श्री भानुभक्त आचार्य भाषा साहित्यका कवि
तनहुँ गाउँ रम्घामा उदाए चम्किला रवि
अठार सय सम्बत्'मा एकहत्तर जो थपे
भएथ्यो भानुको जन्म असार बीस-नौ गते।
धनञ्जय पिता, माता देवी धर्मावती थिइन्
ममताको सुधा सारा पुत्रभित्र भरी दिइन्
बाजे श्रीकृष्ण आचार्य विद्वान थिए धुरन्धर
नातिलाई दिए शिक्षा लेखाइकन् अक्षर।
दिए संस्कृतको शिक्षा काशीसम्म लगिकन
लाग्यो बालक भानुको रामको भक्तिमा मन
कुनै दिन कुनै घाँसी भेटिएछ र भेटमा
कुरा गर्दा अनायास दिए छ उच्च प्रेरणा।
धनभन्दा ठुलो नाम भन्ने तथ्य बुझेपछि
कविताको फुट्यो मूल अध्यात्ममा रुझेपछि
लेखे प्रारम्भमा दुई कविता श्लोक सुन्दर
निखार शिल्पमा आई, फुर्दै गयो निरन्तर।
नेपालीमा मिठो पारी, उल्था रामायणै गरे
यसरी ज्ञानको ज्योति मानौँ विश्वभरि छरे
पूर्व पश्चिमका सारा नेपाली मनमा पसे
एकताको दिई मन्त्र भावका सूत्रले कसे।
अरू पनि ठुला साना कविता रचना गरी
दिए अमृतका धारा नेपाली मनमा भरी
संसारभरि नेपाली छरिएर बसे पनि
सबका दिलमा भानु बस्तछन् धुक्धुकी बनी।
आदिकवि भनी भानु चिनिन्छन् यस कारण
जयन्ती उनको मान्छौँ उनलाई नबिर्सन
नेपालीका घरैपिच्छे अनिवार्य गरिकन
श्रीरामायणको पाठ होओस् रोज दिई मन।
तब जोगिन्छ अस्तित्व हामी जहाँ पुगे पनि
जब बोलिन्छ मायाले नेपाली जननी भनी
असोज छ गते, सम्वत् त्यो उन्नाइस-पच्चिस
धर्ती छाडी गए भानु, रहे कृतिहरूबीच।