फेवातालकाे सिमसार क्षेत्रमा बनेका अनाधिकृत संरचनामा महानगरले चलायो डाेजर

लामो विवादका बाबजुद फेवातालकाे सिमसार क्षेत्रमा निर्माण गरिएका अनाधिकृत संरचना र प्लटिङमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ। कृषिका लागि भन्दै सिमसार क्षेत्र पुरेका र प्लटिङ गरिएका ठाउँमा महानगरले मङ्गलबार डोजर चलाएको हो।

पछिल्लो समय बनाइएका अनाधिकृत संरचना तथा प्लटिङमा डोजर चलाएर सिमसार क्षेत्रमा माटोले पुरिएको महानगरका प्रहरी सई पुरुषोत्तम थापाले जानकारी दिए। अब डोजर निरन्तर रुपमा चल्ने उनकाे भनाइ छ।

पोखरा- २४ पामे बजारमा केही वर्षदेखि सिमसार पुर्ने काम निरन्तर चलिरहेक थियाे। पटक-पटक अनुरोध गरेर सिमसार नपुर्न भनिए पनि अटेरी गरेका कारण महानगरले डाेजर चलाएकाे हाे।

फेवाफाँट संघर्ष समितिले मंगलबार नै महानगरकाे गेटमा गएर नाराबाजी गरेको थियो।

सिमसार क्षेत्रमा व्यवसायी देवेन्द्र केसीले पहिल्यै प्लटिङ गरिसकेका छन् भने अर्का व्यवसायी युवराज खतिवडाले करिब पाँचसय रोपनी जग्गा कृषियोग्य जमिन बनाउने भन्दै माटो भर्ने ठेक्का पाएका थिए ।

पोखरा महानगरले भू–उपयोग नीति ०७९ अनुसार जग्गा वर्गीकरण गर्दा फेवा सिमसार क्षेत्रको अधिकांश भाग आवासीय क्षेत्र तोकेको छ। तर, महानगरले सिमसार क्षेत्र उल्लेख नगर्दा धमाधम सिमसार पुर्ने काम भएको हो।

प्रकाशित मिति: : 2023-06-13 21:54:00

प्रतिकृया दिनुहोस्