गुठीचाैर गाउँपालिका- ४ की कृष्णमाया देवकाेटा ७६ वर्षकी भइन्। गत जेठदेखि उनी गुठीचाैर पाटनमा २० वटा भेडा, २० वटा घाेडी र गाई हेर्दै समय कटाइरहेकी छन्। उनी औँला भाँचेर आफ्नाे उमेरकाे हिसाब गर्दिनन्। त्यसाे गर्नुभन्दा उनलाई ‘मेराे जन्म चार साल हाे’ भन्न सजिलाे लाग्छ। उसाे त धाेवीले धाेएकाे कपडा निचाेरेर मुजा परेकाे जस्ताे अनुहारका रेसाबाट थाहा हुन्छ, उनकाे उमेर।
गाेराे अनुहार, औसत उचाइ, सेतै फुलेकाे कपाल, नाककाे बुलाकी, घाँटीकाे पाेते, भित्र चाेलाे, त्यसकाे बाहिर पुरुषले लगाउने काेट उनकाे पहिचान हाे। उनको पहिचान यतिमै सिमित छैन। कुराको सुरुवात उनी देउडाबाट गर्छिन्। लाग्छ उनी लाग्छ देउडाकी खानी हुन्।
कान काम्ला हाल्न्या भयाँ, गाई मार्न आयाँ र।
विद्यार्थी घर बाइगया, निस्यैलाे गरेर।।
गुठीचाैर पाटनकाे बीचमा उनकाे आटी छ। सामल तुमल त्यहीँ राखेर शिरानमा भेडा चराउँदै गर्दा भेटिएकी उनीसँग एकछिन् भलाकुसारी भयाे। त्यहीबेला उनले भनिन्, ‘अहिले बाबू गाई मार्न आयाँ र!’
सुरुमा कुरा बुझिएन। डिटेलमा कुरा बुझ्दा थाहा भयाे, यसपालि गाईगाेरुमा देखिएकाे महामारीले उनका ८ वटा गाई मरेका रहेछन्। ‘भेडा त सकुसलै घर पुग्ने भए। तर गाई त एक पनि छैनन्,' उनले भनिन्, 'पिर त्यसैकाे छ। आठवठी जर्सी जर्सी गाई मरिन्। छाती चिरिएकाे छ।’
उनलाई ठूलो पिर परेकाे छ। उनकाे पिर मेटाउनलाई कहिलेकाहीँ नातिनातिना घरबाट आउँछन्। स्कुले विद्यार्थीहरु हरेक हप्ताजसाे गुठीचाैर घुम्न आइरहन्छन्। पर्यटकहरुकाे घुइँचो छ। उनलाई त्याे देखेर साह्रै रमाइलाे लाग्छ। शनिबारकाे दिन विद्यार्थीहरु घर फर्किएकाे देख्दा उनलाई उदेक लागेकाे रहेछ। त्यसैले बिएल नेपाली सेवासँगकाे भलाकुसारीमा उनले माथिकाे पंक्ति लयबद्ध गरिन्।
जेठदेखि घर नगएर गुठीचाैरमै बसेकी कृष्णमायालाई आफ्ना सन्तान असाध्यै भला लाग्छ। उनले साेचेकाे पुगेकाे जस्ताे लाग्छ। ‘मेरा ट्वाटकी(छाेराछाेरी) भला छुन्। ट्याक्टरमै हालेर सामान ल्याइदिन्छन्।’ बादल लागेकाे दिनमा उनकाे मुहार चम्किँदा घाम लागेजस्ताे भयाे।
७६ वर्षकी उनी अहिले पनि हर्ताकर्ता छिन्। उनका कैयाैँ साथीसंगीले याे संसार छाेडेर गइसके। कति घरभन्दा बाहिर जान नसक्नेगरी थलिएका छन्। उनी भने याे उमेरमा पनि मज्जाले गाई, घाेडी र भेडा पाटनमा बसेर चराइरहेकी छन्।
यति हर्ताकर्ता हुनुमा उनी बाल्यकालदेखिकाे आफ्नाे खानपिन गतिलाे भएकाे मान्छिन्। ‘मेरा घर खानापिना उम्ताे(प्रशस्तै) छियाे। गाई भैँसीको दुध कहिल्यै खाली भएन’, उनले भनिन्, ‘त्यही भएर हिँडडुल गर्न कुनै गाह्रो छैन। मज्जाले काम गर्न कसेकी छु।’
उनलाई मीठाे मसिनाेकाे हर्ज कहिल्यै भएन। उनले थपिन्, ‘हप्ता हप्ताको मासु। दिनदिनै दहीदुध। माइत र पाेइल दुबै ठाउँकाे खानपिन मिल्याे।’
उनकाे घरमा छाेराले चारवटा भैँसी पालेका छन्। आफू पाटनमा भेडा पालेर बसेकी छन्। असल छाेराछाेरीकाे बयान उनी आफ्नाे आटीमा आउने जाेकाेहीसँग गर्छिन्। छाेरा असल छन् भनेर सुनाउँदा आफ्नाे नाक ठूलाे भएकाे जस्ताे मान्छिन्। ‘आटी बस्न्या, फुर्ति पाड्न्या, यही छ मेराे काम,’ उनले हाँस्दै भनिन्।
उनका तीन सन्तान छन्, दुई छाेरा र एक छाेरी। उनीहरु खेतीपातीमा लागेका छन्। त्यसैले गुजारा राम्ररी चलिरहेकाे छ।
वर्षाभरि पाटनमा बसेर भेडा, गाई हेर्ने, त्यसलाई एककाे दुई बनाउने काम उनी आफैँ गर्छिन्। तर ती भेडाकाे व्यापार भने उनी गर्दिनन्। बेचेर कति आम्दानी हुन्छ, त्याे उनलाई केही थाहा हुँदैन। ‘एक भर्खर बेली(हिजाे) बेच्याे छाेराले’, उनले भनिन्, ‘कतिमा बेच्याे केही थाहा छैन।’
उनी नेपाल सरकारले जेष्ठ नागरिकलाई उपलब्ध गराउँदै आएकाे भत्ता बुझ्छिन्। तर त्याे भत्ता पनि कति पाइन्छ भन्ने कुरा उनलाई थाहा छैन। घरकाे मुख्य काममा मुख्य हिस्सेदार बनेकी कृष्णमायाका हातमा आर्थिक काराेबार भने छैन।
‘भत्ता काेजानी कति आउँछ माेकन थाहा नाई। बड्डा(बुढा) बुझेर ल्याउँछन्’, उनले भनिन्, ‘माे खाली गुठीचाैर आइजान्छु।’
यति फरासिली उनी गुठीचाैर आउने हरकाेहीसँग आफैँ कुरा लाग्छिन्। यसरी बाेल्नुमा आनन्द लाग्छ उनलाई। तर जबजब कसैले उनकाे बिहेकाे कुरा साेध्छ, तब उनकाे मनमा चिसाे पस्छ। उज्यालो घाम लागेकाे जस्ताे मुहारमा एकाएक बादल लाग्न थाल्छ। सायद उनी विगततिर फर्किन्छिन्। किनभने उनलाई रक्छेर (जबर्जस्ती गरिने बिहे) बिहे गराइएकाे थियाे।
बिहे गर्नेबेला उनी नाै वर्षकी मात्रै थिइन्। उनका श्रीमान् अपाङ्गता छन्। गाउँका अरु मान्छे गएर उनलाई रक्छेर ल्याइदिए। रक्छेर बिहे गर्नु भनेकाे मन नहुँदा नहुँदै, माइतीकाे अनुमति नहुँदै, केही बलिया युवाहरुले छाेरीचेली जंगलमा घाँसपात गर्न गएकाे बेला वा गाेठाला गएकाे बेला जबर्जस्ती तानेर घरमा ल्याई बिहे गरिदिनु हाे।
‘मेराे श्रीमान् लाैराे टेकेर हिँड्छन्। म नानी(सानी) छिँया। वुन गाई चराउन गएकी बेला रक्छेर ल्याए’, उनले कापिरहेकाे स्वरमा भनिन्, ‘त्यही भएर भाेक्तीभाग(प्रायजसाे) गाई ग्वाली(गाेठाली) लाग्दिछु।’