काठमाडौँकी अन्जना ठकुरीको फेसबुकमा एक दिन नचिनेको एक जना व्यक्तिको ‘फ्रेन्ड रिक्वेस्ट’ आयो। यो २०७९ साल जेठ दोस्रो सातातिरको कुरा हो। रिक्वेस्ट पठाउने कुनै चानचुने व्यक्ति थिएनन्। उनको ‘बायो’मा लेखिएको थियो- सिइओ, रोयल बैंक अफ सिइओ।
अन्जनालाई लाग्यो, अहो ! क्यानडाको रोयल बैंकको सिइओको रिक्वेस्ट ! तुरन्तै एक्सेप्ट गरिन्।
सुरुमा ती म्यानेजरले अन्जनाको फेसबुक म्यासेन्जरमा केही सामान्य म्यासेज पठाए। अन्जनाले पनि रिप्लाइ गरिन्। कुराकानी बाक्लिँदै गयो र सम्बन्ध पनि। उनीहरू केही समयमै नजिकका साथी साथीजस्तै भए।
त्यसपछि ती रोयल बैंकका सिइओले अन्जनालाई एक बम्पर अपर दिए। त्यो बम्पर अफर थियो, उनको बैंकको खातामा भएको ७८ मिलियन डलर हालिर गर्ने। यो नेपाली करिब १० अर्ब २२ करोड ८६ लाख ९७ हजार २३२ रुपैयाँ हाे।
यो भयङ्कर अफर सुन्दा एकछिन त अन्जना चक्राइन्। यो कुरा उनले आफ्ना श्रीमानलाई पनि सुनाइन्। रकम ठुलै थियो। अन्जनाका श्रीमान भीमबहादुर ठकुरी पनि तुरन्तै लोभिए।
त्यो पैसा कसको नाममा छ ? आफ्नो नाममा ल्याउन के कसो गर्नुपर्छ ? भनेर उनले अन्जनामार्फत् ‘रोयल बैंकका सिइओसँग कुराकानी पनि गर्न भ्याए।
बैंकका ती ‘सिइओले एक जना नेपालीमूलका एलेक्स राणाको नाममा रहेको बैंक खातामा ७८ मिलियन डलर रहेको जानकारी दिए। सिइओकाअनुसार ती सुनखानीका मालिक थिए। कोभिडका बेला उनको मृत्यु भयो। तर, बैंक खातामा ‘इच्छ्याइएको व्यक्ति’ भनेर कसैको पनि नाम राखिएको छैन। नाता प्रमाणित गरेर दाबी गर्नसक्ने हो भने त्यो ७८ मिलियन डलर अन्जनाले पाउनेछिन्।
बैंकका सिइओ आफैंले त्यस्तो अफर दिइसकेपछि अब अन्जनाहरूलाई के चाहियो र !
अन्जनाका श्रीमान पनि अब नाता प्रमाणित गर्नका लागि प्रक्रियामा जुटे। दुवै जना चाँडोभन्दा चाँडो त्यो पैसा हात पार्न चाहन्थे। एलेक्सको परिवारकै सदस्य हुनका लागि के कसो गर्नुपर्ने हाे ? उनीहरू ‘सिइओ’को सल्लाह लिन थाले।
‘सिइओ पनि सजिलैसँग कानुनी प्रक्रियाबारे जानकारी दिन थाले। त्यसका लागि वकिलको व्यवस्था पनि उनै सिइओले नै गरिदिए। केही समयपछि वकिल सम्पर्कमा आए। उनले विभिन्न कागजपत्रहरू तयार गर्न भने। कति कागज त वकिल आफैंले बनाइदिए।
७८ मिलियन डलर आउँदै थियो, वकिलले काम अघि बढाउनका लागि जतिबेला जति पैसा मागे पनि अन्जना दम्पतीले चुपचाप दिए। वकिलले भनेको बैंक खाता नम्बरमा उनीहरूले धेरै पटक भनेको जति रकम खोजेर हालिदिए। आफूसँग भएको सबै पैसा दिए। आफन्तहरूसँग ऋण काढेर पनि दिए। अन्तत: उनीहरू पूरै रित्तिए, ७८ मिलियन डलर सम्झिरहे। आफू रित्तिएर सडकमा आइसकेको थाहै भएन।
उनीहरूले २०७९ जेठ ३० देखि फागुनसम्ममा १९ पटक गरी ती वकिलको खातामा ९३ लाख हालिसके। तर, पनि ७८ मिलियन डलर आएन। तैपनि वकिलले पैसा मागेर हैरानै गर्न थाले। नदिउँ ९३ लाख डुबिसक्यो। दिउँ कति दिनु ? ऋणले सीमा नाघ्यो। आफन्तले पनि दिन छोडे। र पनि वकिलले हैरानी बनाउन थालेपछि उनीहरूलाई लाग्यो- हामी ठगियौं कि !
गत फागुन २५ गते नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेका उनीहरू त्यसपछि रुवाबासी गर्न थाले।
प्रहरीले प्रारम्भिक अनुसन्धानमै भनिदियो, बैंकका सिइओ नक्कली हुन्। उनको फेसबुक नै नक्कली थियो। वकिल नकक्ली थिए। आपुताली खाने भनिएका व्यक्ति एलेक्स पनि नक्कली थिए।
अन्जना दम्पती छाँगाबाटै खसे। सम्पत्ति पनि सकियो, ऋृणको भारीले उत्तिकै थिच्यो।
रोयल बैंक अफ क्यानडाको सिइओ बनेर अन्जना दम्पतीलाई झुक्याउँदै पैसा लुट्नेहरू थिए, डडेल्धुराका योगेश शाही अनि काठमाडौँका सुमन लामिछाने। काठमाडौँमै बसेर यो गिरोहले अन्जना दम्पतीको पैसा लुट्याे। सडकमै ल्याएर छोड्याे।
ब्युरोकाअनुसार यो गिरोहमा अरु व्यक्ति पनि संलग्न छन्। शाही र लामिछानेलाई ब्युरोले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। उनका बाँकी सहयोगीलाई पनि खोजिरहेको छ। उनीहरूले विभिन्न बैंकमा खाता खोलेर उक्त रकम हाल्न लगाएका थिए। ब्युरोले उनीहरूले प्रयोग गरेका बैंक खाताका बारेमा पनि अनुसन्धान थालेको छ।
यो गिरोहका नाइकेहरूलाई समाउन साइबर ब्युरोले लामो समय निकै मेहनत गर्यो।
उनीहरूले एक वर्षको अवधिमा १९ पटक विभिन्न बैंकका खातामा जम्मा गर्न लगाएर ९३ लाख रकम ठगी गरेका छन्।
साइबर ब्युरोका प्रमुख एसएसपी नविन्द्र अर्यालले बिएल नेपाली सेवासँग भने, ‘यो नितान्त ठगीकै लागि सुरुदेखि योजना बनाएको देखियो, २ जनालाई पक्राउ गरेका छौं, अरू केहीलाई समाउन बाँकी छ, हामी अनुसन्धान गर्दैछौं।’
उनले यसरी सामाजिक सञ्जालमा ठगी बढिरहेको भन्दै प्रयोगकर्ताहरू सचेत र चनाखो हुन पनि अनुरोध गरे।
‘अहिलेको समयमा कुनै पनि नचिनेको ब्यक्तिले सामाजिक सञ्जालमा वा मोबाइलमा वा भेटेरै पनि आर्थिक अफर गर्छ भने त्यो ठग्न खोजेको भन्ने कुरा सबैले बुझ्नुपर्छ’, एसएसपी अर्यालले भने, ‘नचिनेको त्यो पनि फेसबुकमा भेटेको अपरिचित ब्यक्तिको कुरालाई पत्याउँदा धेरै ठगिएका घटनाहरू छन्। यसलाई रोकथाम गर्न हामीले पटक पटक सार्वजनिक रुपमै सूचना जारी गर्ने गरेका छौं तर पनि ठग समूहले विभिन्न बहानामा ठगी गरिरहेका छन्।’
केही समयदेखि यस्ता ठगीका मुद्दाहरू बढ्न थालेको ब्युरोले जनाएको छ।
‘तपाईंलाई चिठ्ठा पर्यो, भन्दै आउने म्यासेजका पछि लाग्नेदेखि लिएर विभिन्न स्कीम दिएर रकम माग गर्नेहरूको कुरा पत्याउँदा धेरै मानिस ठगिका छन्’, ब्युरोका प्रहरी निरीक्षक राजकुमार खड्कीले भने ‘यस्ता धेरै घटनाहरू छन्, हामीसँग आइपुगेका घटनालाई हामीले गम्भिरताका साथ हेरेर धेरै समाधान पनि गरिसकेका छौं।’