ग्रीक डुङ्गा दुर्घटनापछि घटनामा सम्लग्न रहेको आरोपमा १० व्यक्ति पक्राउ

बिएल संवाददाता

मुजफ्फराबाद

ग्रीसको तटीय क्षेत्रमा दर्जनौं आप्रवासी डुबानमा फसेको केही दिनपछि पाकिस्तानी अधिकारीहरूले १० जना कथित मानव तस्करहरूलाई पक्राउ गरेको अधिकारीहरूले आइतबार बताएका छन्।

प्रधानमन्त्री शहबाज सरिफले मानव तस्करीमा संलग्न भएको पुष्टि भएमा उनीहरूलाई तत्काल कारबाही गर्न आदेश दिएका छन्।

 हरेक वर्ष, हजारौं युवा पाकिस्तानीहरू राम्रो जीवनको खोजीमा अवैध रूपमा युरोप प्रवेश गर्ने प्रयासमा खतरनाक सामुद्रिक मार्ग हुँदै यात्रामा निस्कन्छन्।

ग्रीसको पेलोपोनी प्रायद्वीपमा बुधबार डुबेको डुङ्गामा सवार दर्जनौँ पाकिस्तानी नागरिक रहेको र त्यसमा कम्तीमा ७८ जनाको मृत्यु हुनुका साथै सयौं बेपत्ता भएका छन्।

अधिकारीहरूका अनुसार पाकिस्तान प्रशासित काश्मिरमा नौ जनालाई हिरासतमा लिइएको छ भने एक जनालाई गुजरातमा हिरासतमा लिइएको छ।

पाकिस्तान प्रशासित काश्मिरका एक स्थानीय अधिकारी चौधरी शौकतले भने, “सम्पूर्ण प्रक्रियालाई सहजीकरण गर्न संलग्न भएको आरोपमा उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले संयुक्त विज्ञप्ति जारी गर्दै डुङ्गामा ४०० देखि ७५० जनासम्म सवार रहेको बताएका छन्।

शनिबार पाकिस्तानको विदेश मन्त्रालयले १२ जना नागरिक बाँच्न सफल भएको बताएको थियो तर डुङ्गामा कति जना सवार थिए भन्ने बारे कुनै जानकारी छैन।

एक अध्यागमन अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै मृतक संख्या २०० नाघ्न सक्ने बताएका छन्।

‘मानव बेचबिखनजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरूविरुद्ध लड्ने प्रयासलाई तीव्रता दिन प्रधानमन्त्रीले कडा निर्देशन दिनुभएको छ,’ उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

राजनीतिक उथलपुथल र अर्थतन्त्रको पतनको संघारमा पुगेको कारण दशौं हजार पाकिस्तानीहरू कानुनी र गैरकानुनी रूपमा देश छोड्न बाध्य भएका छन्।

पूर्वी पञ्जाब र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तका युवाहरू इरान, लिबिया, टर्की र ग्रीस हुँदै अवसरको खोजीमा हरेक वर्ष अवैध रूपमा युरोप प्रवेश गर्नेगरेका छन्।

प्रकाशित मिति: : 2023-06-19 06:27:00

प्रतिकृया दिनुहोस्