नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको ७ महिना भयो।
नेपाली कांग्रेससहितका दलसँग गठबन्धन गरेर चुनाव लडेको उनको दल प्रतिनिधिसभामा तेस्रो भयो। तर प्रधानमन्त्री बन्ने चाहनाले पछ्याइएका प्रचण्ड त्यसका लागि अन्तिम समयसम्म नेपाली कांग्रेससँग भिडिरहे। देउवाले पनि छोड्ने कुरा त थिएन। अन्तत: प्रचण्ड बालकोट पुगेर ओलीको शरण परे। अनि प्रधानमन्त्री भए।
तर एमालेलाई प्रचण्डले महिना दिन पनि आफूसँग राख्न सकेनन्। न ओलीले नै सहे। फेरि गठबन्धन उही कांग्रेससँग हुन पुग्यो।
‘देशलाई नयाँ युग तिर लैजाने चाहना भएकाले मेरो तेस्रो पटक प्रधानमन्त्री बन्ने चाहाना छ’ यस्तै तर्क गर्दै प्रचण्ड तेस्रो पटक प्रधामन्त्री बने। यो उनको महत्वकांक्षा र राजनीतिक जिद्दीपनाको एउटा भद्दा यात्रा थियो।
सात महिनामै सहयात्राका दुई कित्ता फेरेका प्रचण्ड फेरि डराएका छन्– अब अघि बढ्ने हो कि होइन त्यो यात्रा।
प्रतिनिधिसभाको त्यही रोष्ट्रम थियो, जहाँबाट ‘विश्वासको मत’ माग्दा प्रचण्डले सात महिनाअघि सारा सांसदको मत पाएका थिए।
त्यही ‘ऐतिहासिक’ ठाउँबाट फेरि उनले ‘भय’ को एउटा भयंकर भाव दर्शाएका छन्।
‘मलाई थाहा छ, म सधैकालागि प्रधानमनत्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन। तर जति हुन्छु यो पटक म जनताको पक्षमा काम गरेर देखाँउछु। त्यही अनुसार काम गर्दैछु’ केही दिनअघि संसद बैठकमा उनलाई सुन्न आतुर सांसदहरूमाझ प्रचण्डको ‘डर’ भन्दै थियो– ‘मैले १२, १३ दिन प्रधानमन्त्री भएको विश्वका नेताहरूको बारे पढ्थे। हाम्रोमा पनि ६ महिना, ९ महिना, १० महिना प्रधानमन्त्री भएको शृखलावद् अनुभव छँदैछ। लामो समय प्रधानमन्त्री नभएपनि जति दिन हुन्छ राष्ट्र र जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने छ। लामो समय मलाई अहिलेपनि प्रधानमन्त्री हुन्छु भन्ने छैन।’
डरका यी भावले प्रचण्डलाई पहिलोचोटी भने हिर्काएका हैनन्। कहिले उनी त्यही डरको कल्पनासँग राजनीतिमा सद्भाव बटुल्छन्। कहिले आफै आफै टिलपिलाउँछन्। भावुकताको डोरीले राजनीतिको लहरो तानिदिन्छन्।
‘प्रधानमन्त्री भएर मैले प्रधानमन्त्रीले जस्तो अभिव्यक्ति दिइनँ’ भन्दै एकजना भारतीय मूलका व्यापारीबारे आफ्नो अभिव्यक्तिलाई केही घण्टामै उनले ‘फिर्ता’ लिए। कमजोरीको त्यो स्विकार्यता उनका अनेक भावनासँग गाँसिएका थिए। जसले संसद रोकिरहेका प्रतिपक्षीहरूलाई पनि निथ्रुक्कै बनायो।
केही साताअघि भारतीय मूलका एकजना व्यापारी सरदार प्रितम सिंहमाथि लेखिएको एउटा पुस्तक बिमोचनमा उनले भनेका थिए– ‘प्रितम सिँहले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नु भयो। धेरैचोटी दिल्ली जानुभयो। काठमाडौँमा नेतासाथीहरूसँग लगातार छलफल गर्नुभयो।’
यही बोली केही दिनसम्म प्रतिपक्षका लागि मसला बन्यो। अनि दिनहुँ संसद रोकियो।
तर प्रचण्डकै भावमा त्यो अभिव्यक्ति प्रितम सिंहप्रतिको उनको त्यही भावुक सद्भाव थियो। जसलाई उनले संसदको बैठकमा फेरि स्विकार गरे।
त्यो अभिव्यक्तिबारे ‘माफी’, स्विकारोक्ति वा राजीनामा मागिरहेको एमालेलाई फकाउन प्रचण्डलाई हम्मे हम्मे पर्यो। उनी संसदमा बोल्न जानुअघि सिंहदरबारमा तीन नेता जुटे– प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली।
केही बेरको बैठकपछि प्रचण्ड निकै हतासिएर सिंहदरबारबाट निस्किए। सायद उनले देखेका थिए– हाँस्दै हाँस्दै अनि पत्रकारहरूसँग जिस्किँदै निस्किरहेका ओली र देउवाको जोडी।
‘डर’का यिनै दृश्यहरू बोकेर संसद पुगेका प्रचण्ड त्यहाँ झन् ‘भावुक’ बने।
यस्तै भावनाका लहर बुन्दै प्रचण्डले आफ्नो मनलाई आफै सान्त्वना दिँदै थिए– जसलाई वर्षदिन नपुग्दै सरकार ढल्छ कि भन्ने डर छ। उनको पहिलो सरकार पनि नौ महिनामै ढलेको थियो। जति बेला उनले ‘जनयुद्ध’को भावना बोकेर प्रधान सेनापति हटाउने असफल प्रयास गरेका थिए।
एकातिर, अहिले विमानस्थलबाट भित्र्याइएकाे १०० केजी सुन काण्डले तहल्का पिटिरहेकाे छ।
सरकार ढल्छ? प्रचण्डका डर र राजनीतिक दृश्य
नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यलाई लाग्दैन अहिले सरकार संकटमा छ।
तर सरकार घेरिरहेका राजनीतिक दृश्यहरू जसले प्रचण्डका मनमा झन धेरै डरहरू पैदा गरेका छन्। छटपटाइरहेका देउवा अनि उनका चतुर राजनीतिक चलखेल प्रचण्डको सबैभन्दा ठूलो डर हो।
तर आचार्य भन्छन्– नेपाली कांग्रेस र एमालेका नेताहरूको निकटाले सरकारलाई असर गर्दैन।
‘समाजवादी मोर्चा’ प्रचण्डको त्यही डर छेक्ने हतियार हो।
‘सरकार अहिले संकटमा छैन। सरकारमा सधै एउटै बस्ने पनि हुँदैन त्यसैले निश्चित अवधि पुगेपछि सरकार छोड्नु नै पर्छ। त्यहि कुरालाई संकेत गर्नुभएको हो। तत्कालै सरकारलाई संकट परेको होइन,’ आचार्य भन्छन् ‘हामीले समाजवादी मोर्चा सरकार ढल्ने डरले बनाएको हुँदैहोइन। समाजवादी मोर्चामा सरकारलाई समर्थन गरेका दल नै छन्। अरू दललाई तर्साउनका लागि होइन।’
माओवादीका पोलिटब्यूरो सदस्य एवम् सांसद लेखनाथ दाहाल त सरकार पाँचै वर्ष टिक्ने तर्क गर्छन्। एमालेलाई ‘परिवर्तन विरोधी’ देखेका उनलाई लाग्छ, उसको प्रयासले मात्रै सरकार ढल्दैन।
‘अहिले सरकार संञ्चालनका लागि हाम्रो गठबन्धनकै सरकार छ। गठबन्धन दलहरूबीच कुनै खटपट छैन। मतभेद पनि छैन। परिवर्तन विरोधीहरू सरकार बनेकै दिनदेखि नै सरकार ढाल्न लागिपरेका हुन्। सरकार पाँच बर्ष नै टिक्छ। भ्रष्टाचारीहरूलाई जेल नकोचेसम्म सरकार टिक्छ। सरकार ढल्दैन।’