‘ब्ल्याक सी’मा अमेरिकी ‘रिपर एमक्यू–९’ सैन्य ड्रोनले ‘रूसी राज्यको सीमा प्रवेश गर्न नदिन’ सुखोई–३० लडाकू विमानको प्रयोग गरिएको र अमेरिकी ड्रोनलाई खसालेको रूसले शनिबार जनाएको छ।
रूसी रक्षा मन्त्रालयले भनेको छ, “रूसी लडाकू विमान नजिक आइपुग्दा ‘विदेशी जासुसी ड्रोन’ले सीमाबाट यु–टर्न लिएको थियो।” उक्त ड्रोन अमेरिकी वायु सेनाको भएको मन्त्रालयले जनाएको छ।
‘रूसी विमान सकुशल आफ्नो एयरबेसमा फर्किएको छ, सीमाको कुनै उल्लङ्घन भएको छैन,’ विज्ञप्तिमा भनिएको छ। मस्कोले युक्रेनमा आफ्नो आक्रमणलाई अघि बढाइरहँदा हालैका महिनाहरूमा ‘ब्ल्याक सी’मा र बाल्टिक सागरमा रूसी र पश्चिमी विमानहरूसँग सम्बन्धित घटनाहरू बढेका छन्।
मार्चको मध्यमा ‘ब्ल्याक सी’मा रूसी लडाकू विमानसँग ठोक्किएर अर्को अमेरिकी रिपर ड्रोन दुर्घटनाग्रस्त भएपछि मस्को र वासिङ्टनबीच तनाव बढेको थियो।
मस्कोले गत मे महिनामा बाल्टिक सागरमाथि चार वटा अमेरिकी रणनीतिक बमवर्षक विमानलाई एक हप्ताको अन्तरालमा दुई छुट्टाछुट्टै घटनामा रोकेको बताएको थियो। रूसले फ्रान्सेली, जर्मन, पोलिश र बेलायती विमानलाई पनि रोकेको जनाएको छ।