माओवादी, पार्टीजस्तो भयो न प्रचण्ड, प्रचण्डजस्ता

BreaknLinks
BreaknLinks

पाटनको एउटा अध्याँरो छिँडीबाट ‘जनयुद्ध’को उज्यालो देखेका पुष्पकमल दाहाल प्रचण्डलाई आजभोलि लाग्छ, उज्यालोको त्यो क्षितिज पुग्ने बाटाहरू धेरै अलमलिएका छन्।

उनको आफ्नै राजनीतिक जीवनको बाटो खलबलिएको छ। ४० वर्षदेखि सिङ्गो पार्टी र जनयुद्धको भारी बोकिरहेका प्रचण्डको त्यो पार्टी र ‘जनयुद्ध’ अब उही र उस्तै रहेन। ‘क्रान्तिको बिम्ब’ बनेको जनयुद्धको त्यो ऐनामा जमेको धुलो पुछ्दापुछ्दै फेरि पार्टी यसरी बिथोलिएको छ कि प्रचण्ड आफैँलाई थाहा छैन, बिथोलिएको यो यात्रा कहाँसम्म पुग्छ।

हिजाे माओवादी थियो। ‘माओवाद’ प्रचण्ड थिए। जनयुद्ध थियो। उनको त्यो क्रान्ति थियो। हजार सपनाहरू उनकै लागि मलामी जान तयार थिए। आज ती केही छैनन्।

र, त प्रचण्डलाई लाग्छ- पार्टी पार्टीजस्तो छैन। फरक यत्ति हो, प्रचण्ड पनि प्रचण्डजस्ता छैनन्, रहेनन्।

‘अन्तिम इनिङ’को छडी समाएर प्रधानमन्त्री भएपछि उनको पार्टी अहिले देशभरिबाट नेता-कार्यकर्ता बटुलेर फेरि एकपटक मन्थनमा जुटेको छ। प्रज्ञा भवनको मधुर हलमा उज्यालिन खोज्दा खोज्दै पनि निराशाका भारी लिएर आएका ती सबका माझ प्रचण्डले फेरि अर्को एउटा आत्मस्विकारोक्ति गरेका छन्।

कार्यकर्ताको विशाल पङ्क्ति छ। तर पार्टी छैन।

प्रचण्डलाई लाग्छ, ‘पार्टी पार्टीजस्तो भएन।’ हो, माओवादी अब माओवादीजस्तो रहेन। ‘प्रचण्ड-पथ’ बिथोलिँदै बिथोलिँदै कहिलेकाहीँ त ‘नेकपा’जस्ता बदनाम गल्लीहरूमा पनि छिर्‍यो।

प्रचण्डको यो स्विकारोक्ति हो, न माओवादी माओवादीजस्तो रह्यो। न पार्टी पार्टीजस्तो। अनि न प्रचण्ड, प्रचण्डजस्ता। सब बदलिएको छ, सब फेरिएको छ। मात्रै नफेरिएको त, प्रचण्डको उही ‘विरोधाभाष’ यात्रामात्रै हो।

प्रचण्डले यहाँमात्रै होइन, पटकपटक कार्यकर्तामाझ भन्दै आएको कुरा हो, कार्यकर्ताको ‘विशाल’ पंक्त्तिले पछ्याएको उनको पार्टी पार्टीजस्तो छैन। यो चौथो पूर्ण बैठकबाट प्रचण्डले पक्कै त्यसको एउटा मार्गरेखा कोर्नेछन्, पार्टीलाई पार्टीजस्तो बनाउने। माओवादीलाई माओवादीजस्तो बनाउने। फेरि नकोरिने त एउटामात्रै रेखा हो, जहाँ प्रचण्ड छाया पर्नेछैन।

पार्टीभन्दा पनि माथि उठेर प्रचण्ड फेरि उही कम्युनिस्ट एकता र पुनर्निर्माणको प्रचीन मार्ग पछ्याउन चाहन्छन्। कार्यकर्तालाई सम्बोधन गर्दै उनले भनेका छन्- कम्युनिस्ट पार्टी पुनर्निर्माणको अभियान यही बैठकबाट थाल्नुछ।

पङ्क्ति विशाल छ तर कार्यकर्ता  छैनन्

आफ्नो राजनीतिक प्रतिवेदनमा प्रचण्डले लेखेका छन्- अहिले माओवादीसँग करिब ७ लाख ५२ हजार ९५६ कार्यकर्ता छन्। उनले कार्यकर्तालाई बुझाएको तथ्याङ्कमा सबैभन्दा धेरै कार्यकर्ता बागमतीमा १ लाख ४७ हजार ३५३ पार्टी सदस्य छन्।

त्यस्तै कुनैबेलाका आधार इलाका कर्णाली र लुम्बिनीमा ८५ हजार ७७४ जना र १ लाख १२ हजार ९९० जना माओवादी सदस्य छन्। कोशीमा ९९ हजार ६सय १ जना, गण्डकीमा ६६ हजार ६ सय ८७ जना र मधेशमा माओवादीका सदस्य करिब १ लाख १६ हजार ९७५ जना सदस्य छन्।

मात्रै सत्य कुरा के हो भने, यी सब कोही छैनन्। कहीँकतै छैनन्, जहाँ माओवादी अब माओवादी नै छैन। करिब ११ लाख चानचुन ‘समानुपातिक’ मत पाएको माओवादीको हैसियत प्रतिनिधिसभा निर्वाचनमा नयाँ उदाएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका अघि फिक्का फिक्का भयो।

पार्टी जीवनको यो डर अनि संशयलाई सामना गर्न प्रचण्डले अब ‘अन्तिम इनिङ’को सट हान्दैछन् सायद।

यसअघि प्रचण्डले एकपटक भनेका थिए, ‘जनयुद्ध सुरु गर्दा म लगभग ४२ वर्षको थिएँ, अहिले ६७-६८ पुगेँ होला। उमेरले कति दिन्छ, अब छोड्दिनुपर्छ भने भनेका छन्। तर म छाड्नेवाला छैन। माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए। म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु। तपाईंहरु यो कुरामा विश्वस्त रहनुहोस्। म एउटा ब्याटल लडेँ। त्यो जितेँ पनि। अझै हामीले लड्नुपर्छ।’

र, प्रचण्डले यसपालि भनेको भ्रष्टाचारविरूद्धको ब्याटल हो। प्रचण्डकै भाषामा यो प्रधानमन्त्रित्व कालको यो ‘अन्तिम इनिङ’मा अहिले अप्रत्यासित लाग्ने ठूला प्रकरणहरूमा हात हालिरहेका छन्, उनी।

‘सरकारले राम्रो काम गरिरहेको छ। त्यसैले घेराबन्दी पनि छ। तर गठबन्धन बलियो हुँदैछ। समाजवादी मोर्चा बलियो हुँदैछ। त्यसले पनि काम गर्न झन् सजिलो भएको छ’, प्रज्ञा प्रतिष्ठानमा राजनीतिक प्रतिवेदन पढ्दै प्रचण्डले भनेका छन्, ‘यस्तै घेराबन्दी भइराखे पनि अब पछि हटिन्न। बरू छोड्नै परे सरकार छोड्न तयार छौं। तर भ्रष्टाचारविरूद्ध र सुशासनको यो अभियान रोकिन्न।’

उनलाई लागिरहेको यो अभियानले जनतामा नयाँ आशा र भरोसा पलाएको छ।

‘जनताले हाम्रो पार्टी र आन्दोलनबाट जे-जस्ता आशा र अपेक्षा गरेका छन्, पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि लिएका पहलकदमी र गरिएका गतिविधिबाट जनतामा नयाँ आशा पलाएको छ’, यो आत्मरतिले उनलाई पछ्याएका केही थान कार्यकर्ता मुस्कुराएका छन्।

तर सत्य के हो भने, प्रचण्डभित्र आफ्नै आशाको त्यो बत्ती झ्याप्पै निभेको छ। नेपाली काँग्रेस अनि माधव नेपालहरूसँग मिलेर यसपालि चुनावमा माओवादीलाई अलिकति त्राण दिएका प्रचण्ड भयको अर्को कडी हो- समाजवादी मोर्चा।

एक्लो र एक्लै प्रचण्ड

त्यो पथमा अब उनी आफैँ छैनन्। उनका सारथी छैनन्। परिवार छैनन्। कार्यकर्ता छैनन्। जनता त झन् छदैँ छैनन्। बिराएको त्यो बाटोमा प्रचण्ड एक्लो छन् र एक्लै यात्रा गर्दैछन्।

बाध्यताले उनको पदचाप पछ्याएजस्तो गर्ने नेताहरू पनि आ-आफ्नो लयको बाटो खोजिरहेका छन्। कसैले बनाउँदैछन्, बनाउन नसक्नेहरू बनेकाहरूको भत्काउँदैछन्।

पार्टीमा उनको उत्तराधिकारी हुन तँछाडमछाड गरिरहेकाहरूलाई सम्हाल्नुपर्नेछ। भएकाहरूलाई कतै न कतै व्यवस्थापन गर्नुपर्नेछ। उनका पाइलाबाट बिछट्टिएकाहरूलाई फेरि पनि ल्याउनुछ। जंगल यात्रापछि संसदीय राजनीतिमा आउँदा टुक्रिएका माओवादीका ती अवयवहरूलाई फेरि एककठ्ठा गर्नुछ।

र, प्रचण्ड पार्टीको त्यो वैतरणी पार गर्न कहिले केपी ओलीको फेरो समाउँछन्, कहिले काँग्रेससँग टाँसिन्छन्। अनि समाजवादी मोर्चालाई चौतारी बनाउँछन्।

परिस्थितिले देखाइरहेको छ कि, माओवादीको राजनीतिक जीवनमा अब प्रचण्ड ‘एक्लो’ चित्र हुन्। बेलाबेला निराश अनि भावुक भएर बर्बराइरहने प्रचण्डको ‘अवचेतन’ मनले स्विकारेको एउटा सत्य के हो भने, उनी एक्ला छन्, बिल्कुल एक्ला। भलै उनी बाहिर देखाउँदैनन्- अब उनका वरिपरि कोही छैनन्, सिवाय प्रचण्ड।

जंगल थियो। ‘जनयुद्ध’ थियो। ‘जनसेना’ थिए। ‘जनता’ थिए। हतियार थियो। हातमा हात, साथमा साथ दिने ‘साथी’हरू थिए। र, प्रचण्ड थिए। पार्टी थियो। माओवादी थियो।

एउटा सग्लो बैंश ‘विद्रोह’मै गुजारेका छन्, पुष्पकमल दाहालले। जीवनमा त्यो बैंश ‘पुष्प’जसरी फुल्नै पाएन। बचेको सिङ्गो जवानी जंगलमै बित्यो, ‘जनयुद्ध’मै बतियो। त्यहीँ कतै अलमलियो। अनि दश वर्षपछि फेरि एउटा बाटो भेटियो, संसदीय राजनीतिको। जुन बाटोको नयाँ यात्रामा सब छुटे। कोही टुटे। कोही अटाएनन्। कोही भेटिएनन्।

२०६२-६३ पछि जंगलबाट सिंहदरबारको छेउछाउ मोडिएका पाइला बिसिन नपाउँदै केही साथ छुटिसकेका थिए, जब प्रचण्ड-पथ सिंहदरबार पछ्याउन थाल्यो अनि बचेखुचेका साथ पनि तितर-वितर हुन थाले। ‘सत्ता कब्जा’ र ‘साम्यवादी’ सपनाहरू मिसिएको संसदीय यात्राको यो ‘गञ्जागोल’मा अनि प्रचण्ड एक्लै भए।

उनको त्यो आदिम यात्रामा, मिसिएका पाइलाहरू सबका सब छुट्टै गए।

‘माओवादी जनयुद्धका नायक त प्रचण्ड नै थिए। प्रचण्डबिना त्यो सम्भव पनि थिएन। तर जब जनयुद्ध बिसाएर संसदीय यात्राको सुरुवात भयो, हाम्रो मोह भंग त्यहीँबाट भयो’, त्यहीँबाट पाइला मोडेका नेता सन्तोष बुढाले केही दिनअघि बिएल नेपाली सेवासँग गफिँदा भनेका थिए, ‘उनै प्रचण्डले हामीलाई दिक्षित गरेका थिए कि, जनयुद्धको सपना अनि त्यसको लक्ष्य नै संसदीय राजनीतिको अन्त्य थियो। राजतन्त्रको अन्त्य थियो। राजतन्त्र त गयो, प्रचण्डका पाइला संसदीय यात्रामा मिसिए।’

अनि सन्तोषहरूजस्तै हजारौं पाइलाहरू छुट्टिए। मोह भंग भयो।

२०६३ को जनआन्दोलनसँगै ‘जनयुद्ध’ बिसाउन खोजेको माओवादी राजनीतिको अर्को दुनियाँमा आयो। हतियार बिसिए, युद्ध सकियो।

र प्रचण्डहरूलाई लाग्दैछ पार्टी पनि पार्टीजस्तो रहेन। माओवाद पनि सकियो। उनी आफैँको प्रचण्डपथ सकियो। सब सकियो। न पार्टी रह्यो, न माओवादी माओवादीजस्तो भयो। न प्रचण्ड, प्रचण्ड रहे।

प्रकाशित मिति: : 2023-08-02 21:30:00

प्रतिकृया दिनुहोस्