न्याय नपाएको भन्दै बन्द गरिएको कर्णाली राजमार्गकाे दुईदेखि खुल्न सकेकाे छैन। ट्याक्टर चालक धन गिरी बेपत्ता भएकाे सम्बन्धमा जुम्ला जिल्ला अदालत र उच्च अदालतको फैसला न्योचित नभएको विरोधमा जुम्ला चन्दननाथ नगरपालिका–९ वयालकाटीय गाउँका स्थानीयले बिहीबार बिहान ४ बजेदेखि नै सडक बन्द गरेका हुन।
उनीहरूले सडकमा विद्युत्का पोल र ढुंगाको पर्खाल लगाएर सडक बन्द गरेका छन्। बन्द खुलाउन जिल्ला सुरक्षा समितिको टोली वयालकाटीया गाउँमा पुगेर छलफल गरेपनि बेपत्ता युवाका आफन्तकाे माग पूरा गर्न नसकिने स्थिति बनेपछिसडक खुलाउन नसकिएकाेप्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए।
'जिल्लाबाट प्रमुख जिल्ला अधिकारी, डिएसपी आए, वार्ता भयो। तरवार्ता बिनानिष्कर्ष टुंगियो,' वयालकाटीयाका तुलराज गिरीले भने,'जबसम्म पीडितका मागहरु पूरा हुँदैनन्। तबसम्म आन्दोलन रोकिँदैन। सडक खुल्दैन।'
बिहीबार बिहानैदेखि सडक बन्द गरेकाले सुर्खेत–नेपालगन्ज छुट्ने सवारीसाधन रोकिँदा यात्रुहरू अलपत्र परेका छन्। बिरामी बोक्ने एम्बुलेन्सदेखि स्कुल बसहरू चल्न पाएका छैनन् भने बिहानैदेखि बन्द गराएको क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छ।
२०७७ असोज १५ गते वयालकाटीया गाउँका ट्रयाक्टर चालक धन गिरी गुठीचौर गाउँपालिकाको लामाखरबाट बेपत्ता भएका थिए। तीन वर्षदेखि उनी बेपत्ता भएकाले खोजबिनको माग छ। धन गिरीका आफन्तहरुले प्रहरी कार्यालयदेखि नै नक्कली मिसिल खडा गरेर आफूहरुलाई जिल्ला र उच्च अदालतमा हराएको आरोप लगाएका छन्।
ट्रयाक्टर चालक गिरी बेपत्ता भइसकेपछि आफन्तहरूले चार जनाविरूद्ध किटान जाहेरी दिएका थिए। उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानको लागि २५ दिन हिरासतमा राखेको थियो। पछि अदालतले धरौटीमा छाडेको थियो। अनुसन्धानमा पक्राउ परेकाहरूले आफूहरूले २ सय मिटर लखेटेको स्वीकारेका थिए।
२०७८ जेठ ७ गते चन्दननाथ–९ स्थित नाइकाटापुमा बेवारिसे शव भेटियो। शव कुकुरले आधा खाइसकेका थिए। उचाइ र शरीरको बनावट मिलेपछि आफन्तहरूले शव घरमा ल्याए। प्रहरीले डीएनए परीक्षण गर्नुपर्ने भन्दै अस्पताल लिएको थियो। अहिलेसम्म न डीएनए रिपोर्ट आयो, न त बेपत्ता भएको धन नै भेटिए। डीएनए परीक्षणको रिपोर्ट प्रहरीले प्रतिविदनमा समावेश नगरी मुद्धा अगाडी बढाएको थियो। डीएनए परीक्षणका लागि लिएको कंकालसमेत हराएको आफन्तको दाबी छ।
डीएनए परीक्षण रिपोर्टबिनै २०७९ चैत १२ गते जिल्ला अदालतले उनीहरूको विपक्षमा फैसला गर्यो। उनीहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दर्ता गरे। तर उच्चले पनि २०८० असार ३ गते डीएनए परीक्षणको रिपोर्ट नभएको भन्दै जिल्ला अदालतको फैसला सदर गरेको छ। डीएनए परीक्षण रिपोर्टबिनै फैसला गर्ने न्यायाधीशहरूलाई अनुसन्धानको दायरामा ल्याउन आफन्तले माग गरेका छन्।
उनीहरुले मृतक परिवारलाई राहत र दोषीलाई कारबाही नगर्दासम्म सडक नखुल्ने अडान कायमै राखेका छन्। यता जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यमबहादुर बुढामगरले दिनभर बसेको वार्ता निष्कर्षमा नपुगेकोले सडक खुल्ने सम्भावना नरहेको बताए।