याे विज्ञान, प्रविधिको युग हो। विश्व एक घर हो। हामी विश्वभरिका मानिस एकै घरका परिवार भएका छौँ। हामी जहाँ, जुन ठाउँ भए पनि एउटा सेलफोन हातमा लिएर वा स्मार्ट फोनको सहायताले दुरीले जतिसुकै टाढा भए पनि विज्ञान र प्रविधिले आफ्नै सामु भौतिक रूपमा उपस्थित भए सरह बनाइदिएको छ। यसमा हामीले गर्व गर्नैपर्छ।
तर, बिडम्वना हामी नेपालीलाई गर्व गर्न बाहेक के नै छ र! हामी आफैँले केही थप विकास गर्न सकेका छैनौँ। यो प्रविधि जसले जुन देशहरूले उन्नत प्रयोग र विकसित गर्दै गइरहेका छन्, त्यसका लागि हामीले कमसेकम धन्यवाद दिने साहस गर्नुपर्छ।
किनकी आज विश्वभरि दिनहुँ जसो हाम्रा दाजुभाइ, दिदीबहिनीहरु श्रमबजारमा गएका छन् भनाैँ या बेचिएका छन्। ती बेचिएका दाजुभाइ, दिदीबहिनीसँग माया, आँसु, हाँसो, रिस, घृणा जेजे भएपनि साट्न पाएका छौँ।
नेपालको स्रोतसाधान र जनशक्तिलाई सही ढंगले प्रयोग व्यवस्थापन र परिचालन गर्न सके हामीलाई विकसित हुन कसैले रोक्न सक्ने स्थिति थिएन।
तर, नेपालको आर्थिक, बाैद्धिक तथा प्राविधिक शक्तिलाई सही सदुपयोग गर्न सक्ने क्षमता नभएका नेतृत्व वा शासक वर्गका कारण हामी आफ्नो जीवनयापन तथा दैनिकी चलाउनकै लागि भएपनि विदेशी भूमि हाम्रो गन्तव्य बन्न पुगेको छ।
हुँदाहुँदा वैदेशिक रोजगार आजको समयमा हामी नेपालीको बाध्यताको उपज भएको छ। देशको आर्थिक र सामाजिक विकासको प्रमुख कारकतत्व बनेको छ। अझै केही वर्ष मुख्य आम्दानीको स्रोत वैदेशिक रोजगारी हुने देखिन्छ।
आजका दिनसम्म पनि वैदेशिक रोजगारलाई केवल विकल्पको रूपमा राखेर सरकारले देशभित्रै रोजगारका अवसरहरू दिन सकेको छैन। जसका कारण वैदेशिक रोजगारीका लागि युवा जनशक्तिको पलायन निरन्तर छ। अपवादबाहेक देशको नीतिनिर्माणमा युवा स्वरोजगार, रोजगार, उद्यम आदि आउनुपर्ने ठाउँमा भिसा राजनीति हावी भएको छ। त्यसको ज्वलन्त उदाहरण हाे- फ्रि भिसा फ्रि टिकट। जुन नेताका चुनावी एजेन्डा बनेका छन्।
नयाँ, पुराना सबै दलका नेताको वक्तव्य बाजी नै काफी छ। यसखाले भिसा राजनीतिले नेपालको अर्थतन्त्र कहाँ पुग्ला? हामी पनि भिसा पाएकोमा गर्व गर्छौं। यसले नेपाली स्वाभिमान कहाँ रहला?
वैदेशिक रोजगारमा जाने १८ देखि ५५ सम्मको उमेर समूह अत्याधिक छ। यो ठूलो पङ्क्तिलाई उपयोग गर्न छोडेर, देशको भूगोल सुहाउँदो उत्पादनमा लागाउन छोडेर, देशको अर्थतन्त्रलाई माथि उठाउने योजना जलविद्युत उत्पादन, उद्योगधन्दाको विकास गरेर, पर्यटनको विकास लगाएको समृद्धिको बाटोमा लगाउनको साटो हामी दिनानुदिन थप अन्य मुलुकहरुसँग श्रम स्वीकृति लिँदै यहाँको यो उमेर समूहलाई बेच्ने विभिन्न नामधारी पसलहरु थापेर बेचिरहेका छौं।
एउटा पुस्ताले हिँड्नुपर्ने बाटो नहिँडी अन्यत्र हिँड्यो भने दशकौँ वर्ष पछाडि पर्छ भन्ने राम्रो उदाहरण २०५२ को जनयुद्धले देखाएको छ। त्यो एक पुस्ता राजनीतिक परिवर्तनको आन्दोलनमा लाग्यो। त्यो एक पुस्ताको असर देशको जनशक्ति पलायनमा कसरी प्रभाव परेको थियो र छ भन्ने कुरा आँखा अगाडि छर्लङ्ग छ। अझै यो पुस्ता पनि हिँड्नुपर्ने बाटो नहिँडी अन्यत्र हिँड्यो, हिँडायौं भने हामी विश्व बजारमा ५०औं वर्ष पछाडि धकेलिनेछौँ।
आजको बजार यान्त्रिकिकरणमा गैसक्यो। सयौँ किसानले गर्ने काम एक हलोले, हजारौँ मजदुरले गर्ने काम एक मेसिनले, हजारौँ उद्योग मेसिनमा गर्ने मजदुरको काम एक रोबर्टले गर्ने युगमा विकसित मुलुक पुगिसके, पुग्दैछन्। त्यसबेला हाम्रो जनशक्ति कहाँ जाला? के त्यो प्रविधिसँग भिड्न सक्ने जनशक्ति हाम्रो देशले तयार पारेको छ? पार्ने रणनीति लिएको छ?
यदि त्यसो हुने होइन भने त्यो युगमा हामी जस्ता अविकसित देशका नागरिक भोकभोकै मर्नुको विकल्प हुनेछैन। त्योबेलासम्म साम्राज्यवादीले हाम्रो श्रम, सीप दुबै खाइसक्ने छन्।
त्यसैले स्वदेशमा रोजगारीको सृजना गरेर वैदेशिक रोजगारमा गएकालाई ल्याउनु पहिलो काम हो। साथसाथै विश्वबजार आधुनिक विज्ञान र प्रविधिसँग लड्न, जुध्न र प्रयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्नु अबको मुख्य बाटो हो।