एनआरएनए (नेपाल एसोसिएसन) युएईको अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

एनआरएनए (नेपाल एसोसिएसन) युएईको ८औं अधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचन आचारसंहिता र कार्यतालिका सार्वजनिक गरेको छ।

एनआरएनए (नेपाल एसोसिएसन) युएईका प्रमुख संरक्षक रमेश श्रेष्ठको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले १८ बुँदे निर्वाचन आचारसंहिता र चुनावी कार्यतालिका सार्वजनिक गरेको हो।

निर्वाचन आचारसंहितामा निर्वाचन समितिका पदाधिकारीहरुले र निर्वाचनमा सहभागी उम्मेदवारहरुले पालना गर्नुपर्ने नियमहरु उल्लेख गरिएको छ।

आगामी जुलाई ३० तारिख दुबईको काल्टन टावरमा आयोजना हुने अधिवेशनबाट एनआरएनए (नेपाल एसोसिएसन)को २०२३-०२५ को कार्यकालका लागि सर्वसम्मतिले कार्यसमिति चयन गर्न कोसिस गरिने निर्वाचन समितिका संयोजक रमेश श्रेष्ठले जानकारी दिए। सर्वसम्मति नजुटेको खण्डमा संस्थाको विधानअनुसार निर्वाचन गरिने उनले बताए। निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन आफू प्रतिबद्ध रहेको उनले बताए।

युएईमा एनआरएनए नेपाल एसोसिएसनका रूपमा स्थानीय निकायमा दर्ता भएको छ। युएईको सरकारी निकायमा दर्ता भएको संस्था हुनाले स्थानीय नीति, नियमको पालना गर्दै विधिसम्मत रूपले नयाँ कार्यसमिति चयन गरिने निर्वाचन समितिका संयोजक श्रेष्ठ बताउँछन।

यसपटकको अधिवेशनमा सम्पूर्ण पंजिकृत सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था गर्न लागिएको निर्वाचन समितिले जानकारी दिएको छ। त्यसका लागि अनलाइन भोटिङ प्रणाली प्रयोगमा ल्याइने बताइएको छ।

निर्वाचन कार्यक्रमका लागि एनआरएनए (नेपाल एसोसिएसन)का प्रमुख संरक्षक रमेश श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ। समितिमा पूर्वअध्यक्ष सुदिप कार्की र पुर्व महासचिव कृष्ण पौडेल रहेका छन्। पौडेल नेपाल एसोसिएसनका बोर्ड सदस्य समेत हुन।

प्रकाशित मिति: : 2023-07-06 11:55:00

प्रतिकृया दिनुहोस्