पर्वतीय पथ प्रदर्शक नेपाल (मोगान)द्वारा आयोजित ‘मोबाइल फोटोग्राफी’ तालिम सम्पन्न भएको छ। पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरूको क्षमता विकास गर्ने उद्देश्यसहित शुक्रबारदेखि सुरु गरिएकाे तालिममा ६० जना पर्यटन मजदुरहरू सहभागी थिए।
पर्यटन दूत मानिने पर्यटन श्रमिकहरू पाहुना लिएर देशका सम्पूर्ण भू–भागमा पूग्ने भएकाेले उनीहरू त्यसक्रममा देखे/भाेगेका रहनसहन, परम्परा प्रकृतिकाे साैन्दर्यता तस्बिरमार्फत् संसारभर पुर्याउन भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएकाे माेगानका अध्यक्ष सञ्जीव गुरुङले बताए। तालिमले पर्यटन मजदुरहरूलाई सुन्दर तस्बिर खिच्न र प्रवर्द्धन गर्ने प्रेरित गर्ने विश्वास लिएकाे अध्यक्ष गरुङकाे भनाइ छ।
पर्यटन प्रवर्द्धनको लागि तस्बिर एक सशक्त माध्यम भएकाले पर्यटन क्षेत्रमा सबैभन्दा बढी सक्रिय हुने पर्यटन मजदुरहरूलाइ माेबाइल फाेटाेग्राफीसम्बन्धी ज्ञान हुन अत्यावश्यक ठानेर तालिम सञ्चालन गरेकाे मोगानका महसचिव रामकाजी तिवारी ‘प्रयास’ले बताए।
कार्यक्रममा बाेल्दै नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटन बोर्ड र अन्य सम्बन्धित सरोकारवालाहरूको क्षमता अभिवृद्धि गरी कोभिड- १९ पछिको राष्ट्रिय पर्यटन रिकभरी रणनीतिको तर्जुमामा सहयोग गर्नेलगायत रिकभरी प्रयासहरूलाई तीव्रता दिएको बताए। ‘सहभागी पर्यटन क्षेत्रमा कार्यरत प्रशिक्षार्थीहरूले अगामी दिनमा पर्यटक घुमाउने क्रममा सुन्दर तस्बिरहरू खिचेर नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ,’ निर्देशक लामिछानले प्रशिक्षार्थीहरूलाई बधाई दिँदै भने।
सस्टेनेबल टुरिजम फर लाइभलिहुड रिकभरी प्राेजेक्ट (एसटीएलआरपी)का निर्देशक धर्मराज दवाडीले परियोजनाले छोटो अवधिको रोजगारी प्रदान गरी सबैभन्दा प्रभावित कामदारहरूको जीविकोपार्जनमा सहयोग पुर्याएर पर्यटन क्षेत्रको पुन:उत्थानमा योगदान पुर्याउने लक्ष्य राखेकाे बताए।
यसैअनुरुप एसटीएलआरपीले पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरूलाई विभिन्न पर्यटन बोर्डको सहकार्यमा विभिन्न सीप अभिवृद्धि तालिमहरूमा सहयोग गर्दै आएको छ। ‘मोबाइल फोटोग्राफी तालिमले श्रमिकहरूको सीपको क्षमता अभिवृद्धि गर्नेछ,’ प्रमाणपत्र वितरण कार्यक्रममा उनले भने। उनले अगामी दिनमा पनि अन्य तालिमको लागि मोगानसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा प्रशिक्षार्थी पेमा शेर्पाले तालिमको अनुभव बाँडेका थिए। उनले तालिमबाट निकै उपलब्धी हासिल गरेको र पहिला जे पायाे त्यही फाेटाे खिचेकाेमा अब भने धेरै ज्ञान बटुलेकाे बताए। अबदेखि यात्रामा निस्कँदा आकर्षक तस्बिर खिचेर सामाजिक सञ्जालमार्फत् सबैमाझ पुर्याउने उनकाे प्रतिबद्धता छ।
नेपाल पर्यटन बोर्डको हलमा आयोजना गरिएको समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। तीनदिने मोबाइल फोटोग्राफी तालिममा प्रशिक्षक तथा फोटोग्राफर नवीनबाबु गुरुङ र मनिष अर्यालले फोटोग्राफीसम्बन्धी परिचय, खिच्ने सैद्धान्तिक र प्रयोगात्मक ज्ञानहरू बाँडेका थिए।
मोगानको आयोजनामा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को सहयोग तथा नेपाल पर्यटन बोर्ड (एनटिबी)सँगको सहकार्यमा तालिम सम्पन्न भएको हो।