क्यानाडामा डढेलो, अमेरिकामा धुँवा: ८ करोड अमेरिकी जनजीवन प्रभावित

क्यानाडाको क्युबेक र अन्टारियोका बनमा लागेको डढेलोको कारण उत्तर-पूर्व र मध्य-पश्चिम अमेरिकामा विषालु धुवाँ फैलिदा कम्तीमा पनि आठ करोड मानिसको जनजीवन प्रभावित भएको छ।  

आँखा पोल्ने विषालु धुवाँ गगनचुम्बी महलहरू भएका ठूला सहरका डाउनटाउनमा थुप्रिएको छ। यसबाट ती सहरका थुप्रै विमानस्थल बन्द गरिएका छन् भने कयौ विद्यालयको पठनपाठन पनि ठप्प भएको छ।

न्युयोर्क सिटी धुँवाको कहरमा परेको छ । यहाँका गगनचुम्बी महलहरू धुँवाले पुरिएका छन्। स्ट्याचु अफ लिबर्टी पनि लगभग देखिन छोडेको छ। जोन एफ केनेडी विमानस्थललगायतका अन्य विमानस्थलबाट नियमित उडान प्रभावित भएका छन्। 

क्यानाडामा लागेको डढेलोबाट निस्केको विषालु धुवाँ उत्तर-पूर्व र मध्य-पश्चिम अमेरिकामा फैलदा आठ करोड अमेरिकी जनजीवन प्रभावित भएको छ। धुँवा कहरको केन्द्रविन्दु हुन पुगेकोन्युयोर्क सिटीका मानिस कोरोना कहरकै अनुभूति  गरिरहेका छन्। 

महत्वपूर्ण खेल प्रतिस्पर्धा रोकिएका छन्, निममित रूपमा प्रदर्शन हुने ब्रडवे थियटरका शो पनि बन्द भएका छन्। 

धुवाँले पनि यस्तो उत्पात मच्चाउन सक्छ र? भन्ने मानिसका लागि अनौठो भोगाइ दिइरहेको यो धुवाँ आतंकले मर्निङ र इभिनिङ वाकमा हिड्ने मानिस नै देखिन छोडेका छन्।  

क्यानडामा अझै पनि चारसय ३० ठाउँको आगलागी नियन्त्रणमा आइसकेको छैन। कम्तिमा पनि आइतबारसम्म धुँवाको कहर यस्तै हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2023-06-08 21:40:00

प्रतिकृया दिनुहोस्