बेला-बेला ‘नेतृत्व परिवर्तन’ र आफ्नो ‘अन्तिम इनिङ’को कुरा सुनाएर नेता कार्यकर्तालाई भावनामा भुलाइरहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंले फेरि विशेष महाधिवेशनको प्रस्ताव गरेका छन्।
काठमाडौँमा जारी चौंथो केन्द्रीय पूर्ण बैठकका क्रममा उनले ‘अलिखित’ राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यी र यस्ता धेरै प्रस्तावहरू राखेका छन्। जहाँ पार्टीको पुनर्संरचनादेखि, पुर्नजागरण र शुदृढिकरणसम्मका योजना र अभियानहरू जोडिएका छन्।
बैठकको पहिलो दिन नै उनले सुनाएको त्यो प्रतिवेदनमाथि नेता कार्यकर्ताहरूले टिप्पणी, सुझाव र आलोचना गरिरहेका छन्। यो क्रम औपचारिक रूपमा आइतबारसम्मै हुनेछ।
नेतृत्व फेर्ने कुरा
४० वर्षदेखि पार्टी जीवनका हरेक कालखण्डको नेतृत्व प्रचण्डले नै गर्दै आएका छन्। यो लामो यात्राका क्रममा ‘प्रचण्ड’ नेतृत्वका बारेमा अनेक कुराहरू आएका छन्। उनले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बहस संदसीय राजनीतिमा आएपछि झन धेरै बाक्लिएको छ।
यो कुरा प्रचण्डले सुनिरहेका छन्। मनन् पनि गरेको जस्तो गर्छन्। तर प्रचण्ड आफैंले प्रस्ताव गर्दा सित्तिमित्ति अघि कोही सर्दैनन्। यसबेला बल्ल उनको ‘उत्तराधिकारी’ को हुने भन्ने प्रतिस्पर्धा माओवादीभित्र चल्न थालेको छ। प्रचण्ड आफैंले भनिरहेका छन्, ‘जीवनको उत्तरार्द्धमा छु…।’
२०७८ सालको पुस अन्तिममा नेकपा माओवादी केन्द्र ‘राष्ट्रिय सम्मेलन’ गर्ने तयारी गरेको थियो। तर, त्यो बेला ‘नेकपा’बाट फेरि आफ्नैं हैसियतमा आएको माओवादीले भर्खर अरू साना पार्टीहरूलाई पनि मिलाएको थियो।
तोकिएको समयमा अधिवेशन नगरेको माओवादीलाई त्यो बेला निर्वाचन आयोगले पनि वैधानिकतामाथि प्रश्नहरू उठाइरहेको थियो। त्यसैले रातारात त्यो ‘राष्ट्रिय सम्मेलन’लाई उसले ‘महाधिवेशन’को नाम दियो। र, सम्मेलनस्थलमा झुन्ड्याइएका ब्यानरहरू बदल्न हम्मेहम्मे भयो।
त्यही महाधिवेशनले प्रचण्डलाई फेरि माओवादीको अध्यक्षका लागि अनुमोदन गर्यो। एक तहका नेताहरूले त्यो महाधिवेशनलाई ‘प्रचण्ड अनुमोदन’को कर्मकाण्डमात्रै भएको टिप्पणी गरे।
त्यसबेला प्रचण्डले आफू जीवनको उत्तरार्द्धमा उभिएको भन्दै आफ्ना लागि ‘अन्तिम अवसर’ भनेका थिए। र, त्यसपछि लगत्तै अर्को वर्ष भएको चुनावका बेला उनले नेपाली कांग्रेसलगायतका दलहरूसँग गठबन्धन गरे। अनि प्रधानमन्त्री बन्न फेरि दौडधुप गर्न थाले।
काँग्रेससँग कुरा नमिलेपछि फेरि उनी एमालेसँग मिल्न गए र केपी ओलीको प्रस्ताव र समर्थनमा प्रधानमन्त्री भए। नेपाली कांग्रेसले प्रधानमन्त्रीको दाबी नछोडेपछि पहिलो पार्टी भए पनि कांग्रेस केही समय ‘प्रतिपक्षमा’ बस्यो। त्यसको एक महिना पनि नबित्दै फेरि प्रचण्डले एमालेसँग सम्बन्ध तोड्दै कांग्रेससँग मिले। र, एमाले प्रतिपक्षमा गयो।
हठात् परिवर्तन भइरहेको यो राजनीतिक परिवेशलाई प्रचण्डले अहिलेसम्म सम्हाल्दै आएका छन्। उनले गरेको ‘भद्र सहमति’अनुसार अबका केही महिनापछि उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री छोड्नुपर्नेछ। र, त्यसपछि माधव नेपाल पनि प्रधानमन्त्री बन्नेछन्।
र, सरकार नेतृत्वको यो अवसरलाई प्रचण्डले आफ्नो राजनीतिक जीवनको ‘अन्तिम इनिङ’ पनि भनेका छन्।
२०७८ सालको त्यही महाधिवेशनमै प्रचण्डले चाँडै नै ‘विशेष महाधिवेशन’को प्रस्ताव गरेका थिए। अहिले चलिरहेको चौंथो पूर्ण बैठकमा त्यही आधारमा केन्द्रीय सदस्यहरूले ‘नेतृत्व परिवर्तन’को कुरा उठाएका छन्। प्रचण्ड आफैंले यो बैठकमा पनि त्यो प्रस्ताव दोहोर्याएका छन्।
‘नेतृत्व परिवर्तनका कुराहरू उठेका छन्। कसैले जोडतोडले उठाएका छन्, कतिले त्यो विकल्पमा छलफल र बहस हुनुपर्ने पनि भनेका छन्’ केन्द्रीय सदस्य लक्ष्मीप्रसाद चौलागाईंले भनेका छन् ‘तर अझै पनि प्रचण्डको विकल्प हो कि होइन। उहाँले जसरी देशीय राजनीति अनि अन्तर्राष्ट्रिय राजनीतिक परिवेशलाई नेतृत्व गर्न अरूले सक्छ कि सक्दैन भन्ने कुरा पनि उत्तिकै उठेको छ।’
उनकाअनुसार प्रचण्ड आफैंले पनि आफ्नो उमेरका विषयहरू उठाइरहेका छन्। अब जीवनको उत्तरार्द्धमा पुगेको भनिरहेका छन्।
‘तर यसको अर्थ अहिले नै प्रचण्डले हस्तान्तरण गर्नुपर्छ वा उनी हट्नुपर्छ भनेको होइन नि!’ उनी भन्छन् ‘योसँगै हामीबीचमा अर्को पनि बहस उठेको छ, त्यो के भने उमेरको उत्तरार्द्धमा पुगे पनि उहाँको काम गर्ने शैली र नेतृत्व क्षमता कुनै युवा जोशभन्दा कम छैन है भन्ने पनि छ। यी सबै कुरामा हामीले बहस गरिरहेका छौं।’
उनकै भाषामा अहिलेसम्म अर्को तहको कुनै पनि ‘नयाँ नेता’ नेतृत्व परिवर्तनको औपचारिक प्रस्ताव वा उसको आफ्नै भिजन लिएर आएको छैन।
‘एक समय आउला, कुनै न कुनै दिन त परिवर्तन हुन्छ नै। सधै एउटै व्यक्तिको नेतृत्व हुँदैन। परिवर्तन अवश्यंभावी छ’ चौलागाइ भन्छन् ‘तर कोही त अघि सर्नुपर्यो। कसैले त्यो प्रस्ताव लिएर आउनुपर्यो। उसको भिजन र नेतृत्वको प्रस्ताव साँच्चिकै पार्टी जीवनलाई हाँक्नेखालको लाग्यो भने हामी सबैले उसैलाई नेतृत्व दिनुपर्छ।’
ओरालो यात्रा
जनयुद्ध लडेको माओवादी। युद्धको त्यो ज्वाजल्य संसदीय राजनीतिको ‘सडकयात्रा’मा पनि उस्तै थियो। कसैलाई फेरि माओवादी जंगल फर्किने हो किन भन्ने डर थियो। कसैलाई अब चाहिँ ‘माओवादीले केही गर्छ है’ भन्ने आश थियो।
यी भय, आशा र अपेक्षाहरू माओवादीको मतमा परिणत भए।
२०६४ सालको पहिलो संविधानसभाको चुनावमा माओवादीलाई जनताले अप्रत्याशित मत दिए। अनि संसदीय राजनीतिको तालचापी औपचारिकरूपमा माओवादीकै हातमा सुम्पिए।
तर, त्यसलाई उसले थेग्न सकेन।
२०६४ देखि २०७९ सालसम्मको यो यात्रामा माओवादी ओरालीमात्रै लाग्यो। माथि उठ्ने अनेक उसका प्रयासहरू विफलै रहे।
माओवादीको यो ओराली यात्राका बारेमा पनि बैठकमा केन्द्रीय सदस्यहरूले बहस गरेका छन्।
‘हामी संसदीय व्यवस्थामा जानै हुँदैनथ्यो। यही यात्राले हामीलाई ओरालो झारिरहेको छ। माओवादी पार्टी अब ओरालो यात्रामा छ’ केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भनेका छन् ‘विश्वको कुनै पनि क्रान्तिकारी आन्दोलन ओरालो लागेपछि कहिल्यै माथि उठेको इतिहास छैन।’
उनले पार्टी र नेतृत्वले बाटो बिराइरहेको र ‘एमालेकरण’ दाग मेट्न अब नलाग्ने हो भने पार्टीको भविष्य झन अन्योल र संकटग्रस्त हुने बताए।
‘वाम आन्दोलन संकटमा छ। हामीले आफ्नो बाटो छोडिरहेका छौँ। चौंथो महाधिवेशनका धारहरू संकटमा छन्’ उनी भन्छन् ‘अब पनि हामी नसच्चिए त्यो ओरालो यात्राबाट माथि उठ्न सक्नेछैनौं।’
अर्का केन्द्रीय सदस्य हिमाल शर्माले माओवादी पार्टीभित्र कार्यकर्तालाई भोटबैंक र कार्यकर्ताकै दर्जामा मात्रै सिमित राखेको भन्दै यसले पार्टी माथि उठ्न नसक्ने बताउँछन्।
‘हामीले संगठन निमार्ण गर्न त भन्छौं तर नेतृत्वले कार्यकर्तालाई अधिकार दिनुपर्दैन ? अब आउने दिनमा विधान परिमार्जन गरेर संगठन निमार्णको स्वरुप नै बदल्नुपर्छ। अब हरेक कार्यकर्तालाई आफू र आफ्नो नेतृत्व चुन्ने अधिकार हुनुपर्छ। अनिमात्रै तल्लो तहदेखि नै नेतृत्व क्षमता बढ्छ। नत्र यही तरिकाबाट जाने हो पार्टी सिद्धिन्छ।’
बैठकको सुरुवातमै पार्टी अध्यक्ष प्रचण्ड आफैंले भनेका थिए ‘हाम्रो पार्टी पार्टीजस्तो भइराखेको छैन’ त्यसको प्रस्ट सन्देश थियो ‘माओवादी अब माओवादीजस्तो रहेन।’
यो उनको स्विकारोक्ति पनि थियो कि नेतृत्व पक्कै यहीँनेर चुकेको छ। संगठन बनाउन चुकेको छ। काम गर्न चुकुको छ।
‘हो, हामी चुकेका छौं। त्यसैले हरेक केन्द्रीय पदाधिकारी अनि केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरौं भनेका छौं’ केन्द्रीय सदस्य चौलागाइँलाई पनि यही लागेको छ ‘काठमाडौं वा अरु सहरमात्रै बसेर अब संगठन चल्दैन। पार्टी त झन् चल्दै चल्दैन। त्यसैले पनि जनताको घर-घर पुग्नका लागि हामीले अभियान चलाउने भएका छौं। त्यो प्रस्ताव अध्यक्षज्यू आफैंले राख्नुभएको हो।’
माओवादी नेतृत्वलाई सब थाहा छ, पार्टी कमजोर र झन् झन् कमजोर हुँदै गइरहेको छ। यो ओरालो यात्राको जिम्मेवारी अब पूरै नेतृत्वले लिएर नसच्चिएसम्म साँच्चिकै माओवादी बन्न सक्दैन भन्ने सबलाई लागेको छ।
‘सबले गाउँ भुलेका छन्। गाउँ भुलेर सहरकेन्द्रित हुँदा पार्टी बिग्रिएको हो। कमजोर भएको हो। हामी पार्टी गठन कि विघटन भन्ने विन्दुमा पुगिसकेका छौं। हामी बिग्रेका छौं, दोषी सबै छौं। अध्यक्ष र अरू पदाधीकारी सबैले आ-आफ्नो हैसियतमा यो कमजोरीको जिम्मेवारी लिनुपर्छ’ माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा भन्छन्, ‘हामी जनतामा जान सकेका छैनौं, गाउँ भुल्यौं। पार्टी सहरकेन्द्रित भयो। माओवादीप्रति जनताको विश्वास जगाउन फेरि एकपटक जनताकै माझमा जान जरुरी छ।’