रोपाइँ हुने मुख्य महिना गत असारसम्ममा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ।
प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ गतेसम्मको तथ्यांकअनुसार ६५ हजार २७६ हेक्टरमा रोपाइँ भएको हो।
असार १ गतेसम्ममा ३ प्रतिशत, असार १५ गतेभित्रमा १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकोमा असार अन्तिमसम्ममा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो। हालसम्म सबैभन्दा बढी नवलपुरमा ८५ प्रतिशत र सबैभन्दा कम म्याग्दीमा ४० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले जानकारी दिइन्।
उनका अनुसार कास्कीमा ८०, स्याङ्जामा ५०, पर्वतमा ६५, बागलुङमा ६५, तनहुँमा ६८, गोरखामा ५० र लमजुङमा ६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। जिल्लाबाट आएको तथ्यांकलाई विश्लेषण गरेर निर्देशनालयले हरेक शुक्रवार रोपाइँको प्रदेशगत तथ्यांक तयार पार्ने गरेको कृषि प्रसार अधिकृत तिमिल्सिनाले बताइन्।
हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका ९ जिल्लामा धान खेती हुँदै आएको छ। प्रदेशको कूल ४ लाख ७९ हजार ६१७ खेतीयोग्य जमिनमध्ये यो वर्ष ९७ हजार ८९१ हेक्टरमा वर्षे धान लगाइने अनुमान निर्देशनालयको छ। गत वर्ष १ लाख ४ हजार ६२३ हेक्टरमा वर्षे धान खेती गरिएको थियो।
गोरखाको छेवेटार, पालुङटार, आरुघोटा सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँमा चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाडीखोला, पामे, लेखनाथ, पर्वतको फलेवास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैंडाकोट लगायत धानका प्रमुख पकेट क्षेत्र हुन्।
गण्डकी प्रदेशका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेंले, गौरिया, मनसुली, सुनौलो सुगन्ध लगायत जातका धानको खेती गर्दै आएका छन्। निर्देशनालयको तथ्यांकअनुसार गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको देखिन्छ। ‘प्लटिङ’, तीव्र बजारीकरण, ठूल्ठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा खुम्चिँदै गएको हो।
जग्गा बाँझिने क्रम पनि बढ्दै गएको छ। धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने गरेको छ। बेलैमा मल, बीउ नपाउँदा पनि धान खेतीमा असर पर्ने गरेको किसान बताउँछन्। धानमा फूल खेल्ने समयमा बर्सात हुँदा पनि उत्पादनमा क्षति पुग्ने गरेको छ। रोग कीरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानले सधैं समस्या व्यहोर्दै आएका छन्।