जुम्लाको तातोपानी गाउँपालिका–१ बाँइराकामा एक/दुई वर्ष, पाँच वर्ष होइन, पाँच दशकदेखि खानेपानीको हाहाकार छ।
स्थानीय मीनबहादुर शाहीका अनुसार पाँच दशकदेखि गाउँमा खानेपानीको अभाव छ। 'पाँच दशकदेखि गाउँमा खानेपानी नहुँदा तिला नदीकै दूषित पानी पिउन बाध्य छौं,' उनले भने।
पहिला पानी लिन तिला नदीमै पुग्ने गरेका गाउँले अहिले लिफ्टमार्फत तिलाको पानी पाउँछन्। तर, त्यो न स्वच्छ छ, न पुग्दो।
गाउँमा पुगेको लिफ्टले प्रतिघरमा ४० लिटर मात्रै पानी भर्न मिल्ने स्थानीय बचन शाहीले बताइन्। उनले भनिन्, 'पर्याप्त खानेपानी, सरसफाइ गर्ने पानी छैन। तिलाकै दूषित पानी हाम्रो सहारा हो।'
'बाबुबाजेले खोलाकै पानी खाए, हामीले पनि खायौँ,' मीनबहादुरले थपे, 'बाँइराकामा पानी पुर्याउने विषय चुनावका बेला निकै रसिलो बहस बन्छ। हरेक चुनावमा हुने पानीको राजनीतिले निकास दिन सकेन।'
पानीले काकाकुल बाँइराकाका स्थानीयले वडाध्यक्षदेखि संघीय सांसदसम्मको आश्वासन पाएका छन्। तर, स्वच्छ पानी अहिलेसम्म पाएका छैनन्।
'धन्न फोहोर पानी खाँदा पनि बाँचिएकै छ। ठूलो रोग लागेर अस्पताल जानु परेको छैन,' स्थानीय छुमकली सार्की भन्छिन्, '२०६४ सालदेखि अहिलेसम्म सांसददेखि वडाध्यक्ष सबैले बाँइराकामा पानी पुर्याउने आश दिए। तर पानी दिएनन्।'
जनसंख्या बढ्दैछ। पानी पिउनेको संख्या बढ्दैछ। तर पानीको स्रोत कतै छैन। गाउँमा खानेपानी नहुँदा बाँइराका गाउँका झन्डै एक सय २० घरधुरी नै नदीको दूषित पानी पिउन बाध्य छन्।
कनकासुन्दरी गाउँपालिका–७ देयारपाटाका एक सय २० घरधुरीले पनि खानेपानीको चरम अभाव भोगिरहेका छन्। गाउँदेखि झन्डै तीन किलोमिटर टाढा पर्ने सिमदह र मथुरा मुलदेखि ल्याएको पानीका सातवटा धारा गाउँको पायक पर्ने ठाउँमा छन्। तर, यी धारामा बिहान–बेलुका एक घन्टा मात्रै पानी चुहिन्छ।
स्थानीय जीवन हमालका अनुसार धारामा पानी भर्नेहरूको निकै भिड लाग्छ। लिटरको आधारमा भरेर पानी खाने गरिएको छ। पानी भर्न दिउँसो ४ बजेदेखि लाइनमा बसे पनि पानी भर्ने पालो पाइँदैन। खेतबारीबाट काम गरी घर फर्केपछि पानीकै चिन्ता हुने गरेको छ।
गाउँ नजिकै कुलो, खोला, नदी पनि नभएको देयारपाटामा पानीको ठूलो समस्या देखिएको छ। खानेपानी अभावमा बिहान–बेलुका खाना कसरी पकाएर खाने हो भन्ने चिन्ताले पिरोल्ने स्थानीय तुल्छा जिसी बताउँछिन्। उनले भनिन्, 'पानी नै छैन घरमा। गाग्री रित्तै हुन्छन्। धारोमा पानी आउँदैन।'
पानीको समस्या समाधान गरिदिन देयारपाटाका नागरिकले संघसंस्थादेखि स्थानीय–राष्ट्रिय नेताहरूलाई बारम्बार अपिल गरेका छन्।
२०५२ सालमा बनेका अधिकांश धारा जीर्ण छन्। त्यसयता गाउँमा खानेपानीका नयाँ योजना आएनन्। भएका मुल सुक्दै गए। पुराना धारा मर्मतसम्भार पनि भएका छैनन्। वर्षौँदेखि खानेपानीको हाहाकार हुँदा पनि स्थानीय, प्रदेश र संघ सरकार टुलुटुलु हेरेर बसेको भन्दै देवारपाटावासीले असन्तुष्टि पोखेका छन्।
बिहान हातमुख धुन, नुहाउन र खाना पकाउन पानी नभएको अर्का स्थानीय तुंगप्रसाद काफ्लेले बताए।
'गाउँदेखि एक घन्टा टाढा रहेको खिच्चने चौरमा पानी ल्याउन जाने गरेका छौँ,' उनले भने, 'छिमेकी गाउँ रोकायावाडाबाट पनि पानी ल्याएर काम चलाउनुपरेको छ।'
गाउँमा पानीको सानो मुल भए पनि पर्याप्त छैन। वडाध्यक्षका तेजबहादुर जिसीका अनुसार पानीको मुलको खोजी भइरहेको छ।
'बजेटको पनि पहल भइरहेको छ,' उनले भने, 'वैशाख–जेठको खडेरीका कारणले मात्र नभएर देयारपाटा गाउँमा बाह्रै महिना खानेपानीको समस्या छ। यो गाउँमा बृहत् खानेपानी आयोजनाको आवश्यकता छ।'
जिल्लाको तिला गाउँपालिका–१ रारागाउँमा पनि खानेपानीको उस्तै समस्या छ। ४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदैछ। मुल पनि सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको हो। गाउँमा खानेपानीकै विषयमा दैनिकजसो झगडा हुने गरेको छ।
रारागाउँको मुनि कर्णाली राजमार्गको जुम्ला सडकखण्ड छ। सडकमुनि तिला नदी अनवरत बगिरहेको छ। तर, नदीमा पिउनयोग्य पानी बग्दैन। रारा गाउँवरिपरि पर्याप्त उर्वर जमिन छ। तर, पानी अभावले रारागाउँ नै मरुभूमि भएको छ।
'घरवरिपरिका करेसाबारी बाँझै छन्। आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ। उत्पादन हुने जमिन छ, तर सुक्खा छ। नदीको पानी खेर गइरहेको छ। सुख्खा जमिनमा उभिएर तिला नदी हेरेर बस्छौं,’ स्थानीय धनराज रावतले भने।
उनले थपे, 'कैयौँ बालबालिका पानी भर्नकै लागि विद्यालय छुटाउँछन्। यो गाउँका विद्यार्थीलाई बिहान र बेलुका आफ्नो गृहकार्यभन्दा घरमा पानी छ कि छैन भन्ने पिरलो हुन्छ।'
स्थानीय नन्दबहादुर बुढाका अनुसार पानीकै विषयमा प्रत्येक दिन दुई–तीनजनाको झगडा भइरहन्छ। तीन दशकसम्म खानेपानीको अभाव झेलेको रारागाउँमा सरकारी तथा गैरसरकारी संस्था एवं सरकारीस्तरबाट सरसफाइमा ध्यान दिनुपर्ने सन्देश पुग्यो, तर स्वच्छ पानी पुगेन।
'सरसफाइका लागि सबैभन्दा बढी समस्या महिनावारी हुने महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई हुन्छ,' अर्की स्थानीय दन्तकला बुढाले भनिन्।
गाउँमा भएका चारवटा धाराबाट दिनमा दुई घन्टा मात्रै पानी आउँछ। १० हजार लिटरको ट्यांकी छ। राष्ट्रिय जनगणना २०७८ अनुसार रारामा दुई सय ६८ घरधुरी र एक हजार ६ सय २६ जनसंख्या छ। शुद्ध पानीको मुहान नहुँदा 'एक गाउँ एक वडा' भएको रारागाउँका नागरिकले दैनिक समस्या भोगिरहेका छन्। संघीय खानेपानी आयोजनाले चालू आर्थिक वर्षमै खानेपानी समाधान गरिदिने वाचा गरेको तिला गाउँपालिका–१ का वडाध्यक्ष जंगबहादुर बस्नेतले बताए।
अहिलेलाई छिमेकी वडाबाट पानी ल्याउनुको विकल्प नभएको उनले बताए।
उनले भने, 'यो गाउँका लागि बृहत् खानेपानी योजना निमार्णाधीन अवस्थामा छ। संघीय खानेपानी आयोजनाले न्यून बजेट विनियोजन गर्ने भएकाले आयोजना सम्पन्न हुन सकेको छैन।'
यही योजनाका कारण गाउँपालिकाले रारागाउँमा खानेपानीको अर्को योजना बनाएको छैन। संघीय खानेपानी आयोजनाले उक्त योजना निर्माण गर्ने आश्वासन दिएको वडाध्यक्ष बस्नेतको भनाइ छ।
स्थानीय सरकार पाएको ६ वर्षसम्म पनि खानेपानीको समस्या समाधान नहुँदा राराका स्थानीय सन्तुष्ट छैनन्।
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाँइराकाका नागरिकले तिला नदीको पानी लिफ्टमार्फत तानेर खाइरहेका छन्।
'त्यो पानी खानयोग्य हो–होइन ल्याब टेस्ट गरिएको छैन। स्थानीयले ल्याब टेस्टका लागि माग पनि गरेका छैनन्। माग नभए पनि हामीले छिट्टै ल्याब टेस्ट गर्ने योजना बनाएका छौँ,' उनले भने, 'खानेपानीको समस्या भएपछि सौर्य ऊर्जाबाट लिफ्टमार्फत नदीको पानी गाउँमा पुर्याएको हो।'