उमेरले ८० काे उकालीतिर लागेका, धाेवीले निचाेरेकाे कपडाजस्ताे मुजा परेकाे अनुहार, कर्णालीकाे शिक्षा विकासमा आफ्नाे बुढ्याैलीपन र शारीरिक अशक्ततालाई चटक्क बिर्सेका साेनाम लामा (धामी)ले शिक्षा विकासका लागि गरेका याेगदानहरुकाे बेलिविस्तार लाउँदै हुनुहुन्छ।
वि.सं. २००० सालतिर साेनाम लामा (धामी) काे मुगु जिल्लाकाे मुगु गाउँमा बुबा गुरु छाेर्देन लामा र आमा यागंजाेम लामाकाे काेखबाट दाेस्राे सन्तानको रूपमा जन्म भयाे। जेठा दाजु कार्मा तामाङ र कान्छाे भाइ ङाेयटुक लामासमेत तीन दाजुभाइ थिए।
मुगु गाउँमा अन्नकाे रूपमा आलु र उवा (गाैँजस्तो देखिने बाली) मात्रको उत्पादन हुन्थ्याे। ती उत्पादनहरू अप्रयाप्त हुने भएकोले भाेटमा गएर हप्तौं दिन लगाएर नुनको भारी बाकेर ल्याई खसान क्षेत्र (जुम्लाको सिजां, चाैधविस, कालिकाेटकाे चिलखाया, मुगुकाे खत्याड) मा धान, जाैँसँग साटेर उक्त अन्नपात घरतिर लगेर वर्षभरि आधा पेट मात्र खाएर जीविका चलाउँथे।
यसरी जीविका चलाउनेमध्ये एक हुन्, साेनाम लामा धामी। ११ वर्षकाे उमेर आमा, १३ वर्षकाे उमेरमा बुबा र १६ वर्षकाे उमेरमा जेठाे दाइ स्वर्गवास भएपछि उनकाे जीवनमा सुखका दिनहरूले लुकामारी खेल्न थाले। दु:ख हरपलकाे साथी बन्याे।
गाउँमा साेनाम लामामाथि महांकालकाे देवता चढ्न सुरु भएपछि गाउँलेरूले साेनाम धामी भनेर भन्न थाले। त्यसपछि त उनकाे नाम नै साेनाम धामीबाट प्रख्यात हुँदै गयाे।
‘लाउँलाउँ खाउँखाउँकाे उमेरमा बुबाआमा र दाजुकाे निधन भएपछि आर्थिक रूपमा विपन्न परिवारकाे सदस्य भएँ’, उनले विगत सम्झँदै भने, ‘के खाउँ के लाउँ भन्ने समस्या चखेंली लेक जत्तिकै पहाड बन्याे। त्यो पहाड चढ्न हम्मेहम्मे पर्न थाल्यो।’
उनी आफू त खाना नखाएर पनि कति रात कटमउन सक्थे। तर घरमा सानाे भाइ थिए। जसलाई सँधै भाेकाे बस भन्न सकिने स्थिति थिएन। ‘जुंगाकाे रेखी नै नबसेकाे उमेरमा परिवारको पूरा जिम्मा लिने विपत्ति आइपरेपछि कति दिन पानी पिएर भाेकाे पेट दिन रात कटाएकाे छु’, उनले भने, ‘तर नाबालक भाइलाई पानी पिलाएर मात्र पनि नहुने। जीवन बाँच्नकै लागि पनि वैकल्पिक बाटो राेज्नुपर्ने अवस्था मेराे सामुन्ने आयो।’
उनलाई भारत भन्ने थाहा नै थिएन। दैनिक राेजीराेटीकाे लागि र भाइलाई पाल्नका लागि भएपनि गाउँ छाेडेर प्रदेश जानु नै उनकाे एकमात्र विकल्प थियाे। गाउँ छाेडेर कहाँ जाने, कहाँ पुगिने? केही थाहा नभएपनि उनले आफूमाथि चढ्ने देउता महांकाललाई पुकारेर हिँडिरहे।
१८ वर्षकाे उमेरमा गृह त्याग गरी भगवान गाैतम बुद्धले दरबार त्यागेझैं मुगु छाेडेर मुग्लान लागे। गाउँघरकाे भाेटे जिम्माे र नुन दिएर चामलपिठाे मागेर भाेक मेटाउँदै हप्तौंको हिँडाइपछि भारतकाे हिमाचलकाे कुल्लु मनाली पुगे।
अन्नपात नपाउने अवस्था त रहेन तर परिश्रम गाेरुभन्दा पनि बढी गर्नुपर्ने अवस्था सधैंभरि थियो। ‘मेराे इमानदारिताले हाे कि, मेराे भगवान महांकालले हाे, म सानाेतिनाे ठेक्कापट्टा आफैँ चलाउने भएँ,’ उनले भने, ‘गधा चलाई ढुगां बालुवा र राशनकाे ढुवानी गर्ने कामकाे सुरूवात गरें र भारतमा नयाँ नामकाे उपमा पाएँ, दिलबहादुर।’
‘नयाँ ठाउँ, नयाँ परिवेश र त्यहाँका साना बालबच्चाहरू विद्यालय पढ्न गएको देख्दा आत्माले घाेच्न थाल्याे- यस्तो स्कुल मेरा गाउँमा हुँदाे हाे र बुबाआमा जीवित हुँदा हुन् त हामी दाजुभाइ पनि पढ्न पाउँथ्याैं हाेला,’ उनी भावुक हुन्छन्।
‘भाग्यको खेल न हाे, हाम्रै मुगुबासी साङ्मुसँग सन् १९६९ मा भारतमै मेराे भेट भयाे। घरजम भई जेठी सुपुत्रीकाे रूपमा लक्ष्मीले कार्मा छेजाेमकाे रूपमा बास लिइन्,’ उनले भने, ‘छाेरीकाे जन्मपछि गाडी चलाउन सिकेँ। त्यसपछि मेरो दुखका दिन गए नै भन्दा फरक नपर्ला।’
तर हुर्किँदै गएकी छाेरीकाे पढाइले चिन्ता थपिन थाल्यो। उनी छाेरीलाई कसरी पढाउने भनेर साेचमग्न हुन थाले। भारतीय सरकारी विद्यालयहरूमा नेपालीका बालबच्चाहरूकाे सहज पहुँच भने थिएन।
‘धेरै हारगुहार गरेपछि मेरी जेठी छाेरी कार्मा छेजाेम लामालाई तिब्बतीयनहरूकाे विद्यालयमा पढाउने अवसर पाएँ। तर भारतीय विद्यालयहरूमा नेपाली बालबालिकालाई सहज भर्ना हुने अवस्था थिएन,’ उनले भने, ‘त्याे अवस्थाले मैले पढ्न नपाए पनि मेराे देशका बालबच्चालाई पढ्ने अवस्था अवश्य श्रृजना गर्छु भन्ने हिम्मत भगवानले मलाई दिए।’
उनले सन् १९८९ मा ‘कैलाश बाेधी स्कुल’ नामक स्कुलको निजी तवरबाट भारतको मनालीमा स्थापना गरे। उनी आफूलाई हिम्मत दिने काम भगवानले बढाइ दिएकाे हुनाले कैलाश बाेधी नामक स्कुलको खाेल्न सकिएकाे बताउँछन्।
‘मेरी कान्छी छाेरी तेन्जीसहित सयौं नेपाली बालबालिकाले न्यूनतम शुल्कमा शिक्षण कार्यकाे सुरूवात गरे’, उनले भने, ‘याे नै मेराे जीवनको सबैभन्दा ठूलो सफलता हाे।’
दिन बित्दै गए। उनकाे शिक्षाप्रतिकाे हुटहुटीले अझ धैर्यता पाएन। सन् १९९२ मा नेपाल फर्केपछि आफ्नै गाउँ ठाउँमा गए। त्यहाँकाे शैक्षिक अवस्था अत्यन्त नाजुक थियाे।
काठमाडौंमा पनि न्यूनतम शुल्कमा पढाउने उदेश्यले कैलाश बाेधी स्कुल बाैद्धमा सन् १९९३ मा स्थापना गरे। विशेषगरी कर्णालीका हजारौं बालबालिका र भारतको मनालीबाट ५ कक्षा उत्तीर्ण गरेकालाई काठमाडौंमै बस्ने र पढ्ने व्यवस्था मिलाए। हुम्ला, जुम्ला र मुगुका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराएकाे उनी बताउँछन्।
पछि हुम्लामा २०६० सालमा र जुम्लामा २०६३ सालमा कैलाश बाेधी स्कुल स्थापना गरी हजारौं बालबालिकाहरू पढ्ने वातावरण मिलाए। शिक्षा व्यवसाय नभई सामाजिक सेवा भएको मान्यता स्थापित गर्न साेनाम धामीकाे ठूलाे याेगदान छ।
‘मैले नपढे पनि हजारौं बालबालिकालाई शिक्षा दान दिन पाउँदा साह्रै खुसी लाग्छ,’ उनले भने, ‘अर्को जुनी पाएँ भने मैले पनि सहज रुपमा शिक्षा हासिल गर्न पाउँछु हाेला। मलाई लाग्छ याे नै मेराे जीवनको सफलता हाे।’