यतिबेला काठमाडौँ सहर झिलिमिली छ। सडकहरु उज्याला छन्। घरहरु ज्याला छन्। सबैका कोठाहरु उज्याला छन्। तर, काठमाडौँ महानगरपालिका– ३२ स्थित नरेफाँटकी अम्बिका मण्डल बसिरहेको घर अँध्यारो छ। त्यहाँ बस्ने १४ परिवारका कोठाहरुमा मैनबत्ती टिल्पिलाइरहेका छन्।
मण्डल परिवारको घरमा बलिरहने बत्ती काेरोना महामारीपछिको आर्थिक संकटको हुरीले निभाइदिएको छ। र त देशकै सबैभन्दा लोकप्रिय भनिएका मेयर बालेन्द्र साह (बालेन)को सहरमा एउटा घरका १५ परिवार अँध्यारोमा बस्न बाध्य छन्।
कथा लामो छ, व्यथा धेरै छन् तर मात्रै अहिले भन्नुपर्ने कुरा एउटै छ।
अहिले अम्बिका मण्डलको परिवारसहित १५ परिवार बसेको करिब ५ करोड रकम पर्ने (मण्डल परिवारको दाबीअनुसार) पाँचतले घर ऋण तिर्न नसकेपछि सिटिजन बैंकको बानेश्वर शाखाले लिलाममार्फत २ करोड ८५ लाखमा आफ्नै कर्मचारी शैलेन्द्र पाण्डेलाई बेचेको छ।
तर,
मण्डल परिवारले सिटिजन बैंकले ‘ग्राहकमारा योजना’अनुरुप आफ्नो घर मात्रै १ करोड ३ लाखमा लिलामी गरेको भन्दै घर नछाड्ने अडान लिएको छ। सिटिजन बैंकले आफ्नो घर आफ्नै कर्मचारीलाई दिलाउने गरी सस्तो मूल्यमा हडपेको भन्दै ६ महिनाअघि काठमाडौँ जिल्ला अदालतमा मण्डल परिवारले मुद्दा दायर गरेको थियो, जुन अहिलेसम्म विचाराधीन अवस्थामा छ।
उक्त मुद्दाको फैसला नआउञ्जेल घर नछाड्ने अडानसहित मण्डल परिवार बसिरहेको छ।
तर,
शैलेन्द्र पाण्डेले घर छिटो खाली गर्न धम्की दिँदै आएका छन्। फलस्वरुप पाण्डेले मण्डल परिवारभन्दा अगाडिका घरधनी जयबहादुर कार्कीको नाममा रहेको विद्यतीय मिटर नेपाल विद्युत प्राधिकरणको कार्यालयलाई फिर्ता लैजान लगाए।
पाण्डेले उक्त घर आफ्नो भएको भन्दै कार्कीलाई त्यस घरमा रहेको उनको नामको विद्युतीय मिटर फिर्ता लैजान भन्दै विद्युत कार्यालयमा निवेदन दिन लगाए। त्यसपछि गत शुक्रबार नेपाल विद्युत प्राधिकरण मध्यबानेश्वर कार्यालयले मिटर फिर्ता लगेर विद्युत लाइन काट्यो। त्यसदिनदेखि उक्त घर अँध्यारो छ।
अदालतमा मुद्दा चलिरहेको छ, त्यसको फैसला होला। लेनदेनको व्यवहारिक कुरामा सहमती होला। तर, मानवीयता आधारमा कोही कसैले पनि कोही कसैलाई अँध्यारोमा बस्न बाध्य पार्न नहुनुपर्ने हो। तर, त्यसको हुन सकेन। धन हुनेहरुको मन भएन्।
नेपाल जलस्रोतमा विश्वको धनी देश हो। त्यहीअनुसार सुस्त गतिमा भए पनि विद्युत उत्पादन भइरहेको छ। र, देशले खपत गरेर बढी भएको विद्युत छिमेकी देशलाई पनि बेचिरहेको छ। तर, आर्थिक संकटमा परेको मण्डल परिवार अँध्यारोमा बस्न बाध्य छ।
त्यस्तो त मण्डल परिवारले पनि ऊर्जाका अन्य विकल्पहरु प्रयोग गर्न सक्नुपर्ने हो तर पाण्डेको त्रासले छिमेकीहरुले लाइन दिन मान्दैनन्, अन्य खर्चिला विल्कपहरुसम्म हैसियत पुगेन। भने, सहयाेगकाे याचना गर्दा बिद्युत कार्यालयले पनि आज (बिहीबार) विद्युत नदिने भन्दै धम्काएकाे छ।
यसरी कठिन अवस्थामा पुगेको परिवारमा राज्यले उज्यालो प्रदान गर्नुपर्ने हो। त्यसमाथि बालेनको सहर ‘कोही मानिस अँध्यारोमा बस्न बाध्य भयो रे’ भन्ने सुन्न पर्ने अवस्था आउन नपर्ने हो।
तर,
त्यहीँ नरेफाँटमा घरको कुनामा राखेको ठेलागाढा देखेर नगर प्रहरी खटाई उठाउन लगाएका मेयर बालेनले त्यो अँध्यारो घर देखेनन् कि देखेर पनि नदेखेजस्तो गरे ?
मण्डल परिवार पनि यो देशका नागरिक हुन्, काठमाडौँ महानगरपालिकाका बासिन्दा हुन्, उनीहरु पनि उज्यालोमा बस्ने पाउनुपर्छ। त्यसैले विल नतिरेका अराजकहरुको घरमा लाइन काट्ने बालेनले बाध्यतामा परेको मण्डल परिवारलाई उज्यालो प्रदान गर्नुपर्छ। र, गरुन् पनि।
अन्यथा,
मण्डल परिवारले पनि अँध्यारो घरमा बसेर सुन्न बाध्य हुनेछन्,
गाई त बाँध्यो ढुङ्ग्रोमा मही छैन, मही छैन।
गरीबको चमेली सुन्दिने कोही छैन....