मैले यसअघि विभिन्न विधाका ५ वटा किताब लेखिसकेको छु। ती किताब लेखेपछि मलाई एकपटक आफू बसेको भूगोलको इतिहास खोज्ने हुटहुटी पलायो। त्यसमा करिब ३ वर्षजति दिमाग लगाएँ। त्यसपछि सानो भूगोलको पनि इतिहास लेख्न सकिन्छ भन्ने लाग्यो र ७ महिनाको लगातार प्रयत्नपछि बिर्तामोडः उद्भव र विकास नामक यो किताब तयार भयो।
हुन त धेरैले यति सानो भूगोलको मात्र इतिहास किन लेखेको भनेर पनि सोधेका छन्। उनीहरूले यसको साटो बरु झापाकै इतिहास लेखेको भए हुन्थ्यो नि पनि भने। तर हरेक मान्छेका आ-आफ्ना कथा भएजस्तै प्रत्येक भूगोलका पनि इतिहास हुन्छन् भन्ने मेरो भनाइ छ। यसै दृष्टिकोणमा आधारित भएर मैले यो किताब लेखेँ।
यस्ता कथा हाम्रा लागि नयाँ हुन्। अझ हामी पछिको पुस्तालाई त केही पनि थाहा छैन। समय जति बित्दै जान्छ, इतिहास यति नै बिलाउँदै जान्छ। तसर्थ, आफ्नो भूगोलको इतिहासको खोजी गर्नु कर्तव्य ठानेर मैले यो किताब लेख्न थालेको थिएँ। तसर्थ, आफ्ना सन्तानलाई आफ्नो भूगोलको बारेमा जानकारी दिन र आफ्नो माटोप्रति गर्व गर्नका लागि पनि यो किताब उपयोगी हुने ठानेको छु।
यसरी खोज्दै जाँदा बिर्तामोड सहरको इतिहास त्यति लामो छैन। आधा शताब्दीअघिसम्म यो क्षेत्र पूरै जंगल थियो। २०१९ सालमा हाइवेको योजना आएपछि विस्तारै गाडी कुद्न थाले। त्यसपछि मान्छेहरूलाई धरान विराटनगर जानआउन सहज भयो। यसरी राजमार्गको रेखाङ्कन हुँदै गएपछि यातायातका साधनहरू चल्न थाले। त्यसपछि मात्र बिर्तामोडमा चहलपहल बढ्न थाल्यो। यहाँबाट धरान, विराटनगरसम्म पुगेर आउन सहजता हुन थाल्यो।
त्योबेला बस चढ्ने विषयमा कल्पना गर्न सकिँदैनथ्यो। त्यस समयमा धरान, विराटनगरदेखि यो मार्ग भएर बस चल्न थालेपछि यो ठाउँले अर्कै रुप लिन थाल्यो। त्यो समयसम्म मानिसहरूलाई अहिलेको काठमाडौं जानुपर्यो भने महिनौँ लाग्थ्यो, पहाडी क्षेत्र त झन् विकट थियो।
हालको बिर्तामोडको विकासक्रम र विकसित संरचनालाई नियाल्ने हो भने यसरी राजमार्गको रेखाङ्कन भएपपछि यसको उद्भाव भएको देखिन्छ। भनाइ नै छ, आवतजावत र हिँड्डुलले प्राणीजगतलाई बाँच्न सिकाउँछ र नयाँनयाँ सोचको विकास पनि गराउँछ। यो ठाउँको विकासक्रम र ऐतिहासिक तथ्यलाई केलाउँदा यातायातका साधनको सहज उपलब्धता र जंगल फँडानीसँगै बसोबासको सहजताले यो ठाउँलाई अगाडि बढाउँदै लगेको देखिन्छ। अनि विस्तारै अन्यत्रबाट यहाँ बसोबास गर्न आउनेहरूले भरिँदै गएपछि यो ठाउँ गुल्जार वन्दै गयो।
धिमाल, राजवंशी, सन्थाल र केही चौधरीका परिवार पहिलेदेखि नै थिए। त्यसबाहेक केही पहाडे परिवारले सर्वप्रथम यो ठाउँमा पाइला टेकेको पाइन्छ। बरु त्यो समयमा भद्रपुर निक्कै चल्तीको ठाउँ थियो। झापाको सदरमुकाम भइसकेका कारण धेरैजसो सेवा र सुविधा उतै थियो। तर विस्तारै भद्रपुरले आफ्नो चमक गुमाउँदै गएपछि धेरै व्यापारीहरूले बिर्तामोडलाई कर्मथलो वनाएको पाइन्छ। त्यस्तै इलामतिरबाट पनि धेरै मानिसहरूले बिर्तामोडलाई बसोबासको थलो वनाउँदै लगे।
एक समयमा नेपालमा औँलो, कलेरा, बिफरजस्ता धातक रोगको प्रकोप व्यापक थियो। जसका कारण मानिसहरू तराई झर्न डराउँथे। तर तत्कालीन सरकारहरूले तराईलाई आवाद गराउने योजना ल्याएपछि र विभिन्न शक्तिको आडमा वनजंगल फाँड्ने र कब्जा गर्न थालियो। दरवारका भारदार र आसेपासेहरूले आफ्ना मान्छेहरूमार्फत वन जंगल फाँड्न लगाउने कार्य गर्न थालियो।
जिमदार, डिठ्ठा, बैदार, विचारी, सुबेदारहरूमार्फत जंगल कब्जा गराएर काठ निकाल्ने र बिक्री गरेर आम्दानी खाने चलन चलाइयो। धेरै पछिसम्म नेपालको वन जागिरे, बिर्तावाल, राणा, दरवार, प्रशासक, सैनिकका उच्च अधिकारी र राजनीतिक ओहोदाका मानिसहरूले निजीरुपमा उपभोग गरेका प्रशस्त उदाहरण छन्।
पूर्वको झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा परम्परागत रुपमा बसोसास गर्दै आएका केही आदिवासी समुदायका मानिसहरू बाहेक अधिकाँस औलो, बिफरजस्ता घातक रोगको उन्मुलन हुँदै गएपछि र सरकारले त्यसरी वन जंगल फँडानी गर्न छुट दिएपछि आएका हुन्। यो क्रम औँलो उन्मुलन र आवागमन सुरु भएपछि पहाडतिरबाट र पूर्वी भारततिरबाट यता आउनेक्रम बढेको हो।
त्यो समयमा कतिपय भारतीय नागरिकहरू पनि ब्रिटिस शासन खप्न नसकेर नेपाल प्रवेश गर्ने गरेका इतिहासकाहरूले उल्लेख गरेका छन्। त्योबेला भारतीयहरू सीमाक्षेत्रमा व्यापार व्यवसाय गरेर बसेका थिए। त्यतिबेला राणाहरूले तराईमा बसोबास गर्ने मानिसहरू र भारतबाट आउनेहरूलाई प्रोत्साहन गरेका कारण मानिसहरू यता आउनेक्रम बढेको पाइन्छ। यसरी बसाई सराई गरेर आउनेहरूलाई खेती गर्न र घर वनाउन काठ दिने नीति सरकारको थियो। सरकारी जागिरबाट अवकास लिएर आउनेहरूलाई पनि सहयोग गर्ने सरकारी नीति थियो।
आजभन्दा पचास साठी वर्ष अगाडिसम्म पूर्वको नकलवन्दा, पश्चिममा दमक, उत्तरतिर शनिश्चरे र दक्षिणमा भद्रपुरसमेत यी चार क्षेत्र प्रशस्त चर्चित झापा जिल्लाका स्थानहरू हुन्। पाँच छ दशकपूर्व काँकरभिट्टा र बिर्तामोडको नामै थिएन। महेन्द्र राजमार्गको कारण आज चर्चामा आए बिर्तामोड र काँकरभिट्टा।
बिर्तामोड ५० वर्ष अगाडिसम्म अस्तित्वमा थिएन। त्योबेला बरु भद्रपुर, शनिश्चरे, हँडिया बुधबारे, घैलाडुव्वाजस्ता बजारहरू प्रख्यात थिए। पुरानो आवतजावत गर्ने सडक, व्यापार गर्ने थलोका आधारमा ती स्थान अगाडि थिए। त्योबेला सुर्ती, पाटा लगायत लत्ताकपडा र खाद्यान्नका सामानका लागि ती बजारहरू चलेका थिए। राणा शासनको पालादेखि नै शासन प्रशासन गर्ने ठाउँका हिसाबले बरु हालको झापा बजारको नाम चलेको थियो। त्यो बेला झापाको सदरमुकाम त्यहीँ थियो। त्यो ठाउँलाई पछिसम्म टाघनडुब्बा भनिन्थ्यो।
अहिलेको महेन्द्र राजमार्ग वन्ने समयमा यसलाई अहिलेभन्दा केही उत्तरतिर वनाउने योजना थियो। तर त्यतिबेला धान खेत हुने जग्गा जाने र भोकमरी लाग्ने डरले विरोध भएपछि अहिलेको ठाउँमा ल्याइयो। त्यतिबेलाका हाइवे इन्जिनियर वीरेन्द्रकेशरी पोखरेल थिए। उनले नै यो राजमार्गलाई अहिलेको ठाउँमा ल्याएका हुन्। नत्र यो हाइवे अलिक मास्तिरबाट वन्ने अवस्था थियो।
धेरैपछिसम्म अहिलेको मुक्ति चोक भएको ठाउँलाई राजमार्ग चोक भनिन्थ्यो। त्यतिबेला राजमार्ग वनाउन आउने हिन्दुस्तान कम्पनी अहिले सडक विभागको जमिन भएको ठाउँमा बसेको थियो। बाटो बनाउन चाहिने सर सामाग्री, डोजर, ट्रकजस्ता उपकरण त्यहीँ राखिन्थ्यो। सडक बनाउन चाहिने मजदुरहरूलाई अहिले कृष्ण हल भएको ठाउँनेर राखिएको थियो। त्यतिबेला सडक निर्माणका लागि खटिएका इन्जिनियर, ओभरसियर लगायतका प्राविधिकहरू र प्रशासनीक कर्मचारीहरू बिर्ताबजारस्थित हाल महेन्द्र रत्न मावि दक्षिणपट्टी सीके प्रसाईले वनाएको आफू बस्नेघर निशी निवासको तल्तिरपट्टी बस्दथे।
यसरी ती कर्मचारी, मजदुर र अरुलाई पनि खाने सामाग्री बिक्री गर्नका लागि हाल पोखरेल मार्केट भएको ठाउँमा टाटीले बारेका र खरका छाना बनाइएका थिए। त्यहाँ विस्तारै धेरै पसलहरू खुले। धेरैपछिसम्म बिर्तामोड सामान्य बजार जस्तो मात्र थियो। पुराना काठका घर, ससाना झुप्रा र टहराहरू मात्र रहेको बिर्तामोडमा यातायातका साधन चल्न थालेपछि केही चहलपहल बढेको हो।
मानिसहरूलाई दैनिक आवश्यक पर्ने चिया नास्ता, खानापिना, किरानाका सामान चाहिन थालेपछि घुम्तीमा राखेर व्यवसाय सुरु गरिएका थिए। यो क्रम २०३० सालसम्म निरन्तर रहेको थियो। त्यसपछि बल्ल यो ठाउँले सहरको रुप धारण गरेको पाइन्छ। जब त्यो समयमा राजमार्ग निर्माण पुरा भयो, तब मात्र मानिसहरू यहाँ स्थायीरुपमा बसोबास गर्न थाले। त्यस अघिसम्म यहाँ केही औलामा गन्न सकिने परिवारहरू मात्र बस्दथे।