थाप्लेमा हनुमतधाम निर्माण गरिने

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित थाप्लेमा हनुमतधाम निर्माण गरिने भएको छ। प्राचीनकालदेखि सल्यान र आसपासका सर्वसाधारणले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दै आइएको थाप्लेको भूमे मन्दिर नजिकै हनुमतधाम निर्माण गर्ने गरी पहल बढाइएको हो।

धाम निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट विस्तृत आयोजना प्रतिवेदन तयार गरिसकिएको छ। यसअनुसार ७० मिटर लम्बाइ र ५० मिटर चौडाइ क्षेत्रफलमा हनुमानको मूर्ति रहने जनाइएको छ। डोमबाट ६४ फिट उचाइमा हनुमानको मूर्ति रहने छ। मूर्तिसहित राम–सीताको मन्दिरलगायतका संरचना रु २३ करोड ७३ लाख ५३ हजारको लागतमा निर्माण हुनेछ।

धाम निर्माणका लागि सोमबार आयोजित बृहत् छलफल एवं अन्तरक्रियामा वक्ताहरूले कुनै पनि आग्रह–पूर्वाग्रह नलिई यस क्षेत्रको समुन्नतिका लागि एकजुट बन्नुपर्ने आवश्यकता औँल्याए। कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले महाबली हनुमानले लक्ष्मणलाई बचाउनका लागि कालाञ्जर पर्वतबाट सञ्जिवनी बुटी ल्याउने क्रममा यस स्थानमा टेकेको विश्वास रहेको बताए। यहाँस्थित शिलामा हनुमानका पाइला रहेको विश्वास गरिन्छ।

यहाँ हनुमतधाम निर्माण गरेसँगै यो गण्डकी प्रदेशको मात्र नभई समग्र नेपालको नै विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बन्ने उनले बताए। धामसँगै यस स्थानमा हनुमत औषधालय, गुरुकूल आदि निर्माण हुने उनले बताए। अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसीले यस क्षेत्रको समृद्धि र विकासका लागि हनुमतधाम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै यसका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए। धाम निर्माणमा गाउँपालिकाका तर्फबाट सक्दो सहयोग हुने उनले बताए।

प्रदेशसभा सदस्य प्रकाश बरालले पुम्दीकोटमा विशाल महादेव निर्माणको अनुभव व्यक्त गर्दै निर्माणमा प्रत्येक स्थानीयले अपनत्व लिनुपर्ने आवश्यकता औँल्याए। प्रदेशसभा सदस्य सरस्वती गुरुङले यस स्थलको सुन्दरता र महत्वलाई उजागर गर्न हनुमतधाम निर्माणलाई निष्कर्षमा पुर्‍याउनु पर्ने बताए। नेपाली कांग्रेसका केन्द्रीय प्रचार विभाग सदस्य राजबहादुर गुरुङले निर्माणाधीन हनुमतधामसँगै आसपासका पुम्दीकोटको शिवमन्दिर, पञ्चासे, कास्कीकोट, सराङकोट हुँदै तान्चोकसम्मका धार्मिक पर्यटकीय गन्तव्यलाई समेटेर विकास गर्न सकिने बताए।

अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष युवराज कुँवरले अघिल्लो कार्यकालमा ताल चियाउने गराबाट थाप्लेसम्म आउने पदमार्गको निर्माणसँगै यस क्षेत्रको पूर्वाधार निर्माणमा पहल गरिएको बताए। नेकपा (माओवादी केन्द्र ) अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष शोभाखर अधिकारीले हनुमतधामलाई पुम्दीकोट, पञ्चासे, कास्कीकोटको कृष्ण मन्दिर, सराङ्कोटको गणेश मन्दिरसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोद कुँवरले धाम निर्माणका लागि साथ र सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: : 2023-06-27 09:06:00

प्रतिकृया दिनुहोस्