जातीय विभेदका घटनामा गम्भीर हुन जुम्लाका युवाहरूकाे ध्यानाकर्षण

कर्णाली र सुदूरपश्चिममा श्रृंखलाबद्ध रुपमा भइरहेका जातीय विभेद तथा छुवाछुतका घटनामा गम्भीर हुन जुम्लाका युवाहरूले ध्यानाकर्षण गराएका छन्।

नेपालको संविधान लगायत विभिन्न ऐन कानुनले जातीय विभेदलाई दण्डीय मानेपनि विभेद नघटेकाे भन्दै युवाहरूले ध्यानाकर्षण गराएका हुन्।

हालसालै जुम्लामा दलित केटाले गैरदलित केटी भगाएकै निउँमा केटीपक्षले दलित केटाको घर आगाे लगाउनु, बझाङमा ब्राहमण समुदायको नजिक बस्न खोजेको भन्दै निर्माणधिन घर भत्काउनु, कैलालीमा कथित गैरदलितकी केटीसँग प्रेम गर्दा गाउँबाटै केटाकेटी भागेर भक्तपुर बस्नु र न्यायको याचना गर्नु जस्ता घटना बढी रहेका छन्।

कर्णाली तथा सुदूरपश्चिममा श्रृंखलाबद्ध रुपमा बढी रहेका जातीय विभेद तथा छुवाछुतका घटनाका पीडितलाई सिघ्र न्याय र दोषीलाई दण्ड सजाय दिनुपर्ने जुम्ली युवाहरूले माग गरेका छन्। 

जुम्लासहित कर्णाली र सुदूरपश्चिममा हालसालै घटेका जातीय विभेदका घटना प्रति सुक्ष्म अनुसन्धान तथा दोषी उपर कडा कारबाही गर्न जुम्लाका युवाले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार लगायत अन्य निकायलाई ध्यानर्कषण पत्र बुझाएका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय गएको टोलीले जातका आधारमा बढ्दै गरेका जघन्य अपराधलाई परिस्थिति जन्य मानेर फितलो बनाउने, घटनामाथि चरम राजनीति गर्ने विरुद्ध सचेत हुनुपर्ने भन्दै यस्ता घटनामा शिघ्र न्याय सम्पादनको माग गर्दै सरकारको ध्यानर्कषण गराएको कलाकार तथा अभियन्ता धनराज सुनारले बताएका छन्।

उनले प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरीलेलाई ध्यानर्कषण पत्र हस्तान्तरण गरेका हुन्। प्रजिअ घिमिरेले कानुनी रुपमा जघन्य अपराध मानेको जातीय विभेदलाई अन्त्य गर्न सोचसँगै व्यवहारमा परिर्वतन आउनुपर्ने बताएका छन्। जातीय विभेदका घटनामा संलग्न दोषीमाथि कारबाही हुनुपर्नेमा जाेड दिएका छन्।

हातहातमा प्लेकार्ट बोकेर जुम्लाका यूवाहरूले जातीय विभेद तथा छुवाछुतका घटनाका विरुद्ध सडकमा मौन प्रर्दशन समेत गरेका छन्। जातका आधारमा हुने कुनै पनि घटनाको डटेर सबैले सामना गर्नुपर्नेमा जुम्ला बहुमुखी क्याम्पसका स्ववियु सभापति महेश हमालले बताएका छन्।

'आगामी दिनमा पनि जातीय विभेदका सवालाई पेचिलो बनाउन शसक्त आन्दोलन गर्न जरुरी छ,' उनले भने।

ध्यानर्कषण पत्र हस्तान्तरण तथा प्लेकार्ट सहितको मौन प्रर्दशनमा दलित अगुवा मनसुर सुनार, कृष्ण विक, रामचन्द्र नेपाली, रामबहादुर नेपाली, यूवा नेता अनुप थापा, हरिश रोकाया, स्ववियु सचिव जयकृष्ण जैसी, युवा नेतृ शारदा पछाईलगायतको उपस्थिती रहेको थियो।

प्रकाशित मिति: : 2023-07-31 07:43:00

प्रतिकृया दिनुहोस्