नेपाली कांग्रेसले केन्द्रीय बैठक बोलाएको अर्को दिन नै पार्टीका दुई महामन्त्रीले देशभरिका जिल्ला सभापतिहरूलाई काठमाडौंमा बोलाए। १४औं महाधिवेशनपछि एकपटक केन्द्रीय समितिको बैठक बस्याे, त्यसको लगभग ११ महिनापछि पार्टीले बल्ल बैठक बोलाएको थियो। तर त्यसअघि नै दुई महामन्त्रीले जिल्ला सभापतिहरूको भेला बोलाए।
पार्टी विधानको अधिकार प्रयोग गर्दै दुई महामन्त्रीले डाकेको बैठकबारे पार्टी केन्द्रीय कार्यालयले नै सार्वजनिक सूचना गरेर सबैलाई जानकारी दियो। तर केन्द्रीय कार्यालयमै दुई दिनसम्म भएकाे जिल्ला सभापतिहरूको त्यो भेलामा पार्टी सभापति शेरबहादुर देउवा भने देखिएनन्। जिल्ला जिल्लाबाट आएका सभापतिहरूले उनलाई भेट्न त खोजे तर देउवाले सबैलाई भेट दिएनन्। बरू आ–आफ्ना नजिकका सभापतिहरूलाई निवासमै बोलाएर भेटे।
पार्टीभित्र एकथरि ‘युवा’ नेताहरूले देशभरि पार्टी रुपान्तरण अभियान चलाइरहेका बखत ‘पार्टी सुधार्ने’ अर्को उद्घोष गरेका महामन्त्री गगन थापाले लगभग ‘मौन’ जस्तै रहेका अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई साथ लाएर जिल्ला सभापतिहरूलाई बोलाएको यो लगभग पहिलोपटक थियो।
१४औं महाधिवेशनको सुरुवातमै गगन थापालाई ‘प्रधानमन्त्री’का रूपमा ‘प्राजेक्सन’ गरेर आफू पनि महामन्त्री लडेका विश्वप्रकाश लगभग गगनजस्तै चम्किएर जिते। महाधिवेशनको लगभग एक वर्षपछि भएको आम निर्वाचनपछि संसदीय दलको नेता लड्न पनि गगनलाई विश्वप्रकाशले नै सघाए। ‘नेतृत्व बदल्ने’ धुन घन्काएका यी दुई महामन्त्रीहरू चुनावपछि लगभग हराएजस्तै भए। संसदीय दलको नेतामा पार्टी सभापति देउवाले नै जिते।
प्रधानमन्त्रीका स्वभाविक दाबेदार देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्हाल्न सकेनन् र एमालेसँग मिलेर तेस्रो भएको दल नेकपा माओवादीका अध्यक्ष उनै प्रचण्ड फेरि प्रधानमन्त्री भए। त्यसको दुई महिनामै फेरि देउवा प्रचण्डसँग नजिकिए र आफ्ना केही मन्त्रीहरू सरकारमा पठाउन सफल भए। एमालेलाई सरकारबाट बाहिर पठाए।
सरकार गठनको यही मेसोमा मन्त्रीहरूको भाग मागिरहेका गगन थापा र उनको समूह त्यही बाटोमा अल्झिरहेको थियो। अर्का नेता गुरु घिमिरेले पूर्वबाट पार्टी रुपान्तरणको अभियान घोषणा गरे। प्रदेश–प्रदेशमा संयोजक तोकेर उनले देशभरि कांग्रेसी भेला पारे अनि पार्टी नेतृत्वको आलोचना गरिरहे। त्यतिबेला महामन्त्री थापा भने खुलेर बाहिर आउन सकेनन्। बरू भित्रभित्र आफ्नै समूह बनाउन लागे र उनले पनि नेतृत्व बदल्ने अभियान सुरु गरे। तर त्यो औपचारिक आह्वान थिएन। बरू थापा आफैँ सकेजित जिल्ला–जिल्ला घुम्न थाले। योबेला अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने मौन थिए।
असार २२ गते यी दुई महामन्त्रीले बोलाएको भेलामा लगभग ४२ जिल्लाका सभापतिहरू उपस्थित भए। केही जिल्लाका प्रतिनिधिहरू पनि आएका थिए। अरू केही जिल्लाका सभापतिहरू अनलाइनमा जोडिए। पार्टी सभापति शेरबहादुर देउवाले देशभरिका ती जिल्ला सभापतिहरूलाई न आफैँ आएर भेटे, न अनलाइनबाट सम्बोधन नै गरे। यसको प्रष्ट सन्देश थियो– दुई महामन्त्रीले एकाएक बोलाएको यो भेलालाई सभापति देउवाले स्वीकार गरेका थिएनन्। भलै पार्टीले सार्वजनिक आह्वान र सूचना भने निकालेको थियो।
दुई दिनसम्म जिल्ला सभापतिहरूले दुई महामन्त्रीलाई निकै र्याखर्याख्ती पारे। घुमाउरो अनि सैद्धान्तिक पाराको जवाफ दिए पनि दुई महामन्त्रीले सिधा जवाफ दिन सकेनन्। किनकि ती प्रश्नका जवाफ उनीहरूले सिधै पार्टी सभापतिबाट चाहेका थिए। उनीहरूले जवाफमात्रै होइन, अब नेपाली कांग्रेसको प्रस्ट बाटो पनि चाहेका थिए। तर महामन्त्रीहरूसँग त्यसको कुनै रेखाङ्कन थिएन। र, दुई दिनसम्म पार्टी कार्यालय सानेपाको त्यो भव्य हलभित्र जिल्ला सभापतिहरूले प्रश्नमात्रै छरेर फर्किए।
नेतृत्वमा एकअर्कासँग जोरी खोज्दै नारिएका सभापति अनि महामन्त्रीहरूको समूहबीच स्थानीय तहमा अलमलिइरहेका जिल्ला सभापतिहरू झन अलमल बोकेर फर्किए। ‘हामीलाई त लाग्यो महामन्त्रीहरूले पार्टी सभापतिलाई गाली गर्नमात्रै यहाँ बोलाएका रहेछन्। हामीले प्रश्नहरू राख्यौं। जिज्ञासा राख्यौं तर स्पष्ट जवाफ नै पाएनौं’, पश्चिमका एक जिल्ला सभापतिले भने, ‘अब केही होला कि भनेर आएका हामीहरू त झन अलमल लिएर फर्कियौं।’
भेलामा सहभागी भएका जिल्ला सभापतिका अनुसार त्यहाँ महामन्त्रीहरूले समाधानका कुनै बाटाहरू नै दिएनन्। बरू पार्टी सभापतिसँगका गुनासा र गालीमात्रै सुनाए। मनको बहमात्रै पोखे। अब के हुन्छ? कसरी हुन्छ? त्यो केही भनेनन्। ‘ती गुनासा र गालीहरू त फेसबुकमै पनि गरिरहेका हुन्थे। अरू कार्यक्रममा पनि भनिरहेका हुन्थे। पार्टी सभापतिलाई नै ल्याउन सकेनन्’, सहभागी भएर फर्किएका एक सभापतिले भने, ‘त्यस्तो भेलाको के अर्थ? एक हप्तापछि केन्द्रीय समितिको बैठक बस्दैछ। त्यहीँ आएका पार्टी सभापतिलाई सुनाए त भइहाल्थ्यो नि!’
१४ बुँदाहरूको एउटा औपचारिक घोषणापत्र बनाएर सकिएको त्यो भेलाका बारेमा महामन्त्री गगन थापाले भनेका छन्, ‘बैठकमा उपस्थित सभापतिहरूले जुन विचार, सुझाव र प्रतिबद्धता जाहेर गर्नुभएको छ, यसले 'बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने अभियानलाई थप गति प्रदान गर्नेछ।’
दुई दिनसम्म लगातार सूचना निकाल्दै जिल्ला सभापतिहरूको भेलाबारे जानकारी गराएको कांग्रेस केन्द्रीय कार्यालयले त्यो भेलामा लेखिएका ती १४ बुँदा भने सार्वजनिक गरेको छैन। थापाका अनुसार २७ गते हुने केन्द्रीय समितिको बैठकमा त्यो घोषणापत्र पार्टी सभापतिलाई बुझाएर सार्वजनिक गरिनेछ।
के कांग्रेस बदलिन्छ?
‘यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोशिस गरेको हो’, शनिबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा कांग्रेस महामन्त्री थापाले भनेका थिए, ‘मैले सबै साथीहरुको चित्त त बुझाउन सकिनँ। तर म थाकेको छैन, हारेको छैन।’ भलै त्यो संसदीय दलको निर्वाचनमा हार भो तर पार्टीभित्र हार्ने छुट त गगनलाई कहाँ छ र!
यी उनै महामन्त्री हुन्, जसले १४औं महाधिवेशनमा देशभरिबाट जुटेका हजारौं कांग्रेसीलाई भनेका थिए, ‘सैद्धान्तिक र सांगठनिक पार्टीको रुपान्तरण गर्न रचनात्मक हस्तक्षेपका लागि यो उम्मेदवारी दिइरहेको छु।’ त्यहाँ हजारौं औँठाहरूले गगनका नाममा छाप हाने। उनले जिते। तर गठबन्धन गरेर आम चुनाव लडेको नेपाली कांग्रेस संसदमा अरू पार्टीभन्दा धेरै सांसद ल्याएर पनि सत्ता नेतृत्व गर्न सकेन।
यहीबेला गगनहरूले न पार्टीभित्र हस्तक्षेप गर्न सके, न देउवाका अघि विद्रोहका हात उचाल्न। एउटा महामन्त्री शर्मा मौन बसेर चुपचाप रमिता हेरिरहे। अर्का महामन्त्री थापा समूह बनाउनमात्रै लागे। सत्ता अनि नियुक्तिहरूमा आफ्ना लागि भागबण्डा माग्नमै व्यस्त भए।
अब आएर थापा भन्दैछन्, ‘देशको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुरा हो। दलको नेता रामचन्द्र पौडेल हुँदै गर्दा शेरबहादुर देउवा प्रधानमन्त्रीको उम्मेदवार बन्न मिल्ने हो भने शेरबहादुर देउवा दलको नेता हुँदा गगन थापा प्रधानमन्त्री हुन किन नमिल्ने हो त? मिल्ला नि त त्यहाँ पनि? ठाउँ त त्यहाँ पनि होला, हाम्रै पार्टीभित्र गरेर आएको हो।’
गगनलाई यत्ति पनि हेक्का छैन, त्यो परिस्थिति अर्कै थियो। अहिले स्थिति फरक छ। त्योबेला संसदीय दलको नेता शेरबहादुर देउवा हुन सकेनन् तर चुनाव जितेर संसदीय दलको नेता भएका रामचन्द्र पौडेलले देउवालाई नै प्रधानमन्त्रीका उम्मेदवार बनाए।
देउवा र पौडेल एकै होइनन् र छैनन्। न गगन र पौडेल एकै हुन्। देउवा फरक छन्। फरकै रहिरहन्छन्। गगनले भन्नासाथ न उनले पार्टी नेतृत्व छोड्लान्। न थापाको चाहनाअनुसार देउवा बदलिनेछन्। कांग्रेस त्यस्तै रहन्छ, जो अहिले देउवाले चाहिरहेका छन्। र पनि गगन भनिरहेका छन्, ‘फेरि पनि म कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्छु। सके बदल्नेछु। बदल्नै पर्नेछ। त्यसलाई बदल्न नै सके आफू बन्छु, नसके अरुलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु। त्यो बदलिनपर्छ र बदल्ने ठाउँ दिएको छ, बदल्ने ठाउँ कहाँ दिएको छ भने त्यहीँ दलभित्रै छ।’
गगनमात्रै होइन, उनलाई पछ्याउनेहरू अनि उनलाई नपछ्याउने वा उनीजस्तै हुन चाहनेहरू अहिले कांग्रेस बदल्ने धुनमा छन्। ‘परिवर्तन’ फुक्ने त्यो डम्फू सबले आ–आफ्नै तालमा बजाइरहेका छन्। तर देउवाले सुने पो त!