इक्वेडरको एक अस्पतालमा मृत घोषित गरिएकी ७६ वर्षीया बेला मोन्टोयाले अन्त्येष्टि गर्न लगिएकाे अवस्थामा कफिन (शव बाेक्ने बाकस) ढकढक्याएर मलामीहरूलाई चकित पारेकी छिन्।
ती महिला जिवित रहेकाे पुष्टि भएपछि इक्वेडरका प्रहरीले उक्त अस्पतालमाथि छानबिन सुरु गरेको छ। 'हामी सबै डराएका थियौँ,' बेलाको छोरा गिल्बर्टो बारबेराले भने। मृत घाेषित हुनुअघि डाक्टरहरूले गिल्बर्टोलाई आफ्नो आमाको अवस्था नाजुक रहेको समेत बताउँदै आएका थिए।
रिटायर्ड नर्स बेला मोन्टोयालाई सम्भावित स्ट्रोक र कार्डियोपल्मोनरी अरेस्ट भएपछि शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा सुधार नआएपछि ड्युटीमा रहेको डाक्टरले उनलाई मृत घोषित गरेको इक्वेडरको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आकस्मिक कक्षमा ल्याइँदा गिल्बर्टोकी आमा बेहोस भएको उनले बताए। केही घण्टापछि डाक्टरले उनलाई बेलाकाे मृत्यु भएको जानकारी दिँदै परिचयपत्र र मृत्यु प्रमाणपत्र दिए।
अस्पतालबाट बेलाको 'शव' लिएर शवदाह गृहमा शुक्रबार बेलुका ल्याएपछि अन्त्येष्टिमा आएका मलामीहरुले अनौठो आवाज सुनेको बारबेरा बताउँछन्।
'त्यहाँ हामी करिब २० जना थियौँ। अन्त्येष्टिको प्रक्रिया हुँदै गर्दा करिब पाँच घण्टापछि कफिनबाट आवाज निस्कन थाल्यो। मेरी आमा चादरमा बेरिएर कफिनमा हिर्काइरहनुभएको थियो र नजिक पुगेर हेर्दा उहाँको श्वासप्रश्वास निकै बढेको थियो,' बारबेराले भने।
आफन्तहरुले उनलाई तत्काल अस्पताल पुर्याए पनि हिजाे सोमबारसम्म उनको अवस्था गम्भीर थियो। उनलाई इन्ट्युबेशनमा राखिएको छ भने डाक्टरहरूले आफन्तलाई बेलाको अवस्था चिन्ताजक रहेका बताएकाे बारबेराले जनाए।
बेलालाई जिवितै मृत घोषणा गर्ने डाक्टरको बारेमा भने कुनै विवरण सार्वजनिक भएको छैन।