फोक्सुण्डो पुगियो तर अपर डोल्पाको फुर्ती बोकेर हिँडेका हाम्रो यात्रा यहीँ टुंगिने देखियो । भेटेका/कुरा गरेका कसैले पनि माथिल्लो डोल्पा जान सकिन्छ भनेनन् । हाम्रो हिम्मत बाँकी रहेन । विकट हिमाली भूगोल र प्रतिकूल मौसमसँग आत्मसमर्पण गर्नुबाहेक हामीसँग अर्को विकल्प रहेन ।
रात झमक्कै परेपछि रिग्मो गाउँ पुगेका थियौँ । निख्खर अँध्यारोमा रेनकोट ओढेर हामी तीन प्राणी लुसुलुसु हिँडिरहेका छौँ । ढाडमा झोला त छँदै छ । ढुंगाको गाह्रो, ढुंगाकै छानो भएका, भित्तामा माटोले लिपेर छानामा पनि माटोले नै छोपिएका सुन्दर हिमाली घरहरू भएको सुन्दर गाउँ हो रिग्मो । तर, अँध्यारोमा देख्ने कुरै भएन । हामी यी घरहरूबीचका गल्ली छिचोल्दै गाउँको पूर्वपट्टि निस्कियौँ । बास बस्ने कहाँ हो, केही टुंगो थिएन । बाटोमा फोन लागेको भए पो टुंगो हुन्थ्यो ।