अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरूद्ध लगाइएका ३७ अभियोग अस्विकार गरेका छन्। फ्लोरिडाको मियामीस्थित संघीय अदालतमा आफैं उपस्थित भएर उनले अभियोग अस्विकार गरेका हुन् ।
ट्रम्पले अभियोग अस्विकार गरेपछि न्यायाधीशले उनीसँगै अभियोग लगाइएका वाल्ट नौटासँग मुद्दाका बारेमा कुरा नगर्ने शर्तमा ट्रम्पलाई छोडिदिए । मुद्दाको अर्को सुनुवाइको मिति तय भएको छैन ।
ट्रम्पविरूद्धको यो मुद्दा उनले नै नियुक्त गरेका न्यायाधीश एलिन क्याननले हेर्नेछन् ।
ट्रम्पविरूद्ध यही वर्ष चलाइएको यो दोस्रो फौजदारी मुद्दा हो । यद्यपि, यो नै पहिलो संघीय फौजदारी मुद्दा हो । ट्रम्पविरूद्ध २०२१ मा ह्वाइट हाउस छोड्दा गोप्य सरकारी कागजात आफूसँगै लगेर राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आरोप लगाइएको छ।
यस्तो मुद्दा खेप्ने ट्रम्प अमेरिकाको इतिहासमै पहिलो पूर्व वा वहालवाला राष्ट्रपति हुन् ।
ट्रम्प मियामीस्थित संघीय अदालत नजिकै रहेको आफ्नै रिसोर्टमा रात बिताएर अदालतमा हाजिर हुन गएका थिए । उनी सोमबारसाँंझ मात्रै न्युजर्सीको बेडमिन्स्टरस्थित आफ्नै गल्फकोर्सबाट मियामी आएका थिए । अदालतबाट रिहा भएपछि पनि उनी बेडमिन्स्टरस्थित गल्फकोर्समै फर्किए ।
सन् २०१६ मा राष्ट्रपति निर्वाचित ट्रम्प सन् २०२० मा वर्तमान राष्ट्रपति जो बाइडनसँग पराजित भएका थिए । यद्यपि, हार नै स्विकार नगरी ह्वाइ हाउस छोडेका ट्रम्प सन् २०२४ को राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेद्वारी जित्न चुनावी क्याम्पेनमा छन् । झण्डै एक दर्जन रिपब्लिकन आकांक्षी रहेकोमा उनी नै सबैभन्दा अघि छन् ।