पोखराको सडकमा फोहोरकाे चाङ

पोखरामा चार दिनयता फोहोर उठ्न सकेको छैन। अस्थायी ल्याण्डफिल्ड (फोहार फाल्ने ठाउँ)का नागरिकले फोहार फाल्न रोक लगाएपछि फोहोर उठ्न नसकेको हो।

महानगरपालिकाले पोखराको फोहोर आफ्नै वडा नम्बर ३२ स्थित लामेआहालमा फाल्दै आएको थियो। तर अस्थायी ल्याण्डफिल्ड साइड बनाउँदा गरेको सम्झौता महानगरले कार्यान्वयन नगरेको भन्दै स्थानीयहरुले चारदिन यता फोहोर फाल्न दिएका छैनन्।

जसले गर्दा फोहोर पोखराको मुख्य सडककै वरपर फोहोर थुप्रिएको छ। गएराति परेको अविरल वर्षाका फोहोर मुख्यसडकमै छरपस्ट भएको छ।

पोखरा महानगरपालिकाले ६ महिनाका लागि भन्दै विभिन्न सम्झौता गरेर अस्थायी ल्याण्डफिल्ड साइड बनाएको थियो। तर सम्झौता कार्यान्वयन नभएपछि फोहोर फाल्न रोक लगाएको स्थानीयले बताएका छन्।

यससँगै सफा र सुग्घर मानिने पोखरा शहरका मुख्य चोक–चोकमा फोहोरका थुप्रिन थालेको छ। पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन पोखरा ३३ लामेआहालमा ६ महिनाका लागि अस्थायी ल्याण्डफिल्ड साइड बनाइएको थियो। अहिले सम्झौता अवधि सकिएको छ।

महानगरले बनाएको अस्थायी ल्याण्डफिल्ड साइटकै कारण बस्ती जोखिममा परेको स्थानीय विष्णु पौडेलले बताए। 

‘जहाँ अहिले महानगरले अस्थायी ल्याण्डफिल्ड साइट बनाएको छ, त्यहाँ पहिरो बढ्दै जाँदा बस्ती नै खतरामा पर्ने डर छ’, उनले भने, ‘फोहोर फाल्नु अगाडि ग्याबिन जाली लगाउने, दैनिक रुपमा फोहोर फालेर पुर्ने सर्त महानगरको थियो, आज त्यो सर्त पूरा भएन अनि हामी दुर्गन्ध नै सहेर कति बस्ने ?’, उनको प्रश्न छ।

पोखरा महानगरपालिकाका सरसफाइ शाखा प्रमुख कल्पना बरालले बिहीबारदेखि पोखराको फोहोर उठ्न नसकेको बताइन्। ‘स्थानीयहरुले विभिन्न मागहरु राखेर फोहोरको गाडी ल्याण्डफिल्ड साइडमा जान दिनुभएको छैन’, बरालले भनिन्, ‘स्थानीयहरुको माग पूरा भए केही दिनमा फोहोर उठ्ला।’

अस्थायी ल्याण्डफिल्ड साइटबाट निस्कने दुर्गन्धका कारण स्थानीयमा महामारीका रोग फैलिन सक्ने र अन्यत्र विकल्प खोज्नुपर्ने बताउँदै स्थानीयहरुले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ६ बुँदे माग बुझाएका थिए। तर हप्ता दिन बितिसक्दासमेत महानगरले कुनै प्रतिक्रिया नजनाएका कारण फोहोर फाल्न रोक लगाइएको स्थानीय पौडेलले बताए।

प्रकाशित मिति: : 2023-07-30 13:54:00

प्रतिकृया दिनुहोस्