‘कोसिस गर्नेहरुको हार हुँदैन’

restaurantonline
restaurantonline

करिब पाँच महिनाअघि ‘मास्टर सेफ’ उपमाले परिचित सन्तोष साह बेलायती साथीलाई लिएर जनकपुरधाम आएका थिए। आफ्नो जन्मथलो जनकपुरधामको परिवेशबारे बेलायती साथीलाई साक्षात्कार गराउनु साहको उद्देश्य थियो।

‘मिथिला थाली’बाटै बिबिसीको ‘मास्टर सेफ’ उपविजेता बनेका साहको उद्देश्य मिथिलाञ्चलको ऐतिहासिक राजधानीको सांस्कृतिक एवं ऐतिहासिक गौरवसँग जोडिएका विविध पक्षबारे साथीहरूलाई जानकारी दिनुका साथै स्थानीय परिकारको स्वाद चखाउनु पनि थियो। तर, त्यति धेरै प्रयास गर्दा पनि खोजे र रोजेजस्तो परिकार खुवाउन नपाएकोमा साहलाई अझै पनि पछुतो छ।

त्यसको केही समयपछि जनकपुरका स्थानीय परिकारको प्रचार गर्ने उद्देश्यसहित अर्को पटक जनकपुर आउने कार्यक्रम त बन्यो तर खोजे र रोजेजस्तो खाना खान नपाउने समस्या फेरि दोहोरिने भयो। त्यसैले उनले साथीकै रेस्टुराँमा खाना खाने निधो त गरे। तर, दुई घण्टा कुर्दा पनि ताजा खाना खान पाएनन्।

त्यसपछि मात्रै जनकपुरधाममा ‘मिथिला थाली’ रेष्टुराँ सञ्चालन गर्ने योजना जन्मिएको साहको भनाइ छ। ‘म यही माटोमा जन्मिएँ, हुर्किएँ र यहीँको परिवारले ख्याति पनि कमाएँ’, उनले भने, ‘यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच त थियो तर यति चाँडै गरौँला भन्ने तयारी थिएन।’ ती दुई अनुभवबाट प्राप्त सिकाइले जनकपुरमा मिथिला थाली जन्मिएको उनको भनाइ छ।

‘मिथिला थाली व्यापार मात्रै होइन’

मिथिला थाली सञ्चालन गर्ने भएपछि त्यसको सम्भावना, मौलिक परिकारका लागि आवश्यक कच्चा पदार्थको उपलब्धता बुझ्न साहलाई गाउँ पस्नु पर्‍यो। जसमा साहलाई दाइ दिलीपकुमारले सहयोग गरे। तर, गाउँमा भने जस्तो सामान पाउन भने गाह्रो भयो।

‘युवाहरू वैदेशिक रोजगारीमा गएपछि पहिले जस्तो खेती नहुने रहेछ। उत्पादन कम हुन थालेपछि खोजेको जस्तो सामान भेट्न गाह्रो भयो’, उनले भने। साहले चार महिनामा गाउँबाट करिब चार सय केजी ‘बिर्या’ जम्मा गरे। बेथेको सागबाट बन्ने एक केजी बिर्याका लागि करिब १० केजी साग आवश्यक पर्छ। अग्रिम भुक्तानी गरेर सङ्कलन गरेको चार सय केजी बिर्याले मुस्किलले एक महिना मात्रै पुग्ने साहले बताए।

त्यसैगरी पाँच सय केजी आँपको अचार, तिलौरी (चामलको कनिकाबाट बन्ने) र एउटा मिथिला थालीमा राखिने १५ देखि १७ प्रकारका परिकारका लागि आवश्यक सामग्री स्थानीय बजार र गाउँघरबाट ल्याइएको उनको भनाइ छ। साहले नेपाली खानाको मौलिकता र विविधतालाई संरक्षण गर्ने, गृहिणीलाई उत्पादनसँग जोडेर एक रुपैयाँ मात्रै भए पनि घर–घरसम्म पुर्‍याउने सपनासहित मिथिला थालीमार्फत परिकारको प्रवर्द्र्धनमा जुटेको बताए।

सन् १९९९ मा भारत प्रवेश गरेदेखि बेलायतमा रहँदासम्म विभिन्न जातजातिका मौलिक नेपाली परिकार बनाउन सिकेका साहले मिथिला परिकार सिक्न थालेको भने पाँच वर्ष मात्रै भएको सुनाए। ‘चौध वर्ष इन्डियामा काम गरेँ। त्यसपछिका १३ वर्ष लन्डनमा बिताए। म भारतीय खानको सेफ भए पनि यसबीच थकाली, नेवारी, थारूदेखि धेरै नेपाली खानाका परिकारबारे पढेँ र जान्ने मौका पाएँ’, उनले भने।

जीविका चलाउनका लागि अनेकन परिवार बनाए पनि बिबिसीबाट प्रसारित ‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा उपविजेता भने ‘मिथिला थाली’ले नै बनाएको उनको भनाइ छ। ‘त्यसैले यो संस्कृति जोगाउने दायित्व मेरो पनि हो भन्ने म ठान्छु, सोही आधारमा म अगाडि बढेको हुँ।’

उनी उपविजेता बनेपछि विश्वमा मैथिली परिकारबारे चर्चा भए पनि नेपालमा भने मिथिला क्षेत्रका मौलिक परिकार लोपोन्मुख अवस्थामा भएको उनको अनुभव छ। नयाँ पुस्ताले मिथिलाका परिकारको स्वाद लिन नपाउने मात्रै होइन, तिनको अस्तित्व नै हराउने डरले पनि मिथिला थाली खोल्न उद्वेलित गरेको साहको भनाइ छ।

लक्ष्यः पाँच वर्षमा एक सय ‘मिथिला थाली’ 

भारतमा नौ सय भारु तलबबाट जागिरे जीवन सुरु गरेका साहसँग यतिबेला नाम र दाम दुवै छ। उनलाई नामले मात्रै लाखौँ कमाउने अवसर छ। तर, उनी त्यतिमै मात्र सीमित हुन चाहन्न।

‘जागिरबाट कर्जन्हाबाट वैदेशिक रोजगारीमा जाने युवाले के पाउँछन् ?, पाँच वर्षको उमेरमा बुवा गुमाएर सात सन्तान हुर्काउन एकल आमाले के पाउँछन् ?’, उनले भने, ‘मलाई यी प्रश्नले घोच्यो र उत्तरका रुपमा मिथिला थाली जन्मियो।’

साहसँग पाँच वर्षभित्र नेपाल र विश्वका विभिन्न एक सय स्थानमा मिथिला थाली पुर्‍याउने लक्ष्य छ। उनको यो लक्ष्यमा हिमालयन ग्लोबल इन्भेस्टमेन्ट कम्पनी जोडिएको छ।

‘यो व्यापार मात्रै होइन, अभियान पनि हो। यसको सफलतासँगै प्रत्यक्षरूपमा तीनदेखि चार सयले रोजगारी पाउँछन्’, उनले भने, ‘ती रेस्टुराँमा एकल महिलाले काम गर्ने छन्। उत्पादनसँग जोडिने भएपछि सयाैँ गृहिणी तथा किसान पनि लाभान्वित हुने छन्।’ प्रत्येक मिथिला थालीमा रु। एकदेखि तीनसम्म गरीब, अनाथ, असहाय, एकल महिला र छोरीहरूमा खर्च गरिने उनको भनाइ छ।

गत असार ६ गते आमाको हातबाट उद्घाटन गरिएको मिथिला थालीमा करिब रु. दुई करोड लगानी भएको छ। त्यसयता थालीप्रतिको मानिसहरुको आकर्षणले साहलाई थप हौसला मिलेको छ। साथै उनको पञ्चवर्षीय योजना सफल हुनेमा विश्वास बढेको छ।

‘कोसिस गर्नेहरुको हार हुँदैन’

सिरहाको कर्जन्हा नगरपालिका– ९ सूर्यानी टोलमा जन्मिएका साहले पाँच वर्षको उमेरमा बुवा गुमाए। त्यसपछि आमा एक्लैले आफूसहित सात सन्तान हुर्काउँदाको सङ्घर्ष साहले नजिकबाट बुझेका छन्। एकल महिलाका रुपमा आमाले खानेकुराको जोहो र चुल्होमा खाना पकाउन गरेको मेहनत साहले अनुभव गरेका छन्। त्यही सङ्घर्षले खारिएकै कारणले आफू यहाँसम्म आइपुगेको उनको भनाइ छ।

‘सानैदेखि स्थानीय अन्नका परिकारसँग निकट हुन पुगेँ। जीविका चलाउन आमासँगै हटियामा पाउरोटी बेच्ने सङ्घर्षसँगै आज खाए भोलि पुग्ला कि नपुग्ला भन्ने अवस्थाले नि धेरै कुरा सिकायो’, उनले भने, ‘पारिवारिक अवस्था, स्थानीय परिवेश, कला, संस्कृतिको प्रभाव ममाथि पर्‍यो।’

अभावै अभावका बीच कक्षा १० सम्म पुगे पनि साहले फलामे ढोका एसएलसी भने पास गर्न सकेनन्। त्यसपछि अध्ययन छाडी १५ वर्षको उमेरै उन कर्जन्हाबाट भारत भएका थिए।

‘एसएलसीमा अनुत्तीर्ण भएँ। अर्को परीक्षा कुर्नुभन्दा पैसा कमाउनुपर्छ भन्ने लागेपछि गाउँकै केही साथीहरुसँग भारत गएँ’, उनले भने, ‘अरु सीप नभएपछि रेष्टुराँमा भाँडा माझ्न सुरु गरेँ।’

एसएलसी पास गर्न नसके पनि कामबाटै धेरै कुरा सिक्ने मौका पाएँ। होटलमा काम गर्दै गर्दा होटल म्यानेजमेन्ट कोर्ष पनि पढेँ। त्यही कोर्षले जागिरे जीवनको कोर्ष नै बदल्न सहयोग गर्‍याे। पछि कुक हुँदै सात वर्षमा पाचँतारे होटलको ‘एक्ज्युकेटिभ सेफ’ पनि भएँ।’

साह एसएलसीमा अङ्ग्रेजी विषयमा फेल भएका थिए। त्यतिबेला त्यसो नभएको भए सायद साहको जीवनको बाटो नै अर्को हुन्थ्यो होला। भनिन्छ, कोसिस गर्नेहरूको हार कहिल्यै हुँदैन। साहले पनि त्यही गरे, जसले आजको ठाउँमा पुर्‍यायो।

‘सङ्घर्ष नै सफलताको आधार हो। मेरो सङ्घर्षले आज सफलताको नजिक पुर्‍याएको छ। अब मबाट अरु कति खुसी हुन्छन् भन्ने कुराले सफलताको मापन हुनेछ। म जुन विषयमा अनुत्तीर्ण भएर गाउँ छाड्न बाध्य भएको थिएँ, संयोग नै मान्नुपर्छ आज त्यही कक्षा, त्यही विषयको पाठ्यक्रममा मेरो बारेमा पढाइ हुन थालेको छ’, उनले भने।

आम युवालाई उनको सुझाव छ- एउटा बाटो छेकिँदैमा जीवनको गति रोक्नु हुँदैन। अर्को बाटो निर्माण गर्न लाग्नुपर्छ, एक दिन अवश्य सफल भइन्छ।

प्रकाशित मिति: : 2023-06-25 09:25:00

प्रतिकृया दिनुहोस्