आइतबार, २४ अगस्ट २०२५

धर्म परिवर्तनले अमेरिकामा तहसनहस हुँदै नेपाली परिवार

News Image
• • •

धर्म परिवर्तनले नेपालमा मात्रै नभएर अमेरिकामा समेत नेपाली र नेपालीभाषीको घर परिवार तहस-नहस भएको देखेर मन साह्रै रोएको छ।

९० वर्षका वृद्धलाई हिन्दूबाट क्रिश्चियन बनाएछन्, छोरालाई बनाउन सकेनन्। अन्ततः परिवार टुट्यो। बावु र छोरा छुट्टिए।

हिन्दूबाट क्रिश्चियन बनेकी अर्की छोरीले उनलाई भेट्न उनको घर गएकी वृद्धआमालाई उक्त घरबाट तुरून्तै ननिक्ले ९११ मा गरेर प्रहरी बोलाउने धम्की दिएर उल्टै घरबाट निकालिन् साथै उनका छोराछोरीसँग बोल्ने र उनीहरूलाई हेर्ने अधिकार हजुरआमालाई नदिएको जानकारी दिइन्।

त्यसदिनदेखि आजसम्म उहाँले आफ्ना नाती, नातिनीलाई देख्न पाउनुभएको रहेनछ। साह्रै पीडामा हुनुहुँदो रहेछ उहाँहरू। हिन्दू बावु-आमा आफ्नो घरमा पसे, आफूसँग सम्पर्कमा रहे आफ्नो घर परिवारमा उहाँहरूका पुर्खौंदेखि पाएको श्राप र शैतान पस्ने डर उनलाई भएको बताएकी उनले तिनै परिवारको २ करोड लिटिपिटि पारेर कुलेलम ठोकिछन्।

आफू जिजसको भक्त भएकोले जिजसले नै उक्त पैसा आफूलाई आशीर्वाद स्वरूप दिएको बताउने उनी अहिले अरूलाई प्रार्थना गर्दै हिँडेकी भेटिँदोरहेछिन्।

६० वर्षकी अर्की महिलाको धर्म परिवर्तनकै कारण परिवारमा झै-झगडा भएकोले ७ वर्षदेखि परिवारका अन्य सदस्यहरू र वृद्ध हिन्दू आमासँग बोलचाल रहेनछ। यी त आफूले देखेका र सुनेका केही उदाहरण मात्रै हुन्। यहाँ धेरै यस्तै खालका पीडामा रहेछन्।

मैले देखेका यताका केही  क्रिश्चियन-

यहाँका जन्मजात क्रिश्चियन सबैसँग हाँस्छन, बोल्छन, हिन्दूलाई अङ्गालाे हाल्छन्, उनीहरूको घरमा आउजाउ गर्छन्, हिन्दूकै दसैँमा टीकासमेत लगाउँछन, सारै मिलनसार, सहयोगी, परोपकारी हुन्छन्। तिनलाई देख्दा क्रिश्चियानिटीप्रतिको सम्मान झनै बढ्छ तर धर्म परिवर्तन गरेर बनेका नेपाली क्रिश्चियनहरू त उग्रै देखेँ। धर्म परिवर्तन गरेका नयाँ जोगीहरूले धेरै खरानी घसेर जिजसलाई समेत बदनाम गराए।

मनमा उठेको प्रश्न- 

कुनै पनि धर्मले शायद तोड्ने शिक्षा दिएको छैन होला,  छ र ? धर्मले त जोड्ने काम पो गर्छ त, होइन र ?

परमेश्वर पाउने नाममा हिन्दू भएकै कारण धर्म परिवर्तन नगरेका बुवा-आमा परिवार त्याग्नेलाई तिनका खुट्टामा उभिनसक्ने कसले बनाए ? परमेश्वरले ? वा बावु,आमाले ?

कथंकदाचित् कुनै दिन यिनका ज्यान बचाउन कसैको रगतको आवश्यकता परे यिनीहरू के गर्छन् होला ? हिन्दूको रगत पनि चल्छ कि क्रिश्चियनकै चाहिएला ?

धर्म परिवर्तन गर्नु उनीहरूको स्वतन्त्रता हो, गर्न सक्छन् तर धर्म परिवर्तन गर्दैमा जन्मजात हिन्दू बावु, आमा र अन्य परिवारका सदस्यहरू त्याग्नै पर्छ र ? के बाइबलले जन्म दिने बुवा-आमा र परिवार त्याग्नु भन्छ ? के बाइबलले अरूको मेहेनतको पैसा ठगेर, लुटेर धर्मको खोल ओढ्दै अर्कालाई प्रार्थना गर्दै हिँडनुलाई धर्म भन्छ ? जानकारहरूले बताइदिनु होला।

मैले यहाँ धर्मको बहस गर्न खोजेको वा एउटा धर्म राम्रो र अर्को धर्मलाई नराम्रो भन्न खोजेको होइन। धर्म आस्थाको कुरा हो, जसलाई जुन धर्म मान्न मन लाग्छ त्यही मान्ने हो तर नदेखिएको परमेश्वर/भगवान खोज्न भएको परिवार तहसनहस पार्नेहरूले धर्मलाई कसरी बुझेका होलान् ? यस्तै हो त धर्म भनेको ? तिनीहरूको दिमागमा कस्ता कुरा चल्छन् होला भनेर कहिलेकाहिँ कौतुहलता हुन्छ।

त्यसमाथि धर्म परिवर्तनको कारण नेपाली समाजभित्रै देखेको पारिवारिक कलह, पीडाले मन दुखेकोले केही उदाहरण दिएको मात्रै हुँ। राम्रा, नराम्रा मान्छे सबै क्षेत्रमा हुन्छन् र विभिन्न धर्म मान्नेहरू पनि त्यसबाट अछुतो छैनन् जस्तै मन्दिर र गुरुद्वारामा जुत्ता चोर्नेहरू, भेटी चोर्नेहरू, मन्दिर र गुरुद्वारामा भ्रष्टाचार गर्नेहरू। मस्जिदको चाहिँ त्यति थाहा भएन।

हिन्दू परिवारमा जन्मेको म मन्दिर पनि पुगेको छु, मस्जिद पनि पुगेको छु, चर्च पनि पुगेको छु, गुरूद्वारा पनि पुगेको छु। म सबै धर्मलाई सम्मान गर्छु तर मेरो लागि चाहिँ मानवता र सत्कर्म नै धर्म हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!