संसद बैठकका पाँच दिन: अमर्यादित सांसद

File Photo
File Photo

जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गरे। त्यसको दुई दिनपछि १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारत भ्रमणमा निस्किए।

प्रचण्ड भारत भ्रमणमा जाने दिन बिहान राष्ट्रपति रामचन्द्र पौडलले विवादित बनेको नागरिकता विधेयक प्रमाणीकरण गरे। नागरिकता विधेयक प्रमाणीकरण भएपछि विधेयक प्रमाणीकगरण गरेर प्रधानमन्त्री प्रचण्ड भारत गएको आलोचना भयो।

नागरिकता विधेयक प्रमाणीकरण भएको विरोधमा कतिपयले सडकमा आन्दोलनसमेत गरे। यद्यपि, अहिले विधेयकका विषयमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश दिएपछि विरोधको स्वर मत्थर भएको छ।

प्रचण्ड चारदिने भारत भ्रमण सकेर २० गते स्वदेश फर्किए। २१ गतेबाट संसद बैठक सुरु भयो। जसमा बजेटमाथि छलफल हुने कार्यसूची थियो। तर संसदमा बजेटमाथि छलफल हुनुभन्दा २१ गतेको बैठक तनावपूर्ण रह्यो। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सुरु हुने दिनदेखि संसदका प्रतिपक्ष दलका नेताहरुले उनको भ्रमणलाई लिएर आलोचना गर्न सुरु गरेकोमा त्यो आलोचना संसदसम्म पुग्यो।

नागरिकता विधेयक गैरसंवैधानिक रुपमा प्रमाणीकरण भएको संसदका तीन वटै प्रतिपक्ष दलको निष्कर्ष थियो। साथै मिडियामा अन्तर्वार्ताका क्रममा नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा जलमार्ग निर्माणका लागि भारतलाई दिने आशयको प्रचण्डले अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षले संसदमा विरोध जनायो।

प्रतिपक्षले सभामुख देवराज घिमिरले संसद चलाउन आग्रह गरेको कुरै सुनेन। उनीहरुले बैठक अवरुद्ध मात्र गरेनन्, तल्लो स्तरमा उत्रिएर नारा नै लगाए। ‘देश बेच्न पाइँदैन, नागरिकता विधेयक प्रमाणीकरण खारेज गर, भैंसीसँग नक्सा साट्न पाइँदैन’ भन्दै प्रतिपक्ष दलले नारा लगाए। २४ मिनेटसम्म बैठक चलाउन आग्रह गर्दा पनि सदन चल्न नदिएपछि सभामुखले एक घण्टालाई बैठक स्थगित गरे। तर दलहरुबीच सहमति हुन नसकेपछि संसद २१ गतेका दिन पुनः बसेन।

अर्को दिन २२ गते बिहान ११ बजे संसद सचिवालयले बैठक बस्ने सूचना जारी गर्यो। तर बैठक खुलाउन दलहरुबीच कुरा नमिलेपछि ढिला गरी करिब २ बजे संसद बठैक बस्यो। तर संसदको कामकारबाही सहज रुपमा चलेन।

२२ गतेको संसद बैठक अमर्यादित मात्र भएन, प्रतिपक्ष र सत्तापक्षका सांसदहरुबीच झगडा हुने स्थितिसम्म पुग्यो। यही २२ गतेका दिनको संसद बैठकमा संसदको नियमावली विपरीत गतिविधि भए।

बैठकको सुरुमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसद योगेश भट्टराईले संसदमा विरोध जनाउनुको कारण राखे र प्रधानमन्त्रीकाे जवाफ माग गरे। प्रधानमन्त्री प्रचण्डले जवाफ दिए। उनले जवाफ दिएनन्, मात्र नागरिकता विधेयकमा प्रतिपक्षलाई सबै बृतान्त सुनाए।

२२ गतेको संसद बैठकमा रास्वपाका सांसद शिशिर खनालले संसदमा प्रयाेग गर्न नमिल्ने शब्द बोलेर अमर्यादित काम गरे। प्रधानमन्त्रीमाथि अमर्यादित शब्द प्रयाेग गरेकाे भन्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाए। उक्त समयमा प्रतिपक्ष र सत्तापक्षबीचका सांसदबीच लामै चर्काचर्की भयाे। रास्वपा सांसद खनालले प्रयाेग गरेकाे ‘प्रचण्ड भारतबाट भैँसी चढेर आएको’ भन्ने शब्द असंसदीय शब्द भएको भन्दै सभामुखले हटाउन निर्देशन दिएपछि संसद बैठक नियमित रुपमा चल्यो।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले सांसदले सोधेको प्रश्नको दोस्रो चरणमा जवाफ दिँदै थिए। साेहीबेला एमाले सांसदले प्रधानमन्त्री बोलिरहेको समयमा संविधान नै पढाउने गरी फेरि संसद बैठक अवरुद्ध गर्यो। एमाले सांसद सूर्य थापाले नागरिकता विधेयकका विषयमा संविधानमा नभएको कुरा भनेको भनेर प्रधानमन्त्रीसँग मुकाबिला नै गरे। त्यसपछि फेरि प्रतिपक्ष र सत्तापक्षका सांसदबीच लफडाको स्थिति आयो। यति हुञ्जेलसम्म संसद बैठक ३ घण्टा चलेको थियो।

प्रतिपक्ष र सत्तापक्षबीच संसदमा लफडा चलेपछि काँग्रेसका सांसद विश्वप्रकाश शर्माले बोल्न समय मागे। उनले सबैको मुखको बोली बन्द हुने गरी संसदको नियमकानुन पढाएपछि प्रतिपक्षले संसद अवरुद्ध रोक्यो। त्यसपछि नियमित बजेटमाथि छलफल भयो।

२१ र २२ गते मात्र होइन, २३ गते पनि संसद अवरुद्ध गर्ने तयारीमा प्रतिपक्ष थियो। त्याे दिन प्रतिपक्षले अर्को विषय पाइसकेको थियो। २१ र २२ गते नागरिकता विधेयकका विषयमा संसद अवरुद्ध गरेको प्रतिपक्षले २३ गते अर्थमन्त्रीले बजेट बनाउँदा अनधिकृत व्यक्तिको संलग्नता गराएको विषयमा विरोध जनायो।

बैठकको सुरुमा नै एमाले सचेतक पदम गिरीलाई सभामुख घिमिरेले कुरा राख्न समय दिए र अन्य सांसदलाई बस्न आग्रह गरे। गिरीले आफ्ना कुरा राख्दै बजेटमा अनधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा प्रश्न गरे। अन्य सांसदले पनि आफ्नो कुरा राखे। जसमा रास्वपाका सांसद स्वर्णिम आग्ले पनि प्रश्न सोधे।

त्यसपछि सभामुखले अर्थमन्त्री प्रकाशशरण महतलाई कुरा राख्न समय दिए। अर्थमन्त्रीले जवाफ दिएपछि संसद बैठक नियमित रुपमा चल्यो। प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बजेटमाथि धेरै प्रश्न उठाए। यसदिन ४ घण्टा बैठक चल्यो।

२४ गतेको संसद बैठक नियमित रुपमा बजेटमाथि छलफल चल्यो। तर २५ गतेको संसद बैठक अवरोध बिना चल्न सकेन। संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै काँग्रेसका सांसद विनोद चौधरीले संसदमा अमर्यादित शब्द बोले। उनले संसदमा ‘जब पर्यो राति, तब बुढी ताती’ भन्ने उखान भनेपछि महिला सांसदले विरोध जनाए। उक्त शब्दलाई सभामुखले संसद रेकर्डबाट हटाउन निर्देशन दिए।

यस्तै २६ गतेको आजको बैठक पनि नियमित रुपमा बजेटमाथि छलफल भयाे। 

प्रकाशित मिति: : 2023-06-09 20:55:00

प्रतिकृया दिनुहोस्