पहिरोको उच्च जोखिममा हुम्लाका तीन गाउँ

हुम्लाका तीन गाउँ पहिरोको उच्च जोखिममा परेका छन्। शुक्रबार रातिबाट परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले हुम्लाकाे सर्केगाड गाउँपालिकाकाे वडा नं. २ रिप, वडा वडा नं. ३ को उनापानीमा र नं. ८ को रादेउ गाउँ पहिरोको जोखिममा रहेका हुन्।

दुई सय घरधुरी र पाँच सयबढी जनसंख्या रहेको सर्केगाड गाउँपालिका वडा नं. २ स्थित रिप गाउँ भने उच्च जोखिममा रहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले बताए।

‘रिप गाउँको दाँया-बाँयाबाट बग्ने खोलामा ठुलो बाढीसँगै पहिरो आएको छ। गाउँ बिचमा रहेकोले जोखिम बढ्दो छ,’ उनले भने, ‘हालसम्म मानवीय तथा घरमा क्षति छैन्। तर, जोखिम बढ्दो छ। रिप गाउँका नागरिकलाई सुरक्षित स्थान्तरण गर्न प्रक्रिया थालेका छौं।’

उनापानी र रादेउ गाउँ भने बाढी पहिरोबाट आशिंक रुपमा प्रभावित छन्। रिप गाउँ उच्च जोखिममा परेपछि प्रदेश सरकारदेखि जिल्लाको सुरक्षा र विपद् व्यवस्थापन समितिले राहत उद्दार तथा पुर्नस्थापनाको लागि पहल थालेको सहायक प्रजिअ सुवेदीले जानकारी दिए।

उनकाअनुसार रिप गाउँ लगायतको अन्य बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था अवलोकन तथा राहत उद्दारका निम्ती सदरमुकाम सिमिकोटबाट नेपाली सेना २५ जना, शसस्त्र प्रहरी १५ जना, नेपाल प्रहरी १५ र सर्केगाडको अस्थायी प्रहरी चौकीका सुरक्षाकर्मीसहित ५५ जनाको टोली प्रभावित गाउँतर्फ गएको छ।

प्रहरी चौकीबाट रिप गाउँमा पुगेका प्रहरीकाअनुसार गाउँ पहिरोको उच्च जोखिममा रहे पनि हालसम्म मानवीय घटना नभएको जानकारी प्राप्त भएको सहायक प्रजिअ सुवेदीले बताए।

प्रभावित गाउँको अवस्था अवलोकनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको टोली आउने तयारी छ। मौसम प्रतिकुल नभए शनिवारनै हुम्ला पुग्ने कार्यक्रम तय भएको छ।

रिप गाउँका नागरिकको सुरक्षा तथा बस्ती स्थान्तरणका लागि के गर्ने भन्नेबारे सुरक्षा समितिको बैठक बसिरहेको  उनकाे भनाइ छ।

प्रकाशित मिति: : 2023-07-29 19:10:00

प्रतिकृया दिनुहोस्