विश्व साइकल यात्री तथा वातावरण अभियान्ता हुन्, ज्ञान महर्जन। करिब १० वर्षअगाडि चीनबाट साइकल यात्रा सुरु गरेका महर्जनले हालसम्म २० वटा देशको फन्को मारिसकेका छन्।
ललितपुरको पाटनमा जन्मिएका महर्जनले विश्व शान्ति र वातावरण संरक्षणको सन्देश फैलाउँदै साइकल यात्रा गरिरहेका छन्। उनै विश्व साइकल यात्री महर्जनसँग उनको जीवन, संघर्ष र साइकल यात्राबारे बिएल संवाददाता ध्रुब बस्यालले गरेको कुराकानी प्रस्तुत छ :
विश्व साइकल यात्रा र पर्यावरण संरक्षणको अभियानमा कसरी जोडिनु भयो ?
स्कुल/कलेज पढ्ने समयमा नै कुनै समसामयीक सामाजिक काम गर्न मन लागेको थियो। त्यही सन्दर्भमा विश्व साइकल यात्रा र पर्यावरण संरक्षण हाम्रो समाजको विशेष कुरा हो भन्ने लागेर यतातिर लागेको र अहिलेसम्म यो यात्रा निरन्तर जारी छ।
वातावरण संरक्षणको काममा अहिले नै लागिएन भने मानिसहरुमा अब गम्भीर स्थिति आउने देखिन्छ। अहिले पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसदर वृद्धि भइरहेको छ। यही गतिमा जाने हो भने सन् २०५० सम्म ५ डिग्री सेल्सियसम्म पुग्ने देखिन्छ। यस्तो अवस्था आएपछि कसैको पनि अस्तित्व नरहने देखिन्छ।
प्राकृतिक समस्या नभएर मानिसहरुको हेल्चेक्राइँले यो सबै भइरहेकोले बेलैमा सचेतना फैलाउनुपर्छ भन्ने महसुस गरेकाले साइकल यात्रा र पर्यावरण संरक्षण अभियानमा जोडिएको हुँ। अहिले नेपालमा साइकल यात्रा गर्नेहरुको संख्या कमजोर छ, अब नेपालमा पनि साइकल यात्रालाई फेसनको रुपमा ल्याउन सकुँ, अझ स्वच्छ सुन्दर वातावरण बनाउन र नेपाललाई साइकलमैत्री देश बनाउनुपर्छ भन्ने लागेर यो यात्रामा जोडिएको हुँ।
यी कुरामा अहिले नेपालको अवस्था कस्तो छ ?
म विश्वका २० भन्दा धेरै देश घुमिसकेको छु। वातावरणको सम्बन्धमा विश्वका अन्य देशको भन्दा नेपालको अवस्था निकै नाजुक छ। अहिले सबैभन्दा धेरै वातावरण प्रदूषण हुने देशमध्ये नेपाल टप टेनभित्र पर्छ। किनभने, लामो समयसम्म विना कन्डिसनका थोत्रा गाडीहरु चेक/जाँचविना चलिरहेका छन्। सडकको अवस्था सिमित छ। नेपालमा वातावरण सुधारमा निकै ठुलो सम्भावना छ। तर, प्रयास छैन।
अन्य देशमा वातावरणको विषयमा राम्रो पोलिसी (नीति) छ र उनीहरु सुधारका काममा पनि सक्षम छन्। वातावरण सुधारका लागि प्रयासमा लागिरहेको देखिन्छन्। बोट बिरुवा रोप्ने, पार्कहरु बनाउने, गाडीहरु पनि नियमित चेक/जाँच गरेर सरकार नै वातावरण सुधारमा लागेको छ। नेपालमा लापर्बाही छ, मान्छेहरुलाई वातावरण सुधार गर्न के गर्नुपर्छ ? के–के राम्रो भन्ने पनि ज्ञान छ तर नेपालीहरु केयरलेस छन्। नेपालमा यस्तै भइरहने हो भने म काठमाडौँ बस्ने भएकाले यहाँको जनसंङख्या धेरै नै चाप रहेकाले केही वर्षमै भयावह स्थिती आउने देखिन्छ।
विश्व साइकल यात्रा गर्दै गर्दा कस्तो अनुभव गर्नु भएको छ ?
विकसित देशहरु वातावरणको कुराहरुमा निकै जिम्मेवार छन्। केही विकसित देशहरु भारत, चीन, अमेरिकालगायतका ठाउँहरुमा अझै त्यति गम्भीर रहेको देखिँदैन। वातावारण जति प्रदूसित हुन्छ त्यति धेरै पृथ्वी तातिने गर्छ। विश्व बजारमा यसको पहल पनि भइरहेको छ। सन् २०५० सम्म वातावरणलाई ख्याल गरेर सुरक्षित गर्ने पहल अन्य देशहरुमा छ। नेपालमा प्रदूषण कम भए पनि अन्य देशबाट हावाको माध्यमबाट नेपालमा भित्रिने देखिन्छ।
विश्व साइकल यात्रा गर्न निकै कठिन छ, साइकल यात्रामा धेरै नै खर्च छ। त्यसैले आर्थिक रुपमा ठुलो चुनौती छ। आर्थिक संकट रहे पनि अहिलेसम्म २०औँ देश घुमिसकेको छु। विश्व घुमिरहँदै गर्दा नेपालमा पनि विद्युतीय गाडीको प्रयोग प्रयास गरौँ भन्छु। सकिन्छ भने सरकारले साइकलमा शून्य प्रतिशत कर, नत्र कम भन्दा पनि कम कर लिनुपर्छ। मेरो देश पनि साइकलमैत्री होस् भन्ने मेरो चाहना छ।
विश्व साइकल यात्रा आफ्नो देशबाट नगरेर किन चीनबाट सुरु गर्नुभएको त ?
हामीले पढ्ने बेला कुनै गृहबाट पृथ्वीको एउटा मात्रै चित्र देखिन्छ भने त्यो ग्रेटवाल हो भन्ने सुनेका थियौँ। मैले मेरो यात्रालाई नेपालबाट गर्नु पर्ने थियो। तर, मैले सोचेँ मैले गरेको काम सुरुवातमै ‘वाह’ को विषय भन्नुपर्छ भनेर अनि चीन गएर गे्रटवालबाट यात्रा शुभारम्भ गरेँ।
तपाईं यो अभियानमा एक्लै हुनुहुन्छ वा कुनै संगठित रुपमा लाग्नुभएको छ ?
आजभन्दा दश वर्ष पहिले म आफ्नै तरिकाले चीनबाट एक्लै अभियानको रुपमा विभिन्न देशमा सचेतनाको कार्यक्रम गर्दै आइरहेको छु। १० वर्षसम्मको दौरानमा आइपुग्दा अहिले एउटा क्लब छ, ‘वोल्ड साइटेज क्लब नेपाल’। यसमा फाउण्डरको जिम्मेवारी छ, मेरो। त्यसैले सबैलाई भन्छु– साइकलको प्रयोग गरौँ। साइकल स्वास्थ्यको लागि पनि लाभदायी छ। आर्थिक रुपमा पनि सहज छ। पेट्रोल खर्च हुँदैन। सबै जिल्लाहरुमा पनि साइकल यात्राको लहर सुरु गरौँ। गाडी चढ्नै पर्ने भए पनि इलेक्टोनिक गाडीको प्रयोग गरौँ, यसले जिरो कार्बन फाल्छ र हाम्रो वातावरण शुद्ध र सफा हुन्छ। इन्धनमा पैसा खर्च नगरौँ भन्ने अभियान पनि हो।
वन जंगल घना भएर वन्यजस्तुको संख्या बढ्दा मानव जीवनमा खतरा हुँदैन र ?
समस्या पनि होलान् तर जंगल चाहिन्छ। आफ्नो ठाउँमा हामीले जति नै जंगलहरु सुरक्षित भए धेरै अक्सिजन पाउन सक्छौँ, जसले कार्बन्डाइअक्साइड कन्ट्रोल गर्ने काम गर्छ। अन्य देशहरुमा पनि वन जंगलको राम्रोसँग व्यवस्थापन गरेको छ। तर, नेपालमा छैन।
मैले साइकल चलाउनुको मुख्य एजेण्डा नै कस्तो किसिमले सुधार ल्याउन सक्छौँ भनेर साइकल यात्रामा सामाजिक सचेतनाको कार्यक्रम गरेको हो। उचित व्यवस्थापन नभए संकटहरु पनि छन्। नेपाल तथा विश्व बजारमा हिउँ पग्लिरहेको छ। हिउँ पग्लेपछि हिमाल नजिक रहेका वस्तीहरु ढुवानमा पर्छ। त्यो प्रकारको भयावह अवस्था छ। त्यसैले वातावरण सुधारको काममा सबै लाग्नुपर्छ।
भिडियाे :