नाइजरको प्रतिनिधिमण्डल मालीमा

फाइल तस्बिर
फाइल तस्बिर

गत हप्ता नाइजरमा सत्ता कब्जा गर्ने अधिकारीमध्येका एक जनरल सलिफोउ मोडी छिमेकी देश माली पुगेका छन्।

उनको सैन्य प्रशासन (जुन्टा)ले अन्तर्राष्ट्रिय दबाबका बाबजुद ‘कू’बाट नाइजरको नेतृत्व गरेको घोषणा गरेका सैनिक नेताहरूलाई समर्थन गरेको स्रोतले जनाएको छ।

नाइजरका एक वरिष्ठ अधिकारी र मालीका एक सुरक्षा अधिकारीले एएफपीलाई बताएअनुसार गत अप्रिलमा बर्खास्त गरिएका पूर्व सेनाप्रमुख मोडी एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राजधानी बामाको पुगेका थिए। उनीहरूले भ्रमणबारे थप विवरण भने दिएका छैनन्।

नाइजरको जुन्टा अन्तर्राष्ट्रिय समुदायको दबाबमा परेको छ भने ‘इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इकोवास)’ले आइतबारसम्म अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई पुनर्बहाली नगरे बल प्रयोग गर्न सक्ने चेतावनी दिएको छ।

इकोवासका सदस्य राष्ट्रका सैन्य प्रमुखहरुबीच बुधबार नाइजेरियामा तीन दिने छलफल हुने भएको छ। नाइजेरियाका पूर्व राष्ट्रपति अब्दुलसलामी अबुबकरको नेतृत्वमा एक प्रतिनिधिमण्डल पनि बुधबार नाइजर आउने अपेक्षा गरिएको छ।

सन् २०२० र २०२२ मा सत्ता कब्जा गरेका माली र बुर्किना फासोका सत्तारुढ जुन्टाहरूले सोमबार एक संयुक्त वक्तव्य जारी गर्दै नाइजरमा सैन्य हस्तक्षेपलाई आफ्नै देशविरुद्ध ‘युद्धको घोषणा’ का रूपमा लिने चेतावनी दिएका छन्।

साहेलका तीनै देश जिहादी विद्रोह र असुरक्षाको चपेटामा परेका छन्।

प्रकाशित मिति: : 2023-08-03 06:10:00

प्रतिकृया दिनुहोस्