संस्थागत विधि–विधानकाे खिल्ली उडाउँदै एनआरएनए उपाध्यक्ष आचार्य

गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष नारायण आचार्यले संस्थाको विधि–विधानलाई खिल्ली उडाउँदै आफूनिकटका उम्मेदवारहरूको चुनावी प्रचारमा रमाइरहेका छन्।

अहिले संघको राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूमा धमाधम अधिवेशन भइरहेको छ। एनसीसी बेल्जियमको निर्वाचन आगामी आइतबार हुँदैछ।

बेल्जियमको नेतृत्वका लागि सीता सापकोटा, तीर्थराज धमला र अनुजा प्रधानले उम्मेदवारी दिएका छन्।

तर, केन्द्रीय उपाध्यक्ष आचार्यले उनै उम्मेदवार सापकोटाको पक्षमा खुलेर भोट माग्दै हिँडिरहेका छन्। उनको यो शैलीप्रति अन्य पदाधिकारीहरूले आपत्ति जनाइरहेका छन्।

विधान भन्छ– संघको केन्द्रीय पदाधिकारीले कुनै पनि एनसीसीमा हस्तक्षेप वा यस प्रकारको हर्कत गर्नु उपयुक्त ठानिँदैन। तर, आचार्यले यी सबै सीमा भत्काउँदै एकपक्षीय रुपमा आफ्नो कूकर्म पूरा गरिरहेका छन्।

‘वहालवाला पदाधिकारी चुनावी मैदानमा उत्रिनु सोभनीय मानिँदैन। सकेसम्म स्वतन्त्र नै बस्नुपर्छ, उम्मेदवारको पक्षमा खुल्नु संस्थाको मर्यादाविपरीत हुन्छ,’ संघकै अर्का एक केन्द्रीय उपाध्यक्षले भने।

उपाध्यक्षजस्तो गरिमामय पदमा रहेका आचार्यले आफ्नो मर्यादा बिर्सिएर एनसीसीको चुनावमा लाग्नु लजास्पद भएकोसमेत उनले बताए। ‘नारायणजीले लाजैमर्नु बनाए। यस्ता पात्रहरूका कारण एनआरएनएप्रति आम मानिसहरूको विश्वास घट्दै गइरहेको हो,’ उनले भने।

आचार्यले आफ्नो फेसबुकबाट सापकोटाको पोस्टर शेयर गर्दै भोट मागेका छन्।

आचार्यले आफूले एनआरएनए उपाध्यक्ष नभएर व्यक्तिगत विचार राखेकाे बताए। ‘मेरो अरु उम्मेदरवाहरुप्रति कुनै पूर्वाग्रह होइन। त्यहाँ कायम रहनुभएका सबै उम्मेदवारहरुलाई मेरो शुभकामना छ। मैले मेरो व्यक्तिगत विचारमा राखेको हो, एनआरएनएको उपाध्यक्ष भनेर पोस्ट गरेको छैन।’

एनआरएनएमा आफूनिकटका उम्मेदवार जिताउन भित्री रुपमा कसरत गर्नु कुनै नौलो विषय होइन। अदृश्य तरिकाले सबैले आफू निकटका उम्मेदवार जिताउन प्रयास गर्छन्। तर, आचार्यले भने खुल्मखुला तरिकाले संस्थाको मर्यादाविपरीत चुनाव प्रचार गर्न थालेपछि उनको आलोचना सुरु भएको छ।

प्रकाशित मिति: : 2023-07-13 14:37:00

प्रतिकृया दिनुहोस्