काँग्रेसबाट निर्वाचित स्थानीय जनप्रतिनिधिलाई बजेट निर्माण प्रशिक्षण

स्थानीय तहहरुले बजेट निर्माणको तयारी गरिरहेका बेला नेपाली काँग्रेस लुम्बिनीले प्रदेशभित्रका आफ्ना स्थानीय जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएको छ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रशिक्षण विभागले सोमवारदेखि दाङको लमहीमा दुई दिने प्रशिक्षण सुरु गरेको हो। नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशभरीका जनप्रतिनिधि र पार्टीको जिल्ला नेतृत्वलाई भेला गरेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो।

मुलुकको आर्थिक संकट समाधानका लागि स्थानीय तहहरुले के–कस्ता योजनासहितको बजेट विनियोजन गर्ने भन्ने बारेमा प्रशिक्षण दिन थालेको नेपाली काँग्रेस लुम्बिनीले जनाएको छ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले नमूना योजना पेश गर्न निर्देशन गरे।

त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सडक र पूर्वाधारभन्दा रोजगारी सृजना गर्ने योजनालाई प्राथमिकता दिन आग्रह गरे।

कार्यक्रमको उद्घाटनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उद्योगी विनोद चौधरी, केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन लगायतले शुभकामना मन्तव्य दिएका थिए।

नेपाली काँग्रेसबाट निर्वाचित लुम्बिनी प्रदेशका १ सय ९ जनप्रतिनिधीहरुलाई लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसी, नेपाल सरकारका पुर्व मुख्य सचिव सोमलाल सुवेदीलगायतले प्रशिक्षण दिएका हुन्।

प्रकाशित मिति: : 2023-06-06 11:55:00

प्रतिकृया दिनुहोस्