सहकारीमा पैसा डुबेपछि पोखराका बचतकर्ता सञ्चालक खोज्दै काठमाडौंमा (भिडियो)

१२ बज्नै लागेको छ। शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटेलको सभाहल भरिभराउ छ। सुटेडबुटेड भएका एक व्यक्ति माइक समाएर बोलिरहेका छन्। झट्ट हेर्दा कुनै औपचारिक कार्यक्रमभन्दा कम छैन। मञ्च छ। पोडिएम पनि छ। तर कुन कार्यक्रम भन्ने ब्यानर देखिँदैन। कुनै अतिथि छैनन्। सुटेडबुटेड भएका एक व्यक्ति केही भनिरहन्छन्। उनले आफ्नो कुरा सभाहलमा उपस्थितलाई सुनाउने चेष्टा गरिरहन्छन्।

शान्त रुपमा ती व्यक्तिको कुरा सुनिरहेको सभाहलमा बेलाबेलामा हल्ला मच्चिन्छ। चर्को–चर्को आवाज दर्शक-दीर्घाबाट आउँछ। कोही सभाहलबाट उठेर मञ्चमा पुगेर ती बोलिरहेका व्यक्तिलाई कुटौँ झैँ गर्छन्। कुनै समयमा हल्ला साम्य पार्न प्रहरीसमेत आउनुपर्छ।

शुक्रबार बिहान करिब ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटेलमा यस्तै दृश्य चलिरह्यो। पोखरामा राम्रै चलिरहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता र सञ्चालक समितिबीचको विवाद थियो।

सूर्यदर्शन सहकारीले ठगेपछि पाखेराबाट बचतकर्ता सञ्चालक समितिलाई भेट्न काठमाडौं आएका हुन्। पोखरामा रहेको सहकारीले गएको साउन महिनादेखि बचतकर्तालाई पैसा दिएको छैन।

मंसिर १२ गते सञ्चालक समिति र बचतकर्ताबीचमा एक महिनामा सहकारीमा देखिएको समस्या समाधान गर्ने सहमति भएको थियो। तर सहमतिको ६ महिनासम्म सञ्चालक समितिले सहकारीको समस्या समाधान त गरेन नै, पोखरामा भेट गर्नसमेत गएनन्। सञ्चालक समिति सम्पर्कमा रहेनन्।

त्यसपछि सहकारीका बचतकर्ता सञ्चालक खोज्दै काठमाडौं आएका हुन्। ‘मंसिर १२ गते एक महिनामा समस्या समाधान गर्ने भन्दै सहमति भएको हो। तर समस्या समाधान त भएन नै, हामीसँग भेट गर्नसमेत सञ्चालक समिति गएन’, पीडित बचतकर्ता सेते शाहीले भने।

करिब ५० लाख रुपैयाँ सहकारीमा डुबेको बताउने शाहीले बचतकर्तालाई समस्यामा पारेर सञ्चालकहरु भागेकाले खोज्दै काठमाडौंमा आएको उनी बताउँछन्। ‘मेरो त ५० लाखजति सहकारीमा डुबेको छ। कसैको त २ करोडसम्म सहकारीमा छ,’ उनले भने, ‘हाम्रो सारा सम्पत्ति सहकारीले खाइदिएपछि सञ्चालक खोज्दै काठमाडौं आउनु परेको हो।’

रोचक त के छ भने सूर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुर बुढा मगर हुन्। उनी पोखराकै हुन्। तर उनी डमी (नक्कली) अध्यक्ष जस्तै छन्। उनको हातमा सहकारीको साँचो छैन। कुनै संस्थाको अध्यक्ष भएपछि सम्पूर्ण जिम्मा उसको हातमा हुनुपर्ने हो। तर थानबहादुर आफ्नो हातमा सहकारीको साँचो नभएको र आफूभन्दा माथि अरु नै रहेको बचतकर्तालाई भन्ने गरेका छन्।

उनी एक डमी अध्यक्ष हुन् भन्ने कुरा शुक्रबार सभाहलमा देखिएको दृश्यले पनि पुष्टि गर्छ। अध्यक्ष थानबहादुर भएपनि सभाहलमा बचतकर्ताको सबै आक्रोश कोषाध्यक्ष कुमार रमतेलले सुनेर उनले जवाफ दिइरहेका थिए।

सुटेडबुटेडमा ठाँटिएका रमतेलले मुस्कुराउँदै बचतकर्ताको आक्रोशलाई साम्य पार्न कोशिस गरिरहे। जब उनको जवाफ सभाहलमा रहेका बचतकर्तालाई चित्त बुझ्दैनथ्यो, त्यसपछि उनीमाथि आक्रमण होला झैँ बचतकर्ताको आक्रोश देखिन्थ्यो।

दुई रुपैयाँ पनि ब्याज आउला भन्दै सहकारीमा राखेको पैसा नपाउँदाको आक्रोश बचतकर्ताले रोक्न सकेकै थिएनन्। कोषाध्यक्ष रमतेलको मुस्कानसहित बोल्ने शैलीले सभाहललाई शान्त बनाउने प्रयत्न त गरेकै थियो। तर पैसा डुबेर घरबार बिग्रन लागेको पीडाले बचतकर्ता सम्हालिन सकेका थिएनन्। जसमध्ये भगवती थापाको आक्रोश पनि कम थिएन। उनी आफ्नो मेहनत र १० वर्ष विदेशमा श्रीमानले कमाएको पैसा सहकारीमा डुबेपछि सहकारीका कोषाध्यक्ष रमतेलमाथि उनको शब्दवाण आक्रोशमय थियो।

सहकारीमा डुबेकै पैसाका करण घरबार बिग्रने अवस्थामा पुगेको बताइन्। ‘मैले दुःख गरेर, मेरो बुढोलाई १० वर्ष बेचेर तपाईंको सहकारीमा मैले पैसा राखेको हो। अहिले मेरो बुढाको र मेरो सम्बन्ध राम्रो छैन। उस्तै पर्यो भने डिभोर्स हुने अवस्थामा छ’, उनले आक्रोशको पीडा सुनाइन्।

थापाले आफ्नो घरबार बिग्रिएमा जिम्मेवारी लिनुपर्ने कोषाध्यक्ष रमतेलाई चेतावनी दिइन्। उनले भनिन्, ‘बुढाले कसलाई देखेर पैसा राखेकी होस्, त्यसैसँग जा भन्छन्। डिभोर्स भयो भने मलाई तपाईंले विवाह गर्नुहुन्छ? मैले बाँकी जीवन कसरी बिताउने? म पैसा नलिएर घर जाँदै जान्नँ, बरु तपाईंसँगै घर तपाईंकै घर जान्छु।’

यस्तै ६५ वर्षीय बचतकर्ता टंकबहादुर क्षेत्रीको पीडा पनि कम छैन। उनले आफ्नो छोराको दुबै खुट्टा भाँचिदा सहकारीले पैसा नदिएकै कारण राम्रोसँग उपचार गर्न नपाएको बताए। जसका कारण अहिले छोराको खुट्टा निको नभएको क्षेत्रीले दुःखेसो पोखे।

कसरी फस्यो पैसा

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराको उत्कृष्ट सहकारीमध्ये एक रहेको बचतकर्ता बताउँछन्। वि.स २०६५/०६६ मा स्थापना भएको सहकारीको ११ हजार बचतकर्ता छन्। गएको साउनसम्म सहकारी राम्रैसँग चलेको थियो। तर साउनपछि बचतकर्ताले निक्षेप (बचत) माग गर्दा सहकारीले दिन सकेन। मंसिर १२ गते सहकारी सञ्चालक र बचतकर्ताबीच एक महिनामा सहकारीको समस्या समाधान गर्ने सहमति भयो।

सहमति भएको ६ महिनासम्म सञ्चालकहरु बचतकर्ताको सम्पर्कमा गएनन्। सहकारीका संरक्षक काठमाडौंका गितेन्द्र बाबु राई रहेको बचतकर्ता बताउँछन्। ६ महिनासम्म बचतकर्तालाई बिचल्ली पारेपछि गितेन्द्रको योजनामा आफूलाई ठगेको अनुमानसहित शुक्रबार बचतकर्ता काठमाडौंमा आएका हुन्।

तर पनि संरक्षक गितेन्द्र भेटिएका छैनन्। उनलाई शुक्रबार बचतकर्ताले सभाहलमा खोजिरहेका पनि थिए। शुक्रबार सञ्चालक समितिका कोषाध्यक्ष कुमार रमतेलले बचतकर्तालाई भेटेर बचतकर्ताको निक्षप सुरक्षित रहेको बताए।

उनले विश्वभर फैलिएको कोरोना भाइसरले अर्थतन्त्र खस्किँदा सहकारीलाई पनि असर पुगेको बताए। जसका कारण बचतकर्ताको निक्षेप समयमै बुझाउन नसकिएको भन्दै केही समयपछि बचतकर्ताको समस्या समाधान हुने बताए।

प्रकाशित मिति: : 2023-06-02 19:37:00

प्रतिकृया दिनुहोस्