काठमाडौँको बजेट: सडकदेखि विद्यालयसम्म सुन्दर बनाइने, श्रम बैंकबाट रोजगार

काठमाडौँ महानगरपालिकाले सडकदेखि विद्यालयसम्मको सौन्दर्यकरणको योजनासहित बजेट ल्याएको छ। आइतबार आर्थिक वर्ष २०८०/८१ का लागि नगरसभामा प्रस्तुत गरिएको बजेट तथा कार्यक्रममा सडक सौन्दर्यकरणमा काठमाडौँ महानगरले प्राथमिकता दिएको छ।

‘धुलोरहित काठमाडौं’, ‘सुन्दर महानगर योजना’, ‘उज्यालो शहर, मेरो माहनगर’जस्ता कार्यक्रमबाट सौन्दर्यकरणलाई प्राथमिकताका साथ महानगरले बजेट छुट्याएको छ। महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेट सार्वजनिक गर्दै महानगरभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये डिपिआर भएका सडक तथा पेटीहरु मर्मत गर्न १ अर्ब बजेट विनियोजन गरेको बताइन। जुन ‘धुलोरहित काठमाडौं’ योजनाअन्तर्गत उक्त काम हुनेछ।

यस्तै महानगरले ‘सुन्दर महानगर योजना’अन्तर्गत महानगरभित्रका सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई नियमित मर्मत गर्न रु. १० अर्ब छुट्याएको छ। ‘उज्यालो शहर, मेरो माहनगर’ अन्तगर्गत सबै सडक तथा गल्लीमा सडक बत्ती जडान गर्ने एवम् महानगरका १०० वटा मुख्य चोक तथा क्षेत्रमा लाइट जडान गर्न ३० करोड बजेट विनियोजन भएको छ।

‘मेरो रहर, हरित सहर’ उद्देश्यका साथ महानगरले पार्क, आइल्याण्डको निमार्ण, ममर्त, संरक्षण र वृक्षारोपणसम्बन्धीको अभियान सञ्चालन गर्ने भएको छ। जसका लागि महानगरले ५० करोड रुपैयाँ बजेट विनियोजन गरको छ।

काठमाडौं महानगरले सामुदायिक विद्यालय परिसरभित्रको सरसफाइ र सौन्दर्यकरणलाई ध्यान दिँदै विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउन ५ करोड बजेट विनियोजन गरेको छ। शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ बजेट छुट्याएको महानगरले शिक्षा क्षेत्रको विभिन्न कार्यक्रम गर्न १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

यस्तै ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाअन्तर्गत विभिन्न कार्यक्रम गर्ने महानगरको योजना छ। जसका लागि ५० करोड बजेट विनियोजन भएको छ। एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्था, सबै सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गर्न महानगरले बजेटको व्यवस्था गरेको छ।

श्रम बैंकबाट युवालाई रोजगार

काठमाडौँ महानगरले युवा जनशक्तिलाई ‘श्रम बैंक’ योजनाअन्तर्गत रोजगारको अवसर सिर्जना गर्न बजेट विनियोजन गरेको छ। बजेट सार्वजनिक गर्दै उपप्रमुख डंगोलले भनिन्,‘महानगरभित्रका युवा जनशक्तिहरुलाई ‘श्रम बैंक’ स्वर्णिम योजनामा आबद्ध गराई सीप तथा क्षमता विकासमार्फत रोजगारीको अवसर सिर्जना गर्न रु. १० करोड रकम विनियोजन गरेको छु।’

यस्तै महानगरमा लामो समयदेखि कार्यरत कर्मचारीको स्तरवृद्धि गरिने, कर्मचारी अवकासका लागि अवसर दिइने विषय बजेटमा समेटिएको छ। २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको महानगरले नेपालका अन्य पालिकालाई ३५ वटा एम्बुलेन्स उपहार दिने भएको छ। जसका लागि ७ करोड बजेट विनियोजन गरेको छ।

यसैगरी महानगर क्षेत्रका नदी किनार क्षेत्र समेतको संरक्षण कार्यक्रमलाई महानगर स्वर्णिम योजनाको रुपमा सञ्चालन गर्न रु. ७ करोड, फोहाेरमैला व्यवस्थापनका लागि ८७ करोड ९३ लाख रुपैयाँ, पैदल यात्रीलाई सहज आवागमन एवम् सडक सुरक्षा कार्यक्रम गर्न १० करोड बजेट विनियोजन गरेको छ।

तरकारी तथा फलफूलको विषादी परीक्षण गरिने

काठमाडौं महानगरले कृषि क्षेत्रमा पनि बजेट विनियोजन गरेको छ। तर, निकै कम मात्रामा बजेट विनियोजन भएको छ। तरकारी, फलफूल तथा माछामासु र अन्य खाद्यवस्तुको सहज उपलब्धताको लागि अन्य स्थानीय तहसँग सम्झौता गरी कृषिउपजको बिक्री वितरण तथा भण्डारण गर्ने संस्थागत प्रबन्ध तथा एग्रोपुलिङ कार्यक्रमको लागि रु. १ करोड बजेट विनियोजन भएको छ।

महानगरभित्र भित्रने तरकारी एवम् फलफूलको विषादी परीक्षण गर्न विषादी परीक्षण प्रयागशाला स्थापना गर्न रु. १ करोड ५० लाख विनियोजन भएको छ। महानगरभित्रका व्यक्तिगत तथा संस्थागत भान्छाहरुलाई स्वस्थकर बनाउन रु. ३ कराेड ५० लाख बजेट विनियोजन भएको छ।

यस्तै महानगरको टेलिभिजन स्थापना गर्न ५ करोड, डुवान समाधानका लागि ४ करोड, विपद् व्यवस्थापनका सामग्री खरिदका लागि ३ करोड ५० लाख एक वडा एक नमुना उद्यम कार्यक्रमका लागि १ करोड, एक टोल, एक खेलकुद पूर्वाधारका लागि १० करोड ५० लाख बजेट विनियोजन गरिएको महानगरकी उपप्रमुख डंगोलले बताइन।

प्रकाशित मिति: : 2023-06-25 20:26:00

प्रतिकृया दिनुहोस्