खप्तड मेला र नैपालको दन्कट

BreaknLinks
BreaknLinks

विगतका वर्षझैं यस वर्ष पनि गंगा दशहराको अवसरमा मेला लाग्दै छ खप्तडमा। उदास, खिन्न भएका मनहरू पनि झै-झमेला, तनाव सबै बिर्सेर रमाइलो गरिरहेका हुन्छन्। गंगा दशहरा पर्वका बारेमा पौराणिक ग्रन्थहरूमा थुप्रै मिथहरू भेटिन्छन्।

रावणको वध गरी लङ्काबाट सीतालाई फर्काउने प्रतिज्ञा गरेका रामले समुद्रमा पुल हाल्न शिलान्यास गर्नुका साथै जेष्ठ शुक्ल पूर्णिमाकै दिन भगवान शिवको पूजा आराधना गरेको हुँदा त्यसै दिनदेखि गंगा दशहरा पर्व मनाउँदै आएको कहावत एकातिर छ। अर्कोतिर भगवान विष्णुकी प्रियतमा भनिएकी गंगा विष्णुकै श्रापका कारण जेष्ठ शुक्ल दशमीका दिन धर्तीमा अवतरण भएकी हुँदा गंगा दशहरा पर्व मनाउन थालेको विश्वाससमेत गरिँदै आएको छ।

गंगा मातालाई पृथ्वीमा ल्याउनमा राजा भगिरथको ठूलो योगदान रहेकोले गंगाको अर्को नाम भागरथी भएको कुरासमेत पुराणहरूमा उल्लेख गरिएको पाइन्छ। यस्ता थुप्रै मिथहरू सुनिन्छन्, गंगा नदी र गंगा दशहरा पर्वका बारेमा।

हाम्रा पौराणिक ग्रन्थहरू हुन् या यससँग सम्बन्धित पुस्तौनी हस्तान्तर हुँदै आएका लोकगीतका पंक्ति वा लोक कथाहरू हुन्, यी सबैले प्रायजसो पर्वहरूको उदय गराएका छन्। वर्षभरि विभिन्न समयान्तरमा पर्ने यस्ता पर्वहरूले मानव जातिमा हर्ष उत्पन्न गराई उल्लासमय पलको सुरुवात गरिरहेका छन्।

यसै अवसरमा सुदूरपश्चिमस्थित तराईका जिल्लाहरूमा पहाडी र थारु समुदायका नर नारीहरू नदीमा स्नान गरी विभिन्न शक्तिपीठहरूमा मेला भर्दै रमाइलो गर्ने गर्दछन् भने पहाडका कतिपय बस्तीमा कन्याकेटीहरू ब्रत बस्छन्। कपडाका विभिन्न रंगका टालाटुलीबाट पुतली बनाउँछन्। र, तिनीहरूको पूजाआजा गरी बेलुकी पुराना देवल, मठमन्दिर वा पानीको मुहान छेउमा विसर्जन गर्छन्।

यसरी पुतला विर्सजन गर्न जाँदा विगतमा तिनै रनपुतलाका बारेमा रचिएका गीत गाउँछन्। पुतला विर्सजनपश्चात डेउडा गीतमा सवालजवाफ गर्दै मनोरञ्जन लिन्छन्। आजकै दिन खप्तड पुगी डेउडा खेलमा रमाउन खोज्नेहरू र अर्कोतिर खप्तडको त्रिवेणीमा आफ्ना पितृको नाममा तर्पण गर्न हिँडेका कैयौं तीर्थालु पाइलाहरू पनि यात्रारत देखिन्छन्।

सहस्रलिङ्गतिरबाट बग्दै आउँछिन् गङ्गा नदी, डाँफेकोटतिरबाट आउँछिन् यमुना नदी र अन्तराभिमुख छन् सरस्वती। ती तीन वटै नदीको सङ्गम नै त्रिवेणी हो। जहाँ स्नान, तर्पण, ब्रतवन्ध आदि कर्म गरिन्छ। महाभारतको युद्धपश्चात अर्जुनले दिवंगत आत्माको शान्तिका लागि तर्पण गरेको ठाउँका रुपमा पनि चिनिन्छ त्रिवेणी।

आज जेष्ठ शुक्ल दशमी (दशहरा)का दिन त्यहाँ ठूलो मेला लागिरहेको होला। उता सिंहदरबार र बालुवाटार, बूढानीलकण्ठ र बालकोटमा भने दिनहुँ लागेकै हुन्छ मेला। फरक यति छ, खप्तडमा लाग्ने मेलाले धार्मिक पर्यटनलाई टेवा पुर्याइरहेको हुन्छ। संस्कृति र सभ्यता बचाउने भूमिका निभाइरहेको हुन्छ। त्यहाँ पुग्ने ती सोझासाझा पवित्र मन क्षणभरको लागि भए पनि आनन्द लिइरहेका हुन्छन्। खप्तडमा लाग्ने मेलाको नेतृत्व लिने न कुनै ठेकेदारहरू छन्, न त छन् बिचौलिया र चाकडहरू नै।

कुनै संघसंस्थाले खप्तडमा सांस्कृतिक कार्यक्रमहरू तय गर्नु भनेको मेलाको नेतृत्व लिनु पक्कै हैन। बरु उक्त मेलाको रौनक बढाउनु हो। त्यो क्षेत्रको गरिमा बढाउनु हो। जुन कार्यमा केही वर्षदेखि लागिपरेको देखिन्छ, डोटी उद्योग वाणिज्य संघ। स्वतन्त्र रुपमा स्वस्फुर्त ढंगले निस्किन्छन् खप्तड यात्रा गर्ने मनहरू।

नैपालका माथि उल्लेखित ठाउँमा लाग्ने मेलाले आफ्नो दुनो सोझ्याउने रणनीति तय गरिरहेको हुन्छ। प्रपन्च गरिरहेको हुन्छ। त्यहाँ चलचित्रका झैँ निर्देशक, नायक, खलनायक सबै हुन्छन्। कहिले पर्दा पछाडीबाट त कहिले पर्दा अगाडिबाट धुर्त र निर्लज्ज केही खेलाडीहरूले मुहार देखाइरहेकै हुन्छन्। यस वर्ष ती निर्लज्ज केही खेलाडीहरूलाई केही दिनपछि खप्तड लगिँदैछ भन्ने समाचार सुन्नमा आइरहेको छ। विगतका वर्षहरूमा खप्तडका नाममा कराेडौँ रकम हिनामिना भएको छ। खप्तड विकास बोर्डमा जोजो अनुहार पुगे, ती चोखा भएर फर्केका छैनन्। यस पटकका अनुहार कसरी फर्किन्छन्, हेर्न बाँकी नै छ।

अचेल देशभक्ति र विकासवादी भाषण गर्नु भनेको तिनका लागि बोलीचालीको क्रममा प्रयोग गरिने थेगो जस्तै भैहाल्यो। भ्रष्टाचारका कुरा गर्नु भनेको ‘हग्नेलाई नभएर देख्नेलाई लाज’ भनेझैँ भैहाल्यो। दिन प्रतिदिन भ्रष्टाचारका ठुल्ठूला घटनाहरू पर्दाफास भैरहँदा पनि लाजसरम केही लागेन सम्राटहरूलाई। हुन त सबै पचाएर निर्लज्ज भैसकेकाहरूलाई के को लाज। सास फेरेकै आधारमा सजीवमा गणना भइरहने प्राणी न हुन् यो देशका घुस्याहा नेताहरू। हिजै मात्र कर्मचारीहरूले खाइपाइ आएको महङ्गी भत्ता काटे तर खारेज भइसकेको सांसद विकास कोष ब्युँताएर २७५ जना सांसदलाई वार्षिक पाँच करोड धनराशी उपलब्ध गराउने व्यवस्था मिलाए बजेटमार्फत।

कहिलेकाहीँ डोटेली भाषाको ठेट शब्दहरु उबेल र दन्कलो सम्झनामा आइरहन्छन्। सुदूरपश्चिमका पहाडी जिल्लामा गहुँ बाली र धान बाली भित्र्याइसके लगत्तै खाली हुन गएको खेत पाखामा चरनका लागि गाईगोरु छोडिन्छ। डोटेली भाषामा त्यतिखेरको त्यस्तो खाली जमिनलाई ‘उबेल’ भनिन्छ। भने थुनाबाट मुक्ति पाएका गाईबाच्छीहरू रमाइलो मानेर प्रफुल्ल मुद्रामा उर्फिने कार्यलाई मतर्कनु अर्थात बुर्कुसी मार्नु भनिन्छ।

यो व्यवस्था आएपछि अति खुसी भएर आशाका किरणको पर्खाइमा रहेका जनता पछिल्लो समय खिन्न, उदास छन्। यो व्यवस्थामा जनताले सुख, शान्ति र विकासका लहरको एहसास गर्न पाउनुपर्थ्याे। सम्राटहरूले त्यो हुन दिएनन्। तिनले व्यवस्थालाई नै आफूखुसी बर्कुसी मार्ने मैदानका रुपमा प्रयोग गरिरहे। त्यसैले त केही समयअघि देउसराले भनेकी थिइन्, ‘गोसाई याँ केही तन्त्र आएइन। उबेलको दन्कलो मच्चिए जसो शक्तिको आगो ताप्दे रे घुष खानेको दन्कलो मचिन लाग्यो। हाम गरीबका सदाइका हाल उसाइ त हुन्।’

यो देशका सत्ता पिपाशु सम्राटहरूले हजारौं देउसराहरूका मन दुखाएका छन्। गणतन्त्ररुपी मैदानमा उफ्रिरहेका नैपालका साँढे बनेका छन्। जो शोभनियतालाई नै तिलाञ्जली दिएर धुर्तता र पाखण्डीपनमा रमाइरहेका छन्। गहुँ बाली र धान बाली भित्र्याएर केही दिनका लागि खाली भएका ती खेत पाखामा अर्थात् उबेलमा गाईबाच्छीको पछिपछि बहर, गोरू दौडिने कार्यलाई डोटेली भाषामा दन्कट अर्थात् दन्कलो भनिन्छ। बुढा गोरुदेखि तरुना बहरसम्मको दौडाहा समूह लामबद्ध देखिन्छ गाई वा बाच्छीको पछाडि। त्यहाँ जो शक्तिशाली छ, ऊ सबैलाई हिर्काउँदै अग्र पंक्तिमा लम्किरहेको हुन्छ। त्यो यौवनारुढ बाच्छी होस् वा गाई एकोहोरो ठाडो पुच्छर लगाएर दौडिरहेको हुन्छ।

त्यस्तै प्रकारको होडबाजी चलिरहेको देखिन्छ, नैपालको सत्ता समीकरणदेखि घुस खाने कार्यमा। यी मठाधीशहरू अगुल्टाले झोसेझैं झोसी नै रहन्छन्, बेलाबखत जनताका आशा, भरोशा र सपनाका कोपिलालाई। जो पछिल्लो समयमा व्यवस्थामाथि नै बलात्कार गरिरहेका छन्। गंगा दशहराको अवसरमा म यतिखेर सम्झिरहेको छु, कुनै भारतीय भक्तले भारतमै आश्रम बनाइदिन्छु भनी आग्रह गर्दा ‘जे पनि लिएँ, यहीँको लिएँ। अब अन्तिम घडीमा आएर आफ्नो अस्तित्वलाई अपवित्र पार्न चाहन्नँ। म आफ्नो शरीर यसै भूमिमा त्याग गर्छु’ भन्ने खप्तड बाबालाई। अनि सम्झिरहेको छु, बेलाबखत घतलाग्दा प्रश्न तेर्स्याइरहने देउसरा र खप्तडका पाटनमा रातभर खेलिने डेउडा खेललाई। हाम्रा लोककवि ती ड्यौडियहरुलाई। अनि कामना गरिरहेको छु, खप्तडमा विकास नभए नहोस् तर आफ्नो अस्तित्वलाई नै अपवित्र पार्ने बलात्कारीहरूका पाइला त्यहाँ कहिल्यै पुग्न नपाउन भनेर।

प्रकाशित मिति: : 2023-05-31 18:21:00

प्रतिकृया दिनुहोस्