भौगोलिक रूपमा क्यानाडाको टोरन्टो सहर र अमेरिकी टेक्सास राज्यको ड्यालस सहर लगभग १२ सय माइल टाढा। आफ्नै सवारीमा ड्राइभ गर्दा २१ घण्टा लाग्ने। प्लेनमा लगभग साढे तीन घण्टा।
सन् २०१८ को जुन महिनामा ड्यालसको बम फ्याक्ट्रीमा भएको नेपथ्यको कन्सर्ट हेरेका काठमाडौंका केशव लुँइटेललाई यसपालि पनि नेपथ्यको टोरन्टो कन्सर्ट ‘डबल धमाका’ जस्तै हुने भएको छ।
टोरन्टो पनि घुम्ने, नेपथ्यको कन्सर्टमा सहभागी पनि हुने। यसो त टोरन्टोको सीमामा रहेका अमेरिकी सहरहरू बफेलो, न्युयोर्क पेन्सिलभेनियालगायतका ठाउँ अनि टोरन्टो आसपासका क्षेत्रहरू, भ्यानकुभरसम्मबाट साथीहरूले कन्सर्ट पनि हेर्ने र वर्षौँसम्म भेट नभएका साथीभाइबीच पुर्नमिलन गर्न चासो देखाइरहेको बताउँछन्, यो कन्सर्टको आयोजक जेरियनका दिपेन्द्रजंग केसी।
शान्ति र एकताको सन्देश दिएर अमेरिकाबाट उडान भरेको ५ वर्षपछि त्यसैको वारपारमा ‘म्युजिक फर ह्युम्यानिटी’ को फेममा गुञ्जिनका लागि भने अक्टोबरमा उडान भर्दैछ, नेपथ्य।
गत वर्ष डिसेम्बरमा नारायणगढको क्याम्पा चौरमा नेपथ्यको लाइभ कन्सर्ट हेरेका भरतपुर चितवनका अनुज पौडेल योपालि झन उत्साहित छन्। ‘नेपथ्यजस्तो प्रतिष्ठित ब्याण्डको कन्सर्ट हेर्न पाउनु, त्यो पनि क्यानाडामा नेपथ्यकै पहिलो टोरन्टोको कन्सर्ट हामी त भाग्यमानी ठान्छौं’, ह्यामिलटन बस्ने यी विद्यार्थी भन्छन्, ‘नेपथ्यको कन्सर्ट हेर्न टाढा टाढाबाट आउँछन्। पछि टिकट पाइएला/नपाइएला अहिले नै सबै साथीले अनलानबाट टिकट लिएका छन्।’
ललितपुरको पुल्चोक कलेज हुँदै युरोपका विभिन्न युनिभर्सिटीहरू छिचोल्दै टोरन्टोमा इन्जिनियरिङ पेशामा आवद्ध पोखराका युवराज थापा स्टुडेन्टकालमा पोखरा, काठमाडाैँ, युरोपमा भएका नेपथ्यका कन्सर्टहरू भ्याएसम्म छुटाएनन्। यो कन्सर्ट उनका लागि विशेष हुनेवाला छ। उनले नेपथ्यको कन्सर्टका लागि एक्लैले ११ वटा टिकट किनिसकेका छन्।
नेपाली संगीत इतिहासमा सम्भवत: पहिलोपटक नेपथ्य एउटा अन्तर्राष्ट्रिय हलमा गुञ्जिएको थियो। सन् २०१३ को अगस्ट ३ मा नेपथ्यको त्यो एतिहासिक वोम्ली एरिना कन्सर्टका साक्षी हुन्, काठमाडौंका शिव सुवेदी। अहिले उनी ओन्टारियो, स्कारबोरोमा बस्छन्। कन्सर्ट सुन्नका लागि त्यो दिन उनले लामो समय लाइन कुरेका थिए। कुर्दाकुर्दा उनी झन्डै फर्किएका थिए। यसपालि उनले पनि अनलाइनमार्फत पहिला नै टिकट किन्ने सुरमा छन्।
‘हामीहरूमा भ्रम हुन्छ। ढिलो गरेर गएपनि हुन्छ। टिकट त्यहीँ लिँदा पनि हुन्छ। आखिर कार्यक्रम नेपाली समयमै हुन्छ क्यारे भन्ने तर नेपथ्यको कार्यक्रम नेपथ्य टाइम अर्थात् निर्धारित समयमा नै हुन्छ’, सिट सीमित हुने र टिकट सोल्डआउट हुने हुँदा समयमै टिकट लिन उनी सुझाउँछन्। आयोजक ब्लु जेरियनले टिकट अनलाइनबाटै बेच्नेछ।
‘जुलाई २१ मा हामीले पहिलो फेज खोलेका थियौं। पहिलो दिनमै ५०० वटा टिकटहरू बिक्री भए’ ब्लु जेरियनका सुमन लम्साल भन्छन्।
नेपथ्यलाई प्रस्तुत र प्रवर्द्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले टोरन्टोवासी संगीत प्रेमीहरूलाई भनेका छन्, ‘अन्तर्राष्ट्रिय कन्सर्टहरू बुकिङ खुलेको केही मिनेटमै सोल्डआउट भएको हामी सुन्छौं। नेपाली कार्यक्रममा त्यो लागु हुन अझै समय लाग्ला। तर पहिलो लटको ५०० टिकट बुकिङ खुलेको १० घण्टामा सकियो। त्यो पनि अनलाइनबाटै नेपाली कार्यक्रमका लागि राम्रो समाचार हो।’
नेपथ्यले कन्सर्ट गर्ने म्यासी हल १२९ बर्षे पुरानो टोरन्टेको अन्तराष्ट्रिय रूपमा प्रतिष्ठित हल हो। जहाँ लोकप्रिय एवम् विश्व प्रसिद्ध गायक एवम् संगीतकार टियर्स फर फियर्स, जस्टिन बिबर, क्रीम, बब डिलन, बिली जोएल, द किन्क्स, क्राफ्टवेर्क, लेनी क्राभिट्ज, गोर्डन लाइटफुट, इंगवी माल्मस्टिन, बब मार्ले र द वेलर, नाइटविश, जो सट्रियानी, सेभेन्टिन, रवि शंकर, ह्यारी स्टाइल्स, र भान हेलेनलगायतले पनि आफ्नो प्रस्तुति दिइसकेका छन्।
यही हलमा विश्वप्रसिद्ध व्यक्तिहरू विलियम बुथ, विन्स्टन चर्चिल, हेलेन केलर, थोमस मान र दलाई लामालगायतले पनि आफ्नो भाषण दिएका थिए।
हरेक उमेर समूहका नेपालीमाझ लोकप्रिय रहेको नेपथ्यले पप गीतलाई लोकलय र नेपाली मौलिक लोक गीतलाई ‘लोक रक’मा ढालेर नेपाली गीतसंगीतमा नयाँ आयामा भित्र्याएको छ। अनि नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको छ।
यो पटक टोरन्टोका ‘देउराली डाँडा हुस्सु र कुहिरो’ले ढाकिनेछन् सायद। म्यासी हल जोमसोमै बजारमा परिणत हुनेछ। टोरन्टोमा जुनदेखि सेप्टेम्बरसम्म स्नो फ्रि महिना मानिन्छ। तर यसपालि अक्टुबरमा आँगनैभरि हिउँ परिरहेको छ। टोरन्टोवासीले आरूका फूल टिपिरहनेछन्। यो पटक ‘भेडाको ऊन’ले म्यासी हलमा छोपिने छ। यो पाली म्यासी हलमा सबैलाई ‘जोगले भेट गराइदिनेछ’ अनि यी सम्झनाहरू जीवनभरि अविष्मरणीय हुनेछन्, नेपथ्यको लयसँगै।